लडाकु
क्रिसमस र नयाँ वर्षको बेला दुईचार दिन छुट्टी लिएर भर्जिनियामा आफन्त भेट्न गएको थिएँ । उहाँहरूका साथीले भर्खरै घर किनेका रहेछन् । त्यही घरको ‘हाउस वार्मिङ’ पार्टीको निम्ता रहेछ । मलाई पनि सँगै जाने अवसर मिल्यो । सुदीप दाइ र दिदी त्यहाँ आएका चिनजानका मान्छेहरूसँग कुराकानी गर्न यताउति जानुभयोे । सोफामा एक्लै परेँ म । एकछिनपछि म बसेको छेउमा आएर एकजना युवक बसे । उमेर त्यस्तै चौंतीस, पैंतीस जति हुँदो हो । हातमा कोरोना बियर लिएका ती मान्छे मलाई हेर्दै मुस्कुराए । र बस्दै सोधे, ‘केही लिनु भएन ? ’
‘हैन ठीकै छ । दाइहरूसँगै लिऊँला ।’ मैले यताउति गर्दै गरेका सुदीप दाइतिर औंल्याएँ ।
ल किन कुर्नु ? खाऔं न । यस्तो चल्दैन ? भन्दै बियरको बोत्तल देखाए ।
‘चल्छ । हाँसेर जवाफ दिएँ ।’
‘उसो भए मै ल्याइदिम् ? के लिनुहुन्छ हार्ड, वाइन कि बियर ? ’
‘यही भए पनि हुन्छ’, मैले कोरोना बियर नै मगाएँ ।
सबैजना आआफ्ना तालमा रमाइरहँदा मसँग बियर पिउँदै गफगाफ गर्ने उनी भए । बिलकुल नयाँ परिवेशको नयाँ साथी । बियर लिँदै धन्यवाद दिएँ । र, हात मिलाउँदै बोलेँ, ‘म कृष्ण ।’
‘म चंै प्रवीण । अनि बसाइ यतै नजिकै ? ’
‘हैन म न्युजर्सी बस्छु । अहिले तीनचार दिन छुट्टी लिएर आफन्तकहाँ आ’को बेला पारेर उहाँहरूसँगै आएको ।’
‘न्युजर्सी कता बस्नुहुन्छ ? ’ उनको उत्सुकता बढ्यो ।
‘ट्रेन्टन । अनि हजुरचाहिँ ? ’
‘न्युयोर्क । म पनि हिजो मात्रै आ’को हो । सुवास दाइ र म एउटै गाउँका । दाइले यही पार्टीका लागि बोलाउनुभएर घुम्न निस्केको ।’
‘कैले फर्कनुहुन्छ त ? ’
‘पर्सि । बिहानको बसमा जानुपर्ला, साँझसम्म पुगिन्छ ।’
म त्यस घरमा बसुन्जेल हामी दुई जना सँगै बस्यौं । केही औपचारिक र केही अनौपचारिक कुरा भए । कामका साथै बसाइका कुरा भए । खासमा पिएको बेला गफ गर्न खास विषय पनि चाहिन्न र नजिकिन पनि सजिलो हुन्छ ।
छुट्नुअघि भनेँ, ‘म पनि पर्सि नै फर्किने हो । एक्लै छु, सँगै जाऔं न त । मेरोमा पुगेर खाजा खाएर जानुहोला । त्यहाँबाट म्यानहटन एकडेढ घण्टामा पुगिन्छ ट्रेनमा ।’
मलाई एक्लै पाँच, छ घण्टाको ड्राइभ गर्न दिक्क लागेको थियो । र, साथ खोजेर प्रस्ताव गरेको थिएँ । उनले सजिलै स्वीकारे ।
घर फर्कने दिन बिहान साढे नौ बजेतिर हाम्रोमा आइपुगे । लन्च तयार हुँदै थियो । हामी टीभी हेर्न थाल्यौं । नेपालको कुनै टेलिभिजन च्यानलमा समाचार बज्न लाग्यो, राति नौ बजेको । यता अमेरिकामा बिहानको सवा दस । समाचारमा आँखा लगाइरहेका उनको मुखाकृति एउटा समाचारले नराम्रोसँग बिगार्यो । आँसु झर्लाझैं रसिला भए उनका आँखा । हावामा मुक्का हान्दै आक्रोश पोखे, ‘थुक्क ! यही दिन देख्न थियो हाम्रो त्यो त्याग ? ’
उनलाई यसरी उद्वेलित बनाउने समाचार यस्तो थियो-
‘पूर्व लडाकुद्वारा गृहमन्त्रीकै अगाडि आत्महत्याको प्रयास ।’ समाचारअनुसार कमरेड ज्वाला भनिने हर्कबहादुर दर्जी दसवर्षे विद्रोहका क्रममा लडाकुका रूपमा सक्रिय थिए । सरकार र तत्कालीन विद्रोहीबीचको शान्तिवार्तापछि सेना समायोजनमा अयोग्य ठहरिएर बाहिरिएका थिए, जसको शरीरमा युद्घकालीन गोली र बमका छर्रा बाँकी नै छ । आफ्नो ऊर्जाशील दिनहरू युद्घ र शिविरमा बिताएर रित्तो हात फर्केका उनलाई हातमुख जोर्नकै निम्ति धौधौ पर्छ । उपचार खर्चको अभावमा छट्पटिएका उनी आफ्ना पूर्वकमान्डरहरू तथा नेताहरूकहाँ हारगुहारका लागि धाउँछन् । जाँदा हिजो जसको एक आदेशमा लडे, उसैले चिनेन । बिलौना सुनेन । जसले देखाएको सपनामा लागेर प्राणको आहुति दिन तयार भए, उही आज अर्कै वर्गको भइसकेछ । एकातिर शरीरभित्र छिरेको गोली लिएर बाँच्नुपर्ने शारीरिक अवस्था, अर्कोतिर उपचार खर्चको जोहो गर्न पटकपटक आफ्ना नेताहरूलाई भेट्न जाँदा सहयोगभन्दा पनि पाएको अवहेलना र उपेक्षा । यसरी शरीरको चोटका साथै मानसिक चोट सहन नसकेर गृहमन्त्रीकै अगाडि विष पिएका रहेछन् ।
हिजो जसको एक आदेशमा लडे, उसैले चिनेन । जसले देखाएको सपनामा लागेर प्राणको आहुति दिन तयार भए, उही आज अर्कै भइसकेछ ।
जो कसैको पनि ज्यानमा काँडा उमार्ने खबर थियो, त्यो । मलाई भित्रैबाट बिझायो समाचारले । तर मलाई प्रवीणको प्रतिक्रियाले जिज्ञासु बनायो अलि बढी । सोधेँ, ‘तपाईं त समाचार सुनेर साह्रै विक्षिप्त हुनुभयो नि ।’
‘यस्तो विडम्बना हेर्न र सुन्न पर्दा तपाईंलाई दुःख लाग्दैन र ? ’ उत्तर दिनुभन्दा प्रतिप्रश्न गरे उनले ।
‘मलाई पनि साह्रै नराम्रो लाग्यो समाचार सुन्दा । किन दुःख नलाग्नु र ? जस्तोसुकै कठोर मान्छेलाई हल्लाउँछ । तर तपाईं बढी नै छोइनु भो । तपाईंमा पीडाले जन्माएको आक्रोश महसुस भयो र केही विशेष कारण छ कि भनेर सोधेको ।’
‘उम्, ती मैले चिनेका भाइ हुन् ।’
हामी कुरा गर्दै गर्दा दिदीले खान तयार गरेर बोलाउनु भयो । खाना खाँदै गर्दा नेपालको समसामयिक घटनाबारे कुरा भए । भर्खरैको समाचारले हामीलाई नेपालै पुर्यायो । मनमनै मैले बाटोमा ज्वालाको विषयमा उनीसँग कुरा गर्ने सोच बनाएँ ।
खाना खाएर हामी बिदावारी भएर निस्कियौं । यात्रा सुरु गरेको एक घण्टा भर्जिनिया आउँदा र यता बस्दाका कुराहरू भए । त्यसपछि कुरा पुग्यो, त्यही समाचारमा । सोधेँ, ‘कसरी चिन्नु भो ज्वालालाई ? ’
‘संसारै कत्रो पो छ र सर नचिन्न । समय बिताउने क्रममा यसै चिनिने रहेछ । जस्तो हाम्रो चिनजान हुन कुनै खास कारण चाहियो र ? ’ उनी सकेसम्म कुरा टार्न खोज्दै थिए ।
मैले उनीसँग कुरा धुत्न नसकेपछि फेरि प्रश्न गरेँ, ‘अघि समाचार हेर्दै गर्दा हाम्रो त्याग भन्दै हुनुहुन्थ्यो नि त त्यसैले ।’
बल्ल मुख खोले, ‘त्यो भाइलाई मैले अस्थायी शिविरमा हुँदा चिनेको । मैले त्यहीँ हुँदा थाहा पाएको, ती भाइ रुकुमको खारा चौकी आक्रमणमा सहभागी भएका रहेछन् । आक्रमणमा चौकी घेरिएको अन्तिम घेरा तोड्ने क्रममा प्रहरीले फालेको छर्रा र गोली एकैसाथ आएपछि घाइते भएका उनलाई साथीहरूले डोकामा बोकेर उपचार शिविरसम्म ल्याएछन् । ढाडको पछाडिपट्टि विभिन्न भागमा गोलीले प्वाल पारेको थियो रे । माओवादीको चिकित्सकीय टोलीबाट उनको उपचार सम्भव भएन । भूमिगत बाटोबाट दिल्लीसम्म पुगेर उपचार गर्दा उनी बाँच्न त बाँचे, तर शरीरभित्र छिरेका केही गोली निकालिएको थिएन । त्यसका लागि उपचार खर्च प्रशस्त चाहिन्छ भन्ने सुनेको थिएँ ।’
‘ओहो ! तपाईं ? भनेपछि युद्घमा हुनुहुन्थ्यो ? ’
‘हजुर कथा लामै छ ।’
उनी खिन्न देखिए ।
उनले मुख्य कुरा सुरु गर्दा हामी वासिङ्टन डीसी क्षेत्र प्रवेश गर्यौं । बाहिरपट्टि ह्वाइट हाउस नजिकैको १६९ मिटर अग्लो वासिङ्टन स्मारक देखियो । एकछिन टोलाउँदै बाहिर हेरँे । उनले चुपचाप बाहिर हेर्न थालेपछि केही बेर म पनि बोलिनँ । डीसी क्षेत्र आँखाबाट ओझेल परेपछि पुन बोल्न लागे, ‘मलाई यहाँ आऊँला र बसौंला भन्ने कुनै रहर थिएन । समयको हुरीले कहाँ उडाएर ल्यायो ।
यस्तै हो जीवन भन्नु नै । सोचेजस्तो मात्र कहाँ हुन्छ र ? जे खान्नँ भन्यो त्यही खानुपर्ने, जहाँ जान्न भन्यो त्यहीँ जानुपर्ने । मैले सहानुभूति पोखेँ ।
त्यही रहेछ । हैन भने ‘अमेरिकी साम्राज्य मुर्दावाद’ भन्दै नारा लेख्दै र भाषण गर्दै हिँड्ने म यहाँ किन आउँथेँ होला र शरणार्थीको रूपमा ?
अँ साँच्चै कसरी आउनुभो अमेरिका ?
मेरो कहानी सुन्ने नै हुनु भो हैन त ? एउटा उदासी हाँसो हाँसेर सोधे ।
तपाईंलाई अप्ठेरो पर्दैन भने मात्र । मैले सहज बनाइदिएँ ।
अब केको अप्ठेरो र ? जीवनमा सबै दुःख झेलिसकेँ । मृत्युको मुखबाट दुई पटक उम्केर आएको मान्छे हुँ ।
दुईपल्ट ? मेरो आँखाको आकार बढ्यो ।
हो, एकपल्ट युद्घमा र अर्कोपल्ट अमेरिका छिर्दा ।
‘त्यसरी पनि बाँचिँदो रहेछ भनेर म आफैं चकित छु । त्यो भिन्डतमा आपूm ढलेको स्थिति सपना हो या अहिले यो अमेरिकाको बसाइ सपनाको दृश्य हो ? छुट्याउन असमर्थ छु ।’
मेरो कारको पांग्रा घुमेझैं उनको दिमाग पूर्वस्मृतिमा घुम्दै थियो । म सल्यानको मान्छे देशमा भएको दसवर्षे लामो सशस्त्र विद्रोहको प्रभाव राम्रैसँग परेको ठाउँ । त्यति बेला सोह्रसत्र वर्षे लक्का जवान थिएँ । यता घरको दयनीय आर्थिक स्थिति, पढाइका लागि त के ? एक छाक खानाकै लागि पनि धौधौ पर्ने । उता यिनै गरिबहरूको वर्ग उत्थानका लागि भइरहेको विद्रोह । अन्यायमा परेका जनताको मुक्तिको कुरा थियो । धनी र गरिबबीचको रेखा मेटिनेछ । लिंग र जातका आधारमा हुने भेदभाव अन्त्य हुनेछ । यस्तो सपना देखेर आन्दोलनप्रति आकृष्ट भैयो र समाहित भएँ- मुक्ति मोर्चामा ।
लडाइँको क्रममा छोटै समयावधिमा धैरै अनुभूति सँगाल्ने अवसर पाएँ । थुप्रै उतारचढावको प्रत्यक्ष अनुभव गरियो ।
२०६१ सालको घटना । चितवन जिल्लाको पहाडी भेग । सडकभन्दा धैरै माथि डाँडो । करिब दुई सय जनाको सहभागितामा युद्धसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । तीमध्ये एक सहभागी थिएँ म पनि ।
प्रशिक्षण शिविरलाई जनमुक्ति सेनाको दुई घेराले सुरक्षा दिइरहेका । साथै तीन, चार सय मिटरको फरकमा सूचना प्रवाहको निमित्त केहीलाई खटाइएको पनि थियो । पाँचदिने प्रशिक्षणको अन्तिम दिन सबैमा एउटा छुट्टै स्फूर्ति जागेको थियो । युद्घ कसरी गर्ने ? शत्रुमाथि कसरी विजय हासिल गर्ने ? जस्ता युद्घकलाको सूक्ष्म अध्ययनले सबैमा एउटा उत्साहजनक भाव सञ्चार भएको महसुस हुन्थ्यो । दिउँसो करिब तीन चार बजेतिर आकाश क्रमशः धमिलियो । वातावरण अलि असहज बन्दै गयो । छिनमा घनघोर वर्षा होलाझैं हुने, छिनमा चर्को घाम, यस्तै यस्तै । छुट्नुअघि सामूहिक भोजनका लागि तयारी हुँदै थियो । यहीबीच एक्कासि तलबाट खबर आयो, ‘कमरेड हाम्रो शिविरमा दुश्मनका सेनाहरू हमलाका निमित्त आएका छन्, बस्दोबस्त गर्नुहोला ।’ खबर संवाहन गर्ने कमरेड उज्ज्वल थिए । दुश्मनका सेनाले आपूmहरू यहाँ रहेको जानकारी पाएर आक्रमणका लागि आएको खबर गरेका कमरेड उज्ज्वल माथिबाट कमान्डरको उत्तरको पर्खाइमा थिए ।
‘भर्खरै मात्र हामीले युद्घकलाको अध्ययन सक्यौं । यो त्यही ज्ञान प्रयोग गर्ने अवसर पनि हो । यसलाई यहीँ प्रयोग गरौं कमरेड आखिर विजय हाम्रै हुनेछ भने किन भाग्ने ? ’ कमरेड समरको प्रस्तावलाई सबैले समर्थन गरे ।
उनीहरू सबैको राय बुझेर भाग्ने र सुरक्षित रहने समय हुँदाहुँदै पनि कमान्डर विशालले दुश्मनसँग भिड्ने तयारी गर्न खबर गर्नुभयो । केही दूरीको फरक बनाई तीन घेरा मारेर युद्घ लड्न हाम्रो विद्रोही सेना आक्रमणको तयारीमा रह्यो । विडम्बना ! सरकारी सेनाले हामीले सोचेभन्दा भिन्न दिशाबाट आक्रमण गर्यो ।
आपूmले तयारी गरेको भन्दा विपरीत दिशाबाट आक्रमण भएपछि आखिरीमा केही समयको अन्योलपछि पूर्ण रूपले सहज स्थितिमा आयौं । दोहोरो भिडन्त खुबै चल्यो । मकै भुटेझैं अन्धाधुन्ध गोली चलेका छन् भटटट...ट । भिन्डतका क्रममा लासहरू थपिँदै गएका छन् । गुलेलीले ढुकुर खसाल्दा सिकारी कराएझैं आवाज आउँछ । साले ठोक् ऊ... त्यो ढुंगाको कापमा लुकेको छ एउटा हान ग्रिनेटको छर्रा । लाग्यो लाग्यो । उ ढल्यो, ए ! ढुंगा बर्साओ माथिबाट ढुंगा ! यस्तै यस्तै आवाज मात्र गुञ्जिरह्यो ।
उनी एकोहोरो बोल्दै थिए । म उनको कुरा सुन्दै ड्राइभ गर्दै थिएँ । बाल्टिमोर पुगेपछि हातको बाहुलाको सर्ट माथिसम्म सारेर पाखुराको प्वाल देखाउँदै बोले, ‘हेर्नुस्, त्यही बेलाको चिनो हो यो ।’
यसो भन्दै गर्दा उनी एकदमै भावुक देखिन्थे । म केही बोल्नुअघि सर्टको बाहुला तल सार्दै नोस्टाल्जिक लयमा पुन त्यही घटना सुनाउन थाले, ‘लौ दुस्मनको अर्को टुकडी पनि आइपुग्योे रे कमरेड उज्ज्वलले खबर गरे । अब भने हाम्रो बढी क्षति हुनसक्छ, त्यसैले भागौं कमरेडरू, कमरेड विशालको यो वाक्यलाई पछ्याउँदै सबै आआफ्ना सामानसहित बाटो तताउन सुरु गरे । गोली बर्सिरहेछ । पटटट...! बम पड्किरहेछ सिंगो पहाड नै थर्किने गरी चट्याङ खसेझैं । लगातार बर्सेको गोलीको छर्रा एक्कासि पाखुरामा लाग्दा खत्रक्क ढलेँ म । पछि शरीरका अन्य भागमा पनि एकदुई गोली थपियो । सबै साथी भाग्दै थिए । म दुस्मनको घेरो तोड्न सक्ने स्थितिमा थिइनँ । जता हेर्यो परैसम्म विपक्षी सेना मात्र देखेँ । आफ्ना पक्षका त उही शहादत प्राप्त सहिदहरू कमरेड प्रभात, कमरेड ज्योति, कमरेड कञ्चन र कमरेड निरोधका लडिरहेका लासहरू मात्र ।’
यो लडाइँमा शत्रु पक्षका दस र आफ्ना पक्षका चार जनाको हताहत भएको रहेछ । घाइतेको स्थितिबारे राम्रो जानकारी थिएन आपूmबाहेक । भलभली रगत बगिरहेको र मुढोझैं लडेको मेरो शरीर देखेर लास बटुल्न हिँडेका विपक्षी सेनाले टाढैबाट कर्कश आवाजमा अर्कालाई निर्देशन गर्दै भन्यो, ‘ओइ के हेरेर बस्छस्, उ त्यहाँ यौटा साले जिउँदै छ । हान् गोली र उडाइदे त्यसको प्राण पखेरु ।’
‘तपाईंलाई त्यो आवाज सुन्दा डर लागेन ? ’ उनलाई बीचमै रोकेँ ।
अहँ !
‘हो र ? त्यस्तो पनि हुन्छ ? ’ मैले अचम्म मानेर सोधेँ ।
‘हुने रहेछ, बलिदानी गर्न हिँडेको हुँ । म हैन हामी जित्नुपर्छ भन्ने भएपछि ।’
‘के सोच्नुभयो त्यति बेला ? ’
सोचेँ, म त मरेँ । तर, यो युद्घ सेलाउने छैन । हाम्रा कयौं सहिदको सपना तुहिने छैन । एक दिन विजय हाम्रै हुनेछ । जनमुक्ति सेनाकै जित हुनेछ । मलाई म मर्दै छु भन्ने निश्चित थियो तैपनि गौरवान्वित थिएँ कि म गरिब र शोषितपीडित जनताको पक्षमा लडेँ । आज मर्दै छु तर पनि मलाई मृत्युको कुनै पर्वाह छैन, आखिर मैले छोटो जीवन पनि सार्थक नै बिताएको छु ।’ यस्तै यस्तै अनेकन कुरा मनमा खेलाउँदै अन्ततः तमाम सहिदलाई सम्झेँ र आँखा चिम्लेर मृत्युवरणको लागि पूर्ण रूपले तयार भएँ । ड्याङ... ड्याङ... पालैपालो दुई पटक गोली चलेको आवाज आयो । भाग्य नै मान्नुपर्छ, दर्के पानी परिरहेको साँझको समयमा राम्ररी निशाना लगाउन कठिन भएर होला, ती दुवै गोली मेरो कोखा र पाखुराको बीचबाट सर्टको छेउ छेडेर बाहिरिए । दुश्मनहरूले दुवै गोली मेरो पेटमा लागेको ठानेर भने, ‘बल्ल मर्यो साले, खुब क्रान्ति गर्ने भएको हैन ? गरिस् क्रान्ति । अब जाऔं लासहरू बटुलेर गाड्न ।’
उनीहरू सबैजना धेरै नै पर पुगेको आभास पाएर एकपल्ट टाउको उठाउन खोजेँ, सकिनँ । एकछिन अघिसम्म कोलाहल मच्चेको यो युद्घभूमि अब सुनसान भइसकेको थियो । त्यो झमक्क परेको अँध्यारो साँझमा तल पुछारमा त्रिशूलीको छङ छङ आवाजबाहेक अरू केही सुनिएन । जिउँदै गाडिनबाट बच्न केही बेर आँखा घुमाएर एउटा सुरक्षित स्थान खोजेँ । अलि पर गाउँ त छ तर उठेर जाने बल आएन । फेरि दुस्मनहरू पनि बाटैमा होलान् भन्ने सोचेर गाउँसम्म जाने साहस गरिनँ । त्यसपछि नजिकैको ऐँसेलु घारीमा चार हात पाउ घसारेर पुगेँ र कुनै हलचल नगरी पसारिएँ । बेलुकी आठ बजेतिर हुनुपर्छ, चुक घोप्ट्याएझैं अन्धकारमा दुस्मनहरू पुनः लास बटुल्दै गाड्दै त्यहीँ नजिकै आइपुगे ।
ओइ खै त यहाँको लास ?
यौटा थियो त यहीँ, एकजना बोल्यो ।
मर्न त मरेको थियो नि हैन ? कि भाग्यो ? अर्काले शंका गर्यो ।
किन नमर्नु भन्या, अझ पछि पनि दुई राउन्ड गोली हानेर हिँडेको हैन हामी ? पहिलोले प्रस्ट्याउँदै जवाफ दियो । केही बेर उनीहरू एकआपसमै गलफत्ती गरिरहे । यी सारा कुरा सुनेर म सास रोकेर कुनै अचल वस्तुझैं रहेँ ।
ए हिँड् केको गलफत्ती गरिरा ? अघिल्लो टोलीले लग्यो होला त्यसलार्ई । अर्काेले झर्केर आदेश दियो र हिँडे तिनीहरू । बल्ल मेरो सास आयो, अब भने पूर्ण रूपमा विश्वास भयो आपूm बचेँ भन्नेमा । मृत्युलाई जितियो एकपल्ट । दोस्रो जुनी पाएँ मैले । आपूm मरेको प्रत्यक्ष अनुभव गरेर पनि जीवितै रहँदा ममा नौलो जोश आयो । र, यही जोश सँगालेर रातको त्यस्तै करिब दस बजेतिर बिस्तारै कछुवा गतिमा छामछाम छुमछुम गर्दै नजिकैको घरमा पुगेँ । कुनै हल्लीखल्ली हुन नदिन त्यही घरको मान्छेलाई समेत सुइँको नदिई घरबाहिरकै बाख्राको खोरमा आफ्नो रगतपक्ष शरीरलाई बिसाएँ ।
भोलिपल्ट बिहानै भित्रको बाख्रा बाहिर खोरमा राख्न आइन् बुहारी । रगतले भिजेको, शरीरभरि लडेका नीलडाम बोकेको युवकलाई देख्दा आश्चर्यचकित भइन् । भयभीत हुँदै उनले सबैलाई बोलाइन् । हल्लाखल्ला नगर्न अनुरोध गर्दै हिजो बेलुकीको घटनामा आपूm जोगिएर यहाँसम्म आइपुगेको सम्पूर्ण कहानी सुनाएँ । त्यसपछि तिनै घरभेटीले मलाई दस दिनसम्म घरको बुइँगलमा लुकाएर घरेलु उपचार गरी केही हदसम्म निको बनाएर पार्टीको जिम्मा लगाए ।
उनको डरलाग्दो कहानी सुनेर मेरो मुखबाट एक्कासि निस्कियो, ‘ओ माई गड ! सिनेमा हेरेझैं बनाउनुभयो ।’
उनले लामो सुस्केरा छोडे र भने, ‘हजुर जीवन दुःखान्त सिनेमाझैं भो । अहिले लाग्छ, त्यही बेलामा नै म मरेको भए राम्रो हुने रै’छ ।’
लौ त्यस्तोचाहिँ किन नि फेरि ? बाँचेर आज यी यसरी संसार डुल्दै हुनुहुन्छ ।
कुरा त्यस्तो हैन, जुन सपनाले लडियो, खै कहाँ के पूरा भयो त ?
संसार बदल्न हिँडेका मेरा नेताहरू आफैं बदलिए । आफ्नो वर्ग बिर्सिए । हेर्नुभएन अघिको समाचार ? किन आयो यो स्थिति ? कम्तीमा त्यही बेला मरेको थिएँ भने आज यसरी धिक्कार मान्नुपर्ने दिन त देख्नुपर्ने थिएन । हिजो देख्दा श्रद्घाले शिर निहुरिने नेताहरूको यो विकृत रूप देखेर घृणा गर्नुपर्ने थिएन ।
तपाईंहरूले पनि देख्नुभएकै छ, शान्ति प्रक्रियामा आएपछि हिजो लडाइँको नेतृत्व गर्नेहरू सत्तामा पुगे । उनीहरूको वर्ग परिवर्तन भयो । नेताहरू दलालहरूको घेरामा रमाउन थाले । हिजो जुन वर्गविरुद्ध बन्दुक उठाइयो, आज उनीहरू नजिक र हामीजस्ता टाढा हुने स्थिति छ । मजस्तै सर्वहाराको मुक्तिका लागि लड्नेहरू, अझै पनि दुःखमा पिल्सिरहेका छन् ।
उनीहरूको चित्कार सुनिन छाडेको छ । यसैले निरस बनायो । जीवनको एकदम ऊर्जाशील समय लड्न र शिविरमा बित्यो । आफूलाई सपना देखाउने पार्टी र नेताको चाला देखेर विरक्तिएर धेरै लडाकु साथी खाडी भासिए । सबैतिरको आशा भत्किएपछि र आफूले देखेको सपना आफ्नै लागि ऐँठन बनेपछि म पनि देश छोडेर आ’को हुँ । आफूले त अब केही गर्न नसकिएला तर सन्तानको सुखसुविधाका लागि भए पनि एकपटक जोखिम त लिनैपर्छ जस्तो लाग्यो । त्यसैले पाइलापाइलामा मृत्युसँग खेल्दै आएँ ।
एउटा दलाललाई ऋण गरेर चालीस लाख बुझाएर तल्लो बाटो हुँदै आठ महिनामा अमेरिका आइपुगेको ।
प्रवीणको जीवनकथा सुन्दै गर्दा म पनि त्यहीँ कतै हराएछु । इन्जिनियरिङ पढ्दापढ्दै भूमिगत भएको साथी रमेशको सम्झना आयो । घरिघरि दुबईबाट खबर सोधेर फेसबुकमा म्यासेज गर्ने साथीको पीडा पनि यस्तै होलाझैं लाग्यो । केही बोल्न सकिनँ । आँखा टिलपिल भए । सजल मेरा यी नयनमा घरिघरि तीन पात्र घुमिरहे- ज्वाला, प्रवीण र रमेश ।