नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- 'यसरी झन् चल्दैन'
वीरगन्ज : सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्।
आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए।
‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्यस्तो भयो भने म भन्छु- यो सबै भन्दा कमजोर सामधान हो', उनले भने, 'यसले स्कुल विभागलाई चलाउने होइन अझ सुसुप्त बनाउने काम मात्र गर्छ।'
स्कुल विभागको नेतृत्वमा आफनो दाबेदारी यथावत रहेको भन्दै भुषालले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आफू नै उपयुक्त पात्र भएको दाबी गरे। ‘स्कुल विभागको नेतृत्व यदि पूर्वएमालेको भागमा पर्छ भने त्यसको पहिलो दाबेदार म नै हुन्छु किनभने एमालेको नवौं महाधिवेशनदेखि नै स्कुल विभागको नेतृत्व मैले गर्दै आइरहेको छु', उनले भने।
तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा आफूलाई स्वीकार्य हुने भुषाले बताए।
किन लम्बियो पार्टी एकता ?
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामूहिक नेतृत्वमा नगएकै कारण पार्टी एकता प्रकृयामा १५ महिना लागेको भुषालले बताए। ‘अध्यक्ष ओली एकल नेतृत्वमा चलेका कारण पार्टी एकता प्रकृयामा यति धेरै लामो समय लागेको हो, जुन समय लाग्यो यो अनपेक्षित छ', उनले भने।
सरकारले एकपछि अर्को गरी प्रक्रिया नपुर्याई विधेयक ल्याएका कारण विरोध खेप्नुपरेको उनले बताए।
'अधिकांश विधेयक न जनताको राय बुझेर आएका छन्, न पार्टीभित्रै छलफल गरिएका छन्', उनले भने, ‘पार्टी केन्द्रीय समितिलाई पनि थाहै नदिइ सिधै विधेयक पेश गरिन्छ। यही कारण विधेयकको विरोध भइरहेको हो।'
संविधानप्रति मधेसमा असन्तुष्टि रहेकोतर्फ संकेत गर्दै भुषालले असन्तुष्टि सम्बोधनका लागि नेकपा प्रयत्नरत रहेको जिकिर गरे।
'संसारमा कुनै पनि देशको संविधान सय प्रतिशत सहमतिमा बनाइएको हुँदैन तर राजनीतिक दलले त्यसलाई सय प्रतिशत बनाउन प्रयत्न गरिहरहनु पर्छ', भुषालले भने, 'हाम्रो संविधानप्रति पनि असन्तुष्टि छ। सम्बोधन गर्न नेकपा प्रयत्नशील छ।'
भुषालले समाजवाद प्राप्तिका लागि निर्वाचनका बेला नेकपाले जनतासँग गरेका बाचा वर्तमान सरकारले पूरा गर्नुपर्ने बताए। उनले भने, ‘हिजो चुनावका बेला हामीले जनतासामु गरेको वाचा पूरा गर्नुको विकल्प छैन।'
कृषिमा आश्रित जनताको आधारभूत तहसम्म सम्बोधन गरी राष्ट्रिय पूँजी निर्माणमा गर्न सके समाजवादमा पुग्न सकिने उनको भनाई छ। पार्टी नेतृत्व पनि त्यसतर्फ जाने सोचमा रहेको संकेत देखा परेको उनको भनाई छ।