घरछेउमै पहिरो छ
दैलेख : स्थानीय सरकारले गुराँस-२ बान्द्रे पुरेनी बस्तीका १२ परिवारलाई अन्यत्र सारेको छ। पहिरो नरोकिएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। पहिरोले केही घर बगेका छन्। २४ घर उच्च जोखिममा छन्।
बाँकी परिवारलाई पनि सार्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए। सारिएका स्थानीयलाई त्रिपाल टाँगेर बसालिएको छ। गत मंगलबारदेखि पहिरो जान थालेको स्थानीय जयबहादुर वलीले बताए। यहाँका दुई घर पहिरोले लगेको छ। वलीको घर पूर्णरुपमा क्षति पुगेको छ। लालमता विकको घर पनि पहिरोले बगाएको छ। स्थानीय बासिन्दा रातभर जागै बस्ने गरेका छन्।
उपाध्यक्ष दीपा बीसीसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि बस्ती सार्ने निर्णयमा गाउँपालिका पुगेको हो। ‘करिब ५ सय मिटर माथिबाट पहिरो जान सुरु गरेको छ’, उपाध्यक्ष बीसीले भनिन्, ‘जुनसुकै समयमा यो बस्ती बग्न सक्ने र ठूलो धनजनको क्षति हुने खतरा भएकाले बस्ती सार्न थालिएको हो।’
भिरालो ठाउँमा बस्ती भएका कारण पहिरोको जोखिम रहेको अध्यक्ष वलीले बताए। विस्थापितलाई त्रिपालको अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइएको छ। एक साताभित्र दीर्घकालीन व्यवस्थापनको पहल थालिने गाउँपालिकाले जनाएको छ।