छोराछोरीमा रचनात्मक क्षमता बढाउन के गर्ने ?
बालबालिकाले सधैं केही नयाँ गर्न चाहन्छन्। कसैलाई चित्र बनाउन मन पर्छ। कसैलाई गीत गाउन आउँछ भने कसैले आफ्ना कुरालाई सुन्दर शैलीमा अभिव्यक्त गर्न सक्छन्। तर, आमाबाबुले उनीहरूलाई आफ्नो रुचिअनुसारको काम गर्न दिँदैनन्। यसले गर्दा बालबालिकाको रचनात्मक क्षमता हराउँदै जान्छ। ऊ भित्र कामलाई कसरी छिटो सकौं भन्ने प्रवृत्ति देखिन थाल्छ।
बालबालिकालाई कुनै पनि काम आफ्नै तरिकाले गर्न छुट दिने हो भने उनीहरूको आत्मविश्वास मात्र वृद्धि हुनुका साथै उनीहरूले आफ्नो काम पनि ध्यानपूर्वक गर्छन्। पढाइमा पनि उनीहरू राम्रै हुन्छन्। त्यसैले अभिभावकले यी विभिन्न विषयमा ध्यान दिएमा आफ्ना छोराछोरीलाई रचनात्मक विकासतर्फ डोर्याउन सकिन्छ।
लोभ नदेखाउने
आफ्ना बालबालिकालाई कुनै पनि विषयमा लोभ देखाउनु हुँदैन। कतिपय आमाबाबुको बानी नै हुन्छ। तिमीले समयमा आफ्नो गृहकार्य सकायौ भने चकलेट किनिदिन्छु। मनपर्ने खेलौना किनिदिन्छु वा कतै घुमाउन लैजान्छु। एक/दुई पटकका लागि यस्ता कुरा ठीकै हुन्छन्। तर, सधैंलाई बानी पर्यो भने उनीहरूले आफ्नो काम सही तरिकाले गर्न सक्दैनन्।
उनीहरूको ध्यान छिटो पढाइ सकेर आफूले प्राप्त गर्नेे चिजमा केन्द्रित हुन्छ। यसको कारण उसले झारा टार्ने तरिकाले काम गर्छ। बच्चामा हुर्किंदै गरेको यो बानीले विस्तारै उसको रचनात्मकता हराउँदै जान्छ।
धेरै बोझ नदिने
आफ्ना छोराछोरीलाई पूर्ण बनाउने चक्करमा धेरै काम गर्नका लागि उसमा दबाब थोपार्नु हुँदैन। आफ्ना छोराछोरी सबै विषयमा निपुर्ण होस् भन्ने अपेक्षा राख्नु हुँदैन। मेरा छोराछोरी पढाइमा पनि पूर्ण होऊन्, राम्रो चित्र बनाऊन्, खेलकुदमा राम्रो होऊन्, राम्रो गीत पनि गाऊन्, सबैले भन्दा राम्रो नाचून्। यी सबै क्षमताले उनीहरू भरिपूर्ण होउन भन्ने चाहना राख्नु हुँदैन। उनीहरूलाई त्यति नै गर्न दिनुपर्छ जति सहजताले गर्न सक्छन्। सबैमा लाग्ने चक्करमा कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन्।
रुचिका काम गर्न दिने
सानो बच्चामा हामीले आफ्नो रुचि थोपर्नु राम्रो होइन। उसलाई त्यही काम मात्र गर्न दिनुपर्छ जसमा उसको रुचि हुन्छ। नृत्य गर्न चाहँदैन भने साथीहरू सबै गइरहेका छन् भन्दै नृत्य कक्षाको लागि दबाब दिनु हुँदैन। उसले घरमै बसेर चित्रमा रङ लगाउन वा टेलिभिजनमा कार्टुन हेर्न रुचाउँछ भने त्यसै गर्न दिनुपर्छ। समय मिलाएर आफ्ना छोराछोरीसँग बसेर उसलाई रमाइलो लाग्ने काममा सहभागी हुनुपर्छ। उसलार्ई बेलाबेलामा जीवनका बारेमा राम्रो कुरा पनि सिकाउनुपर्छ।
सकारात्मक सोचको विकास गर्ने
कुनै पनि काम रचनात्मक तरिकाले गर्ने भावना बालबालिकामा तब आउँछ जब ऊ भित्र हार्ने डर हुँदैन। आफ्नो छोराछोरीभित्र सफलता वा असफलतालाई लिएर सकारात्मक सोच विकसित गर्नु आमबाबुको दायित्व हो। असफलतालाई पनि सजिलै स्विकार गर्न सक्ने क्षमता आफ्ना छोराछोरीमा विकास गर्नुपर्छ।
आमाबाबु जति नै व्यस्त भए पनि छोराछोरीका लागि पनि पूरा समय छुट्ट्याउनुपर्छ। यी समयमा उनीहरूका मनमा आएका जिज्ञासा मेटाउने प्रयास गर्नुपर्छ। उसका ससाना प्रश्नका धैर्यपूर्वक जवाफ दिनुपर्छ। उसलाई राम्रा कथा सुनाउनुपर्छ। यसले बालबालिकाको रचनात्मकता वृद्धि हुन्छ।