वैचारिक बहसकाे निष्कर्ष : नेताहरुले स्वार्थ नत्यागेसम्म समाजवाद आउँदैन
वीरगन्ज : नेकपा र नेपाली कांग्रेसमा वैचारिक बहस चलाउँदैआएका नेताहरुले समाजवादको प्रमुख बाधक दलाल पूँजीवाद नै रहेको ठोकुवा गरेका छन् ।
दलाल पूँजीवाद हाबी भएका कारण नेपालमा समाजवादको यात्रा अघि बढ्न नसकेको उनीहरुको ठहर छ । वीरगन्जमा पाठशाला नामक संस्थाले ३७औं विपी स्मृति दिवस र ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा शनिवार आयोजना गरेको ‘नेपालमा समाजवाद एक विमर्श’ कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप गिरी, नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, र केन्द्रीय सदस्य राम कार्कीले बहस गरेका थिए ।
विपी र पुष्पलालले परिकल्पना गरेको समाजवादको सिद्धान्त र विचारबाट अहिलेको राजनीतिक नेतृत्व विचलित भएको उनीहरुको भनाइ छ ।
नेताहरुले व्याक्तिगत स्वार्थ, आर्थिक लाभ र विभेद्को मानसिकता नत्यागेसम्म जनताले समाजवादको अनुभुति गर्न नपाउने उनीहरुको ठम्याइ छ ।
हरेक दलभित्र नेताहरुका सामु प्रश्न गर्ने आँट कार्यकर्तामा नभएको कारणले नेतृत्वले मनपरी गरिरहेको भन्दै उनीहरुले सबैभन्दा पहिले नेतृत्व नै समाजवादी बन्नुपर्ने सुझाव दिए ।
तीनैजना वक्ताले कांग्रेस र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको जीवनशैली नसच्चिएसम्म मुलुकमा समाजवाद अगाडि बढ्नै नसक्ने औँल्याए । यससँगै अब नागरिक समाज नै अगाडि बढ्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले विपी र पुष्पलाल दुवैको लक्ष्य समाजवाद नै रहेको बताए । तर अहिले कांग्रेस र कम्युनिस्ट दुवै दलका नेताले समाजवादका बारेमा विपी र पुष्पलालले गरेको परिकल्पनालाई चटक्कै बिर्सिएर आफ्नो स्वार्थमा मात्रै डुबेको गिरीले बताए।