दलितले छोएको पानी खाएको भन्दै ६ वर्षअघि गाउँबाट निकालिएको परिवार अझै फर्किन पाएन
बाजुरा : बाजुराको हिमाली गाउँपालिका–२ का एक बृद्ध दम्पत्ति र उनको परिवार दलितको हातबाट पानी पिएको भन्दै ६ वर्षदेखि गाउँ निकालिएका छन् ।
जिल्लाको अति विकट तथा दुर्गम क्षेत्र नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवार ६ वर्षदेखि अझै गाउँ फर्कन पाएको छैन । जयलाल बुढाकी श्रीमतीले कवाडीमा बस्दा दलितको हातको पानी पिएको र उनी बस्ने घरको ओटालोमा दलित आएको देखेपछि गाउँलेले बुढा परिवारलाई कुटपिट गर्दै धारो, कुलो, घट्ट कतै पनि प्रवेश गर्न दिएनन् ।
त्यस क्रममा गाउँलेले ती युवकसँग बुढाकी श्रीमतीको नाजायज सम्बन्धको समेत शंका गर्दै जातीय गाली गरिएको थियो । ‘गाउँलेले अनावश्यक रुपमा मेरो परिवारलाई दुख दिए,’ जयलाल बुढाले गुनासो गरे ।
नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछुत तथा जातीय विभेद् गर्न नपाइने व्यवस्था गरेको छ । तर देशको कानुन र संविधानको खिलाफ गाउँले नै उक्त परिवारलाई व्यवहार गरेको हो ।
मानसिक तनाव, कुटपिट गर्दै छोरा–बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरो भागेर भारत गएको बुढाको गुनासो छ । गाउँले धारामा पानी लिन गएको समयमा गाग्री फुटाउँदै ‘यीनीहरुलाई कुनै काममा सहभागी गराउनु हुँदैन’ भन्दै अमानवीय व्यवहार गरेको बुढा परिवार बताउँछन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बुढा परिवारलाई अन्याए भएको भए दोषीलाई कारवाही गर्दै सम्मानजनक रुपमा गाउँमा बस्ने वातावरण मिलउने प्रतिवद्धता जनाएका छन्।