स्कुल विभागको विवादले नेकपा सचिवालय बैठक तेस्रोपटक स्थगित
काठमाडौं : पार्टी स्कुल विभागको नेतृत्वमा सहमति नजुटेपछि आइतबार बस्ने भनिएको नेकपा बैठक फेरि सरेको छ। अर्को बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
'दुई अध्यक्षले गृहकार्य नपुगेको भनेपछि बैठक सारिएको हो', श्रेष्ठले भने। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान पनि बालुवाटारमा छलफल भएको थियो। उनीहरू शनिबार बिहान पनि छलफलमै थिए।
केन्द्रमा रहने ३२ विभाग, २२ जनवर्गीय संगठन र एउटा प्रतिष्ठानको जिम्मेवारी आइतबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने तय भएको थियो। यसअघि पनि स्कुल विभागको नेतृत्वमा विवाद देखिएपछि सचिवालय बैठक दुई पटकसम्म स्थगित भएको थियो।
स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यस्तै, स्थायी समितिबाट घनश्याम भुसाल र वेदुराम भुसालले पनि आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
स्कुल विभागको नेतृत्वलाई लिएर तत्कालीन एमाले तर्फका ओली पक्ष र तत्कालीन माओवादी पक्षका बीचमा आआफ्नो समूहका नेतालाई नेतृत्व दिलाउन रस्साकस्सी चलेपछि सचिवालय बैठक तेस्रोपटक प्रभावित भएको हो। पढ्नुस्ः नेकपाको 'स्कुल' मा किन अड्कियो भागबन्डा ?
‘अहिलेसम्म कसलाई जिम्मेवारी दिने भन्ने त टुंगो लागेको छैन', सचिवालयका एक सदस्यले भने, ‘सकभर श्रेष्ठ र पोखरेलबाटै सहमति खोजिन्छ, त्यसो नभए झलनाथ खनाललाई दिने हुन पनि सक्छ, त्यसमा पनि सहमति नजुटे अध्यक्षद्वयले नै नेतृत्व लिने गरी टुंगो लाग्न सक्छ।’
नेकपामा स्कुल विवादमा विवाद देखिए पनि अन्य विभागको नेतृत्वमा भने खास समस्या देखिएको छैन । संगठन विभागमा वामदेव गौतम, विदेश मामिलामा माधव नेपाललाई जिम्मा दिने तयारी छ।
तर स्कुल विभागको नेतृत्वमा दाबी गरिरहेका सचिवालय सदस्य घनश्याम भुषालले अध्यक्षद्वयले विभागको नेतृत्व लिनु गलत भन्दै विरोध गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताएका हुन्।
‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्यस्तो भयो भने म भन्छु- यो सबै भन्दा कमजोर सामधान हो', उनले भने, 'यसले स्कुल विभागलाई चलाउने होइन अझ सुसुप्त बनाउने काम मात्र गर्छ।'
३२ विभाग र एउटा प्रतिष्ठानमध्ये स्कुलिङ विभागबाहेक १८ विभागको नेतृत्व तत्कालीन एमाले र १४ विभागको नेतृत्व तत्कालीन माओवादी तर्फका नेताले जिम्मेवारी लिने गरी भागबन्डाको सहमति छ।
के गर्छ स्कुल विभागले ?
स्कुल विभागले पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिन्छ। नेकपाको नियमावलीमा विभागका मुख्य ७ ओटा काम तोकिएका छन्।
पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने काम विभागको हुनेछ। पढ्नुस्ः स्कुल विभागमा आकर्षण किन ?
त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभागको हुन्छ।