तिम्रो नाम
रङ खुइलिँदै गएको
एउटा पुरानो बसको झ्यालमा
शीतले लेखेको थिएँ मैले
पहिलो पटक तिम्रो नाम
दोस्रोपटक
जङ्गलको बीच भागमा
तिम्रो केशझैं केस्रा केस्रा भएर बग्ने
झरनाको केशराशिलाई
बाट्दाबाट्दै लेखेको थिएँ— तिम्रो नाम
अर्काे पटक
एकान्तमा कसैलाई कुरिरहेको
फलैंचाको काखमा
लेखेको थिएँ अङ्गेरीको मसीले
तिम्रोसँगै मेरो नाम
म जहाँ जहाँ जान्थें
त्यहीं त्यहीं लिएर जाँदो रहेछु तिम्रो नाम
एकपटक
बल्लबल्ल चुँडालेर हात्तीबारको काँडा
कोरेको थिएँ लाकुरीको अग्लो न अग्लो दिलमा
तिम्रो नाम
जोडेको थिएँ सँगै मेरो नाम
मेरो दिलभित्र लेखिएको तिम्रो नाम
झुक्याएर कसैले चोरि लान्छ कि भन्ने डरले
कटुसको दिउलभित्र लुकाएको थिएँ
गोठालो जाँदा एकपटक
बाँसको सिर्कनामा लेखेको थिएँ तिम्रो नाम
अर्काको बाली चोर्न पल्केको गाईवस्तुलाई पिट्दा
लौरोबाट झर्ला कि भनेर तिम्रो नाम
भाँ.....चे.....र
रुखको टोड्काभित्र पातले छोपेर लुकाएको थिएँ
खै कहिलेदेखि हो तर गन्नै बिर्सेछु
कहाँ कहाँ कति पटक लेखिसकें तिम्रो नाम
अब त केही भन्नै सक्दिन
भन्न सक्छु यतिमात्रै कि
एउटा अग्लो रुख
सुक्दै सुक्दै गइरहेछ फेदबाटै
अझै पनि फुलिरहेछ तर त्यसको टुप्पोमा
सुनाखरी
पुङ्केशरको अलिकति रङ सापटी लिएर
सुनाखरीकै पत्रदलहरुमा
म कुँदिरहेछु
यादका लामा लामा औंलाहरुले
ज्यादै छोटोजस्तो लाग्ने
ला...मो तिम्रो नाम।