प्रकटको ‘अक्षरभरि अक्षता’ सार्वजनिक
पोखरा : प्रणय गजलले चर्चित बनेका गीतकार प्रकट पगेनी शिवले कविता कृति ल्याएका छन्। यसअघि उनका प्रणयवेदका ऋचाहरु गजल संग्रह, जूनको चिठी जूनालाई र यो मन कतै अल्झेको छ गीती संग्रह प्रकाशित छन्।
प्रकटका दौतरी कवि तीर्थ श्रेष्ठ लगायतले कविता कृति अक्षरभरि अक्षता शनिबार पोखरामा विमोचन गरे। श्रेष्ठले प्रकटलाई गाउँघरका ससाना कुरा उतारेर लेख्नसक्ने स्रष्टाको संज्ञा दिए। ‘ऊ घरगृहस्थीले दुख्छ, श्रीमतीले दुख्छ, आमा दुख्छ’, श्रेष्ठले भने, ‘पटपटी फुटेको गैह्री खेतले दुख्छ। र त्यही कुरा रचनामा उतार्छ।’
कवि श्रेष्ठले कवितामा लय हुनुपर्ने धारणा राखे। ‘कवितामा लय हुनुपर्छ र जीवनलाई छुनुपर्छ’, उनले भने। पंगेनीले ३ वटा कविता बाचन गरे। आमाबाबुलाई छाडेर विदेशिने सन्तानबारेको उनको कविताले वाहीवाही पायो। कृति मेघराज आचार्यले प्रकाशन गरेका हुन्। संग्रहमा २९ कविता छन्।