काभ्रेमा साढे सात हजार भूकम्प पीडित अनुदानबाट वञ्चित
![काभ्रेमा साढे सात हजार भूकम्प पीडित अनुदानबाट वञ्चित](https://annapurnapost.prixacdn.net/media/albums/kavre-1_20190727134025_zp0SzPOPbE.jpg)
काभ्रे : काभ्रेमा साढे सात हजार भूकम्प पीडित अनुदानबाट वञ्चित भएका छन्। सरकारले तोकेको अन्तिम समयसीमाभित्र अनुदान सम्झौता गर्न नसकेका ७ हजार ५७४ पीडित अनुदान पाउनबाट वञ्चित भएको अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख सागर आर्चायले बताए।
२०७२ सालको भुकम्पबाट काभ्रेमा ८३ हजार ३६५ वटा घर पूर्ण क्षति भएको जिल्ला कार्यान्वयन इकाइले जनाएको छ। पहिचान भएका पीडितहरुमध्ये ७५ हजार ७९१ परिवारले पहिलो किस्ता अनुदान सम्झौता गरेका छन्। दोस्रो किस्ता ५४ हजार ४३८ र घर निर्माण गरी तेस्रो किस्ता रकम लिने ४० हजार ९१८ परिवार रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
गाउँमा वास्तविक पीडितहरुले अझै अनुदान नपाए पनि सम्बन्धित निकायले चासो नदिएको रोशी गाउँपालिका– ९ का वडाध्यक्ष शिशिर लामाले बताए। घर निर्माण गरेका पीडितहरुले पनि अनुदान लिन समस्या भएको गुनासो गरेका छन्। ‘घर सम्पन्न भए पनि अन्तिम किस्ता लिनको लागि ९ महिनासम्म धाउनुपर्यो’ रोशी–३ का चन्द्रमान तामाङले भने।
भूकम्पपछि पहिलो किस्तावापत ५० हजार लिएका ४७ परिवारले रकम फिर्ता गरेका छन्। अहिलेसम्म काभ्रेमा लाभग्राहीको सूचिमा रहेका ४७ हजारले रकम फिर्ता गरेको इकाइका सामाजिक विज्ञ बिदुर तिमल्सिनाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)