घरमा मिनी बार कि मिनी पुस्तकालय ?

घरमा मिनी बार कि मिनी पुस्तकालय ?

धेरैलाई लागेको छ— पुस्तक बजार खस्किनुको मूल कारण पाठकले खोजेजस्तो र स्तरीय पुस्तक बजारमा नआउनु हो। तर यो बजारमा कस्ता पुस्तक आइरहेका छन् भनेर जानकार नहुने तर आफूलाई अब्बल देखाउन खोज्ने ‘अजासु’हरूको तर्क हो। किनकि दुई महिनाअघि बुकहिल पब्लिकेसनले बजारमा ल्याएको स्वामी आनन्द अरुणको ‘ओशो : जो अचम्म मैले देखेँ’, फाइनप्रिन्टले छापेको डा. कमल लामिछानेको आत्मकथा ‘अन्तर्दृष्टि’, मञ्जरी पब्लिकेसनले छापेको डा. राहुल सांकृत्यायनको गणतन्त्रबारेको उपन्यास ‘सिंह सेनापति’ (नेपाली अनुवाद) यसका केही उदाहरण हुन्। यी कृति हरेक दृष्टिले अब्बल छन्। अर्को पुस्ताले समेत खोजी गर्ने कोटिका पुस्तक हुन्, यी। तर यी कुनै पुस्तकले पनि अपेक्षित पाठक पाउन सकेनन्।

यतिखेर पुस्तक बजारको स्थिति साँच्चै विकराल छ। युवादेखि गम्भीर पाठकले समेत अति रुचाइएका लेखक बुद्धिसागर, अमर न्यौपाने, नीलम कार्की निहारिका आदिका पुस्तक समेत बिक्न छाडेका छन्। विगतमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ मञ्जरीको पुतलीसडकस्थित बिक्रीकक्षबाट प्रतिमहिना २०-२५ वटाको दरले बिक्थ्यो। अहिले प्रतिमहिना पाँचवटा कट्न मुस्किल भइरहेको छ। सदाबहार बिक्नेमा कहलिएका अमर न्यौपानेको ‘सेतो धरती’, कृष्ण धरावासीको ‘राधा’, सरुभक्तको ‘पागल बस्ती’, विजयकुमारको ‘खुसी’को पनि हालत त्यही छ।

कतिपयको तर्क छ, ‘आख्यान पो नबिकेका हुन्, गम्भीर प्रकृतिका पुस्तक त बिकिरहेकै छन्।’ अहँ, त्यो स्थिति पटक्कै होइन। प्रा.डा. बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’, प्रा.डा. जगदीशचन्द्र रेग्मीको ‘लिच्छवि-इतिहास’, सुजित मैनालीको ‘शिलान्यास’, मदनमणि दीक्षितको ‘मेरी माता’, जनकलाल शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’प्रति पनि पाठकको चाख गएको छैन। भर्खरै बजारमा आएको डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्रहरू’प्रति सुरुआती आकर्षण उत्साहजनक देखिएको छैन। जगत नेपालको ‘पहिलो संसद्’, सौरभको ‘असंगति’ र सुधीर शर्माको ‘प्रयोगशाला’को बिक्री पनि पहिलेको अनुपातमा धेरै घटेको छ।

फुटपाथमा पुस्तक बेच्न प्रतिबन्ध लगाउने महानगरपालिकाका पदाधिकारीहरूले शनिबारका साँझका केही घण्टा पुस्तक हटियाका लागि सिंहदरबारदेखि भद्रकालीसम्मको उत्तरतर्फको फराकिलो पेटी या भृकुटीमण्डपको पेटी उपलब्ध गराए के समृद्धिमा धक्का नै पुग्छ होला त ?

विगतका केही वर्ष मदन पुरस्कार गुठीको पुस्तक सूची सार्वजनिक भएसँगै पुस्तक बजार राम्रैसँग चलायमान भएथ्यो। सूचीमा परेका पुस्तक खोज्दै पाठकहरू पुस्तक पसलमा धाउँथे। वर्षैभरि गेसपेपर, गाइड र पाठ्यक्रमका पुस्तक बेचेर बस्ने उपत्यका बाहिरका कतिपय पुस्तक पसलेहरूले पनि फोन गरेर गुठीको सूचीका पुस्तक मगाउँथे। प्रकाशकहरूलाई पुनर्मुद्रण गर्न भ्याइनभ्याइ हुन्थ्यो। तर यसपटक त्यो स्थिति पनि देखिएन। पुस्तक बजारले पटक्कै गति पाएन। पाठकमा उत्साह छाउँदै छाएन।

मदन पुरस्कार गुठीले स्तरीय पुस्तक छनोट गर्छ भन्ने विश्वास कम भएको निष्कर्षमा पुग्न हतारो होला तर त्यसको सूचीमा जुन आकर्षण पहिले हुन्थ्यो त्यो यो वा त्यो कारणले स्वात्तै घटेको छ। रमेश सायनको निबन्धात्मक कृति ‘छुटेका अनुहार’, भूपिनको उपन्यास ‘मैदारो’, जनताका कलाकार एवं संगीतज्ञ रामेशको आत्मसंस्मरण ‘बालापन जीवनको’, रुद्र ज्ञवालीको ‘रुझेर अग्निवर्षामा’जस्ता कृति पुरस्कारको सूचीमा परेनन्। सूचीमा नपरे पनि यी सूचीमा परेसरह नै (अ)बिक्री भइरहेका छन्।

 खस्किनुको खास

प्रकाशन संस्थासँग सम्बद्ध हुनुको नाता धेरै लेखक आफ्नो पुस्तक प्रकाशनका लागि यस पंक्तिकारको सम्पर्कमा आउनुहुन्छ। नवप्रतिभाहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यताअनुसार पंक्तिकारले पाण्डुलिपि पढेर यो यो खण्ड परिमार्जन गरेर या स्वसम्पादन गरेर आउनुस् भनेर पठाउँछ। अचम्म ! एक महिना नबित्दै अर्को प्रकाशन संस्थाको लोगोमा पुस्तक नै बजारमा आइपुग्छ। त्यही पुस्तकका बारेमा पत्रिपत्रिकामा समीक्षाको खहरे चल्छ। फेसबुक बुस्ट हुन्छ। पंक्तिकारसँग यस्ता उदाहारण अनेक छन्। यस्तो लाग्छ— मेहनत गरेर, साधनामा खारिएर लेखन-प्रकाशनमा आउन कोही कोही मात्र तयार छन। हामी प्रकाशकहरू पनि जीवनभरिमा आफूले लेखिआएको विधाका जम्मा पाँचवटा अब्बल कृति नपढेकाहरूलाई पनि लेखकका रूपमा उभ्याउन अस्वस्थ प्रतिस्पर्धा गरिरहेछौं।

हामी प्रकाशकहरूको गैरजिम्मेवार चरित्र नै पुस्तक बजार खस्किने मुख्य कारण हो। हामीले आफ्नो खुट्टामा आफैं बन्चरो हान्नुको परिणाम भोगिरहेका छौं यति बेला। ‘बजारमा नबिके ५० प्रतिशत छुट दिएर लाइब्रेरीलाई बेचिहालिन्छ नि’ भन्ने विश्वासमा कतिपय प्रकाशकले जे पनि छाप्ने काम गरे। लेखकसँग पैसा लिएर छाप्ने कामको त होडबाजी नै चल्यो। लेखकहरूलाई पनि आफ्नो मेहनतको प्रतिफल, लगानी फिर्ताको सुनिश्चितताभन्दा पनि बजारमा किताब आए पुग्यो। लेखक हुँ भनेर गमक्क फुल्न पाए पुग्यो। विगत दुई वर्षयता त्यस्ता पुस्तकको खहरे नै चल्यो। लेखकसँग पैसा लिएर छाप्ने उद्देश्य लिएरै कतिपय प्रकाशन संस्थासमेत जन्मिए। रिठ्ठोको बिरुवा रोपेर कागती फल्नु असम्भव थियो। पाठक यसरी भड्किए कि गम्भीर प्रकृतिका, स्तरीय पुस्तक समेत बिक्न छाडे। पाठकलाई अवमूल्यन गर्नुको नतिजा पुस्तक बजारले मात्रै होइन, सिंगो मुलुकले बेहोरिरहेछ।

पुस्तकको मूल्य अचाक्ली हुनु पनि पाठक भड्किने एउटा कारण हो। पछिल्लो समय सरकारले करमा कडाइ गरेपछि त्यसको प्रत्यक्ष असर पुस्तकको मूल्यमा पनि परेको छ। कागज खरिद, छपाइ, घरभाडा, कर्मचारीको तलब, वार्षिक आयकर आदिमा सरकारले करको अंकुश लगाउनुको नतिजा पुस्तकको मूल्यमा पर्ने नै भयो। पुस्तकमा छापिएको मूल्यमा समेत छुट माग्ने र पुस्तक पसलेले पनि २०-२५ प्रतिशतसम्म छुट दिनैपर्ने बाध्यताले पनि पुस्तकको मूल्य बढाएरै राख्नुपर्ने अवस्थामा प्रकाशकहरू पुगेका छन्।

केही प्रकाशन संस्थाहरूले चाहिँ यी कारणलाई देखाएर मूल्यमा मनोमानीसमेत गरेका छन्। तत्कालको समग्र अवस्थालाई ध्यानमा राख्दा प्रतिपृष्ठ एक रुपैयाँ पचास पैसा हुने गरी पुस्तकको मूल्य राख्न सकिन्छ। तर कतिपय प्रकाशन संस्थाहरूले प्रतिपेज दुई रुपैयाँ पचास पैसाभन्दा बढी पर्ने गरी मूल्य राख्ने गरेका छन्। मूल्य अचाक्ली राख्ने अघोशित प्रतिस्पर्धाले पाठकलाई यसरी भड्काएको छ कि लयमा ल्याउन फलामको चिउरा चपाउनुभन्दा कठिन छ।

लेखक भएर नि पढ्ने हो त !

केही महिनाअघिको कुरा। एकजना नवप्रतिभा कथाको पाण्डुलिपि बोकेर पंक्तिकारलाई भेट्न हाम्रो प्रकाशनको पुतलीसडकस्थित बिक्रीकक्षमा आए। ‘तपाईंले पछिल्लो समय पढ्नुभएको कथाकृति कुन हो ? ’

उनी धेरै बेर त अक्क न बक्क भए। निकै बेर सोचेपछि भने, ‘बीपी कोइरालाको सुम्निमा।’

हाँसो रोक्न मुस्किल हुँदाहुँदै पनि पंक्तिकारले फेरि सोध्यो, ‘अहिलेसम्म पढेमध्ये राम्रो लागेको कृति कुन हो ? ’ निकैब ेर गमेपछि उनले भने, ‘मैले त अरूका कृति खासै पढेको छैन।’ एकछिनको कुराकानीपछि थाहा भयो— कथाकारका रूपमा स्थापित हुन चाहने उनले मनु ब्राजाकी र माया ठकुरी पनि पढेका रहेनछन्। विश्वेश्वरप्रसाद कोइराला र विजय मल्लको कथा चैं कलेजमा पढेको छु भने।

अरूका कृति पढ्दा मात्रै लेखकले राम्रो लेख्न सक्छ भन्ने पटक्कै होइन। तर आफूलाई स्रष्टा हुँ भन्ठान्नेहरूले बजारमा आएका राम्रा पुस्तक के पढ्नु पर्दैन ? क्रिकेटमा रुचि राख्ने, भविष्य बनाउन चाहनेले क्रिकेटमा अपडेटेड नभई खरो उत्रिन सक्छ ? तर, यहाँ आफूले जुन विधा, भाषामा लेख्ने हो त्यसमा ‘निरक्षर’ भएर पनि धेरैलाई लेखक हुनुपर्‍या छ। अनि पाठकले आफूभन्दा पनि कमजोर अध्ययन-बुझाइ भएका लेखकलाई किन किनेर पढ्छ र ?

जति नै राम्रो लेखोस्, आफूभन्दा जुनियर पुस्ताका पुस्तक किनेर पढ्नुलाई धेरै महान् लेखकले आत्मसम्मान विपरीत ठान्छन्। जुनियर पुस्ताको स्रष्टाले सम्मानपूर्वक पढिदिनोस् भनेर उपहार दिएको पुस्तकसमेत केही समय घरमा राखेर सेकेन्ड ह्यान्ड पुस्तक पसलेलाई बेच्नुमा गर्व मान्छन्। विश्वास नलागे न्युरोडतिरका सेकेन्ड ह्यान्ड पुस्तक पसलहरू चहारे हुन्छ।

धेरैजसो नयाँ प्रतिभाहरू बुद्धिसागर, अमर न्यौपाने, कुमार नगरकोटी, सरस्वती प्रतीक्षा, नयनराज पाण्डे, सुबिन भट्टराई, उपेन्द्र सुब्बाजस्तो हुने सपना देख्छन्। तर उनीहरूले कुनकुन चरण पार गरेर यो अवस्थामा आए ? उनीहरू कस्ता कस्ता खालका किताब पढ्छन्, साताको कति घण्टा अध्ययनमा लगाउँछन् भन्ने कुरामा नयाँ पुस्तालाई चासो नै छैन।

प्रविधिको विकासले अहिलेका पाठकलाई लेखकभन्दा चलाख र बौद्धिक बनाएको छ। तर लेखकहरूलाई यो कुराप्रति हेक्का र चिन्ता कम छ। उनीहरूलाई त यति मात्रै ध्याउन्न हुन्छ— किताब बजारमा ल्याउने। प्रकाशकलाई पाण्डुलिपि बुझाएको एक सातादेखि नै ‘मेरो किताब कहिले बजारमा आउँछ ? ’ भनेर सोधेको सोध्यै गर्ने।

पुस्तक प्रकाशनका लागि निश्चत प्रक्रिया र पालोसँग पनि उनीहरूलाई मतलब हुन्न। किताब बिकोस् नबिकोस्, त्यसले समाजमा तरंग ल्याओस् नल्याओस्, प्रकाशकले लगानी उठाओस् नउठाओस्सँग कुनै चासो हुन्न। पुस्तकको कभर फोटो फेसबुकमा हाल्ने र नजिकका आसेपासेको बधाई खान पाउँदा मक्ख पर्ने आत्ममुग्ध लेखकहरूका कारण पनि पुस्तक बजार भाँडिएको हो। भेट हुँदा ‘तपाईंको नयाँ किताब कहिले आउँछ ? ’ भनेर सोध्ने र फेसबुकमा बधाईको ओइरो लगाउनेमध्ये विरलैले मात्रै किताब किन्छन् भन्ने कुराको चेतनासमेत हामी लेखकहरूमा छैन। ‘पाठकले मेरो किताब कहिले आउँछ भनेर सोध्या सोध्यै छन्, मेरो किताब किन ढिला ? ’ आयो, उही फुस्सा !

बजार खस्किने अर्को कारण सरकारले पुस्तकमा लगाएको कर पनि हो। पुस्तक भनेको ज्ञानको स्रोत हो भन्ने कुरा समेत हेक्का नराखी स्वदेशी मुद्रण उद्योगलाई प्रवद्र्धन गर्ने नाममा आयातीत पुस्तकमा कर लगाइदिएकै कारण बजेट भाषणयता विदेशी पुस्तक आयात ठप्प भएको छ। आफूले खोजेको पुस्तक नपाउने कारणले अंग्रेजी पुस्तकका पाठक पुस्तक पसल धाउनै छाडेका छन्। यसअघि उनीहरू अंग्रेजी पुस्तकसँगै आफ्नो रुचिका नेपाली पुस्तकसमेत किन्थे। यसको गम्भीर असर पुस्तक बजारमा मात्र नभई समाज र राष्ट्रमै परिरहेको छ। पुस्तक पढेर आर्जन हुने ज्ञानको ढोकालाई बन्द गरेर सरकारले कस्तो समृद्धि ल्याउन खोजेको हो, बुझिनसक्नु छ।

प्रसिद्ध अंग्रेजी पुस्तकका प्रकाशकहरूले दक्षिण एसियाका पाठकहरूलाई लक्षित गरेर भारतीय संस्करण प्रकाशित गर्छन्। तिनमा भारतीय मूल्य पनि अंकित हुन्छ। विगतमा पुस्तक आयातकर्ताहरूले त्यही भारतीय मूल्यका आधारमा १२ प्रतिशत भन्सार तिरेर पुस्तक आयात गर्थे। तर अहिले थप १० प्रतिशत भ्याटसँगै आयातमा कडाइ गरेपछि कसैले पनि पुस्तक ल्याउने आँट गर्न सकेका छैनन्।

केही मानिसहरू ‘सामाजिक जञ्जाल भनेकै फेसबुक’ आदिको कारण पनि पठनसंस्कृति खस्किएको तर्क गर्छन्। तर यो प्रमुख कारण होइन। किनकि फेसबुक आएलगत्तै पनि पुस्तक बजार यति तरल भएको थिएन। र, अहिले एक्कासि हुनुका पछाडि डिजिटल प्रविधिलाई दोष दिन सकिन्न।

पुस्तक व्यापार खस्किनुका प्रमुख दोषी पुस्तक बिक्रेताहरू पनि हुन्। किनकि पाठकको चेतनास्तरअनुसार पुस्तक पसलेहरूले आफूलाई अपडेट गर्नै सकेका छैनन्। देशका प्रमुख सहरहरूमा रहेका पुस्तक पसलहरूको अध्ययनका आधारमा भन्नु पर्दा बजारमा आएका पुस्तक अध्ययन गर्ने, अपडेट हुने, नयाँ पुस्तक तुरुन्तै मगाउने व्यवसायीका पुस्तक पसलमा पाठकको खाँचो खासै भएको देखिन्न।

पाठकलाई आफ्नो पसलभित्रै छिरेर, छानेर, दुईचार पाना पढेर पुस्तक रोज्ने मौका दिने शैलीले खोलिएका मार्ट शैलीका पुस्तक पसलहरू परम्परागत ढर्राका पुस्तक पसलहरूभन्दा सफल देखिएका छन्। त्यसैले पुस्तक व्यवसायीहरूले पनि आफूलाई समयानुकूल परिमार्जन गर्नैपर्छ। पाठकले पसलमा आएर किताब पल्टाउन थाल्दा त्यसभित्रको गुदीका बारेमा दुईचार कुरा बताउन सक्ने हुनैपर्छ। उसले एउटा किताब उठाउनासाथ उसको रुचि थाहा पाएर त्यसै प्रकृतिका दुई चारवटा पुस्तक उसका अघिल्तिर राखिदिन सक्नुपर्छ। पुस्तकमा पनि कपडा व्यापार गर्ने ‘मारवाडी शैली’ सिको गर्नैपर्छ। पुस्तक पसलको साइनबोर्ड झुन्ड्याएर गेसपेपर र गाइड बेच्नेहरूबाट पुस्तक संस्कृतिकै बेइज्जती भइरहेकोतर्फ पुस्तक व्यवसायी संघ महासंघहरूले विचार गर्नैपर्छ।

यसो गरे कसो होला ?

सबभन्दा पहिला त हामी प्रकाशकहरू गम्भीर हुनुपर्छ। पुस्तकका नाममा जे पनि छाप्ने कामलाई अविलम्ब रोक्नुपर्छ। लेखकसँग पैसा लिएर उसलाई ‘सेवा दिने’ काम गरिन्छ भने त्यस्तो पुस्तकको अति प्रचार गरेर पाठक भ्रमित पार्ने काम गर्नु हुन्न। बेलैमा आत्मसमीक्षा नगरे हाम्रो हातमा आफैंले डढाएको घरको खरानी मात्रै हुन्छ।

दोस्रो काम आफूलाई लेखक हुँ भन्ठान्नेहरूले अहिलेका पाठक हामीभन्दा सचेत र जान्ने छन् भन्ने कुरा अन्तरआत्मादेखि नै स्वीकार्नु पर्छ। त्यसको लागि ज्ञान र सूचनासँग अपडेट हुनैपर्छ। एउटा स्रष्टाले अर्काे स्रष्टको कृति किनेर पढ्नैपर्छ। आफ्नो किताब सबैले किनिदिऊन्, अरूको चैं आफूले किन्नु नपरोस् भन्ने मनोरोगबाट माथि उठ्नैपर्छ।

आफूलाई समाजका सचेत र जिम्मेवार ठान्नेहरूले अब कम्तीमा महिनामा आफ्नो रुचिको एउटा किताब किन्ने र पढ्ने संस्कार सुरु गर्नुपर्छ। कसैको जन्मोत्सव, वैवाहिक वर्षगाँठ आदिमा उपहार दिँदा उसको रुचिको पुस्तक दिने परिपाटीको विकास गर्नैपर्छ। जेसिज, रोटरी, पत्रकार महासंघ लगायतका सामाजिक संघसंस्थाले कुनै पनि कार्यक्रम आयोजना गर्दा मायाको चिनोका रूपमा पुस्तक दिने प्रचलनको विकास गर्नुपर्छ। किनकि पुस्तक भनेको यस्तो उपहार हो जो बहुउपयोगी हुन्छ। साहित्यिक संघसंस्थाहरूले त यो काम अनिवार्य रूपमा गर्नैपर्छ।

निजी पुस्तकालय भएको घरमा हुर्किएका बालबालिका तुलनात्मक रूपमा सचेत र सुसंस्कृत हुने कुरा पछिल्लो समयमा अध्ययनहरूले पुष्टि गरेका छन्। तर हाम्रो समाजमा पुस्तक नपढ्नु र घरमा निजी पुस्तक नहुनुलाई नै प्रतिष्ठाको विषय मान्न थालिएको छ। केही दिनअघिको पूर्वका जिल्लाको भ्रमणका क्रममा पंक्तिकारले सुट-टाईमा सजिएका, कलेजमा पढाउँछु भन्ने यस्ता ‘बुद्धिजीवी’हरू पनि भेट्यो जो पुस्तक नपढ्नुलाई गर्वको विषय ठान्थे। यो तथ्य समाज अधोगतितिर गइरहेको प्रस्ट संकेत हो। घरमा रक्सीको बार होइन, मिनी पुस्तकालय हुनुचाहिँ प्रतिष्ठाको विषय हो भन्ने संस्कार विकास नगरेसम्म समाज समृद्ध होला भनेर अपेक्षा नगरे हुन्छ।

आफ्ना सन्तानको भविष्य उज्ज्वल होस्, ससुंस्कृत र विनयशील बनून् भन्ने चाहना राख्ने हरेक अभिभावकले आफ्ना नानीहरूलाई कम्तीमा महिनामा एउटा पाठ्यक्रम बाहिरको पुस्तक उपलब्ध गराउनैपर्छ। बेलाबेलामा पुस्तक पसल घुमाउन लगेर रुचिका पुस्तक छान्न लगाउने गर्नुपर्छ। आफूले मोबाइल चलाउँदै उनीहरूलाई पुस्तक पढ भनेर आदेश दिने काम बन्द गर्नुपर्छ। बरु त्यसको साटो साँझ आधा घन्टा भए पनि उनीहरूका अगाडि बसेर आफूले पनि पुस्तक पढ्ने गर्नुपर्छ। आफूले पढेका पुस्तकबारे रोचक जानकारी सुनाउनुपर्छ। काखे नानी भएका आमाहरूले लोककथाहरू सुनाउँदै नानीहरूलाई सुताउने या खाना खुवाउने गरे भने उनीहरूको कल्पनाशीलता साँच्चै तीक्ष्ण रूपमा विकसित हुन्छ।

समाज समृद्ध त्यस बेला मानिन्छ जब टोलटोलमा सामुदायिक पुस्तकालय हुन्छन्। फुर्सदमा हुने हरेकले आफ्नो रुचिको पुस्तक निर्बाध पढ्न पाउँछन्। दुईजना भेट हुँदा आफूले पढेको पुस्तकबारे विमर्श गर्न थाल्छन्। यसका लागि राज्यका सञ्चालकहरूले सोच्नुपर्छ। पुस्तकमा कर लगाएर, भौतिक विकास गरेर मात्रै समाज समृद्ध हुन सक्दैन भन्ने कुरा उनीहरूले बेलैमा बुझ्नुपर्छ। विडम्बना, पुस्तक र पत्रपत्रिका खरिदका लागि भनेर तोकेरै राज्यले दिएको पैसासमेत पुस्तक-पत्रपत्रिकामा खर्च नगर्ने जनप्रतिनिधिहरू भएको देशमा यस्ता कुरा गर्नु भनेको अरिंगालको झम्टाइमा पर्नु हो।

छिमेकी भारत सरकारले समेत पठन संस्कृतिको विकासका लागि साहित्यिक महोत्सवका आयोजकहरूलाई आर्थिक सहयोग दिने लगायतका अनेक काम गर्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको पुस्तक मेला आयोजना गर्न हरेक वर्ष निःशुल्क हल उपलब्ध गराउने मात्रै होइन, निश्चित बजेटसमेत दिन्छ। कतिपय महानगरले पुस्तक पसल राख्नका लागि सहुलियतपूर्ण भाडामा ठाउँ उपलब्ध गराउँछन्। स्रष्टाहरूले निकालेका पुस्तक न्यूनतम दुई सयप्रति केन्द्रीय पुस्तकालयले किनिदिन्छ।

राज्यस्तरका पुस्तकालयहरूले किनिदिन्छन्। तर हामीकहाँ ? अन्तर्राष्ट्रिय स्तरको पुस्तक मेला आयोजनाका लागि प्रोत्साहित गर्नु त कता ! विदेशी पुस्तकमा समेत कर लगाएर मेला आयोजनालाई निरुत्साहित गरिन्छ। फुटपाथमा पुस्तक बेच्न प्रतिबन्ध लगाउने महानगरपालिकाका पदाधिकारीहरूले शनिबारका साँझका केही घण्टा पुस्तक हटियाका लागि सिंहदरबारदेखि भद्रकालीसम्मको उत्तरतर्फको फराकिलो पेटी या भृकुटीमण्डपको पेटी उपलब्ध गराए के समृद्धिमा धक्का नै पुग्छ होला त ? अविरल पुस्तक लेखक तथा प्रकाशक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.