स्वान्तः सुखाय ‘ज्ञ’
कवि तथा कथाकार कुमार नगरकोटीको पछिल्लो पुस्तक ‘ज्ञ’लाई साहित्य लेखनमा प्रचलित स्वान्त सुखाय शैलीको श्रेष्ठतम् उदाहरण मान्न सकिन्छ। ‘ज्ञ’ पढ्दै जाँदा पाठकलाई यसका लेखक नगरकोटीले यो कृतिको रचना गर्दा अरू कसैको रुचि अरुचिभन्दा पनि आफ्नै मनको आनन्दलाई सर्वोपरि महत्व दिएको कुरामा विश्वास हुन थाल्छ। ‘ज्ञ’का हरेक हरफमा यसको रचनाक्रममा लेखकले उपयोग गरेको सिर्जनात्मक स्वतन्त्रता भनौं अथवा उट्पट्याङ कुरो लेखेर पाठकलाई प्रभाव पार्ने मोह भनौं, त्यसकोे गहिरो प्रभाव अनुभव गर्न सकिन्छ।
यस पुस्तकका पानाहरूमा लेखकले आफ्नो कल्पनाशील दिमागमा आएका ती सबै कुरालाई बिना कुनै संकोच राखिदिएका छन्, जसको आवश्यकता र औचित्यलाई लिएर साहित्यका विद्यार्थीहरू र सामान्य पाठकहरूबीच समेत गम्भीर मतान्तर हुन सक्छ।
लेखनको सुरुआतदेखि नै असंगत लाग्ने हदसम्मका प्रयोगधर्मी लेखक भनेर नाम कमाएका कुमार नगरकोटीले ‘ज्ञ’को रचना गर्दा साहित्य लेखनका सामाजिक रूपले सामान्यतः स्वीकार्य ठानिने सबै सीमा नाघेको जस्तो लाग्न सक्छ एउटा सामान्य पाठकलाई। ‘ज्ञ’मा नगरकोटीले विधागत अनुशासन, पात्रविधान, कथ्य र पात्रको विश्वसनीयता, सही परिवेश निर्माण, शाब्दिक अनुशासन, भाषिक सचेतनाजस्ता राम्रो आख्यानका लागि कमबेसी मात्रामा आवश्यक ठानिने तत्वहरूको पूरै बेवास्ता गरेका छन्। लिकबाट हटेर साहित्य सिर्जना गर्ने भनी एकथरी पाठक र प्रवद्र्धकहरूद्वारा प्रोत्साहन गरिएका नगरकोटीले परम्परागत शैलीको आख्यान लेखेका होइनन् भन्ने कुरालाई मान्दा उनले लिएका केही छुटलाई ठीकै मान्न सकिएला तर समीक्ष्य पुस्तकका प्रसंगमा प्रयोगशील हुने मोहमा उनी पूरै असंगत र अन्योलग्रस्त हुन पुगेका छन्। ‘ज्ञ’मा आएर नगरकोटीको प्रयोगधर्मी लेखनले दम तोडेको छ।
जाहेर छ, ‘ज्ञ’को मूल भाषा नेपाली नै हो। तर यस कृतिका सर्जक नगरकोटीले यसमा अति नै धेरै र प्रायः एकदम नै अनावश्यक ठाउँहरूमा अंग्रेजी भाषाको प्रयोग गरेर जगहँसाइ गरेका छन्। उनको अवाञ्छित अंग्रेजीमोहका कारण यो पुस्तक झन्डैझन्डै द्वैभाषिक बन्न पुगेको छ। यो अनावश्यक र अनुचित कसरतले यसका पाठकलाई लेखक कुमार नगरकोटी अंग्रेजी भाषा पनि जान्दछन् भन्ने कुरा थाहा हुनुबाहेक केही पनि राम्रो गर्दैन। यसले सरल, शुद्ध र लालित्यपूर्ण नेपाली भाषामा लेखिएको असल आख्यान पढ्न चाहने नेपाली साहित्यका गुनी पाठकलाई बिच्काएको हुनुपर्छ। वाक्कदिक्क र क्षुब्ध पनि पारेको हुन सक्छ। लेखकले ‘ज्ञ’मा अंग्रेजीलाई दोस्रो भाषाका रूपमा प्रयोग गरेर पूरा पुस्तकलाई विरूप त पारेका छन् नै, अंग्रेजीकै माध्यमबाट पाठकलाई वास्ता नपर्ने आफूले जानेका ज्ञानगुनका अनेक कुराहरू सुनाउने जमर्को पनि गरेका छन्। यसले लेखकलाई हास्यास्पद बनाएको छ।
‘ज्ञ’का हरेक हरफमा यसको रचनाक्रममा लेखकले उपयोग गरेको सिर्जनात्मक स्वतन्त्रता भनौं अथवा उट्पट्याङले पाठकलाई प्रभाव पार्ने मोहकोे गहिरो प्रभाव अनुभव गर्न सकिन्छ।
‘ज्ञ’मा लेखकले गरेको कुनै पनि प्रयोगले पाठकको दिल र दिमागमा गहिरो प्रभाव छोड्न सक्दैन। विसंगत स्थितिमा बाँचिरहेका पात्रहरूका कथा, उपकथा भएको आख्यान भएकाले यसमा कथावस्तुको प्रवाह एकनासको हुन नसक्नु र त्यो जटिलजस्तो देखिनु स्वाभाविक नै हो। लेखकले उदारताका साथ स्वैरकल्पनाको प्रयोग गरेकाले यस आख्यानमा घटना, उपघटनाहरूको अस्वाभाविक घालमेल हुनु पनि उचित नै हो। तर जस्तोसुकै विसंगत स्थिति परिस्थितिमा विकसित भएको कथा भए पनि र पात्रहरू जतिसुकै जटिल मनोग्रन्थी र असामाजिक रुझानका भए पनि राम्रो गरी लेखिएको आख्यान छ भने त्यसको कथावस्तु र पात्रहरूले पाठकको मनमा एक प्रकारको विश्वसनीयता पैदा गर्छन्। स्वैरकल्पनाबाट सिर्जित हुन् भन्ने थाहा पाउँदापाउँदै पनि राम्रोसँग विकसित गराइएका पात्रहरूले पाठकको मनोलोकमा आफ्नो छाप छोड्न सक्छन्। विश्व साहित्यमा स्वैरकाल्पनिक आख्यान साहित्यको ठूलो जगजगी भएको प्रमुख कारण यही हो।
हाम्रा कुमार नगरकोटी भने यो कसौटीमा पूरै खोटो साबित भएका छन्। उनले ‘ज्ञ’मा चित्रण गरेका कथा किस्सा न प्रभावपूर्ण लाग्छन् न त खडा गरेका पात्रपात्राहरू नै चित्ताकर्षक। ‘ज्ञ’मा चित्रित काठमाण्डु, पाटन र पोखराजस्ता नेपाली पाठकहरूको हृदयको निकट रहेका ठाउँहरू पनि यस कारण फिक्का लाग्छन् कि लेखकले तिनको विशिष्ट चरित्रलाई आख्यानमा राम्रोसँग उभारमा ल्याउन सकेका छैनन्। नगरकोटीले यस आख्यानमा पात्रपात्राहरूको नाम फरक ढंगमा राख्न खोजेका छन् तर ती कुनै धेरै नै नाटकीय कि भने खराब स्वादका भएकाले तिनलाई पाठकले सुरुमै मन नपराउने सम्भावना नै बढी देखिन्छ। आख्यानको मुख्य पात्र भन्न सकिने मानिसको नाम तथागत स्वप्नदर्शीजस्तो बोझिलो राखिएको छ। नायिका वा सहनायिका भन्न सकिने पात्राको नाम मुमुक्षा ताम्राकार राखेका छन् नगरकोटीले। यी दुई पात्रको चरित्र र गतिविधिसँग यिनको नामको कुनै संगति देखिँदैन।
अर्कोतिर एउटी मुख्य पात्राको नाम रजश्वला शर्मा र अर्को पात्रको नाम सम्भोगशमशेर राना राखेर नगरकोटीले पाठकमा कस्तो प्रभाव दिन खोजेका हुन् बुझ्न सकिँदैन। आख्यानमा शब्दागत याकथुम्बा, अक्षता कुँवर, लिप्स्टिकाजस्ता नाम पनि छन्। नामजस्तै पात्रपात्राहरूको लवाइखवाइ, बोलीचाली र गतिविधिको चित्रणमा पनि लेखक नगरकोटीले स्वैरकल्पनामा आधारित आख्यान भएकाले जे लेखे पनि हुन्छ भन्ने सोच राखेर लापर्बाही गरेजस्तो अनुभव हुन्छ पाठकलाई। ‘ज्ञ’मा भएका सबै कुरा हल्का र सतही लाग्दछन्। तिनले स्वादिलो आख्यान पठनको आनन्द दिन सक्दैनन्। नगरकोटीलाई राम्रोसँग चिन्ने पाठकहरूले तथागत स्वप्नदर्शी भनिएको पात्रको बाह्य ढाँचाकाँचाको निर्माणमा लेखकले आफ्नै हुलियाको मद्दत लिएको जस्तो ठाने भने त्यसलाई गलत भन्न सकिँदैन।
यो आख्यान तयार गर्दा कुमार नगरकोटी बिलकुलै गम्भीर थिएनन् भन्ने कुरा यसभित्र परेका फाल्तु लेखनका अनेकौं नमुनाले पुष्टि गर्छन्। केही उद्धरण ः
‘कहिलेकाहीँ कस्तो हुन्छ भने तपाईं मस्तिष्कको कोड एन्ड कन्डक्टलाई सहज किसिमको डिसाइफर गर्न असफल होइदिनु हुन्छ। त्यस बेला ह्युमन इन्स्टिङ्टले कुनै काम गर्दैन। तपार्इंको इन्टलेक्ट त झन् प्रयोजनविहीन होइदिने गर्छ। त्यस्तो बखत इन्ट्युसनले आफ्नो काम गर्छ।’
‘र जोकलाई शोकमा बदल्नु भनेको मूर्खतापूर्ण दोख हो।’
‘पिसाब फेर्नुलाई सिंगल सु भनिएको हो। डबल सु भनेको दिसा गर्ने हो। हस्तमैथुनलाई भने ट्रिपल सु भनिएको हो। अब भन्नुहोस्, तपाईं कुन सु गर्दै हुनुहुन्छ ? ’
‘मिस्टर स्वप्नदर्शीको बटारिएको ड्रेडलक्स् केशको मुठा ढाडबाट बयली खेल्दै नितम्बवरपर तुर्लुंग झुण्डिन्थ्यो।’
‘उष्लपथ उष्लपथ अप्सराहरूका चाकलाई हटाउँदै कुप्रे भीडबाट यता यता यता मतिर आउँदैछ। विस्फोटक संगीतमा उसको शरीर चालमय छ। छालमय छ। मायाजालमय छ।’
‘चेहेरामा अलौकिक गनष्लिभकक छ। लाग्छ यसको चेहेरामा समयले आफ्नो चिहान खनेको छ। चेहेरामा कति खाल्डैखाल्डा।’
‘किन एक्रोब्याटिक लचकदार भन्नुहुन्छ भने तपाईं काठमाण्डुलाई आफ्नो मौसमी मुडअनुसार मुडमाण्डु भन्न सक्नुहुन्छ। कुनै दयालु ममतामयी आमाले यसलाई काखमाण्डु भन्न सक्छे। पागल प्रेमीका लागि यो सहर म्याडमाण्डु बन्न सक्छ। दुखियाहरूका लागि स्याडमाण्डु। र कुनै अघोरी लेखकका लागि घाटमाण्डु।’
समग्रमा ‘ज्ञ’ लेखक र पाठक दुवैको समय, श्रम र स्वादको बर्बादी मात्र हो।