लोकलय फ्युजन गरेर र्‍याप

लोकलय फ्युजन गरेर र्‍याप

काठमाडौं : कञ्चनपुरका राजेन्द्र भट्ट मिस्टर आरजेको नामबाट चर्चित छन्। उनले लोकलयलाई र्‍यापमा फ्युजन गरेर उनले नयाँ मेलोडीको प्रयोग गरे नेपाली संगीतमा। उनको प्रयोग दर्शकले मन पराए। लोक र र्‍याप लयको फ्युजनमा गजबको डान्सिङ गीत तयार भयो।

यति यति पानी, मायाको चक्काजाम, नौटंकी माया, पिच गर्दिन्छु रोड, ओई भुन्टीजस्ता सुपरहिट गीतमा उनकै संगीत, शब्द र र्‍याप पनि मिसिएको छ। पछिल्लो समय उनका गीतले करोडौं भ्यु कमाएका छन्। उनको माग पनि बढ्दो छ। नामसँगै दाम पनि कमाउने र्‍यापरमा पर्छन् उनी।

स्थानीय स्तरमा पत्रकारितामा रमाइरहेका थिए मिस्टर आरजे। रेडियोमा बोल्थे, पत्रिकामा लेख्थे। जिन्दगी ठीकठाक चलिरहेको थियो। सानेदेखि गीतसंगीतमा भुतुक्क हुने आरजे स्थानीयस्तरको पत्रकारितामा कमाएको नामले चित्त बुझाउन सकेनन्। पत्रकारितामा नाम र चार्म त थियो तर पैसा कमाइने सुरक्षित पेसा बनिसकेको थिएन।

उनको गाउँमा उनीभन्दा पहिले रेडियोमा बोल्ने कोही पनि थिएनन्। सबै साथीले आरजे भनेर चिन्थे। आफूले लेखेका गीत हिट हुन लागेपछि साथीहरूले दिएको उपनाम आरजेलाई मिस्टर थपेर मिस्टर आरजे नाम जुराए। यही नाम नै उनको विशेष परिचय बन्यो।

अहिले यो नामको फरक परिचय बनेको छ। झुस्स दाह्री पालेको दुब्लो शरीरमा लामो कपाल, निकै जोसिएर र्‍याप गाउने। स्टेज कार्यक्रममा उफ्री उफ्री नाच्ने। डान्सिङ सङको बीचबीचमा र्‍याप भट्याउने युवक। उनले पैसा कमाउन विदेश जाने सोच पनि बनाए। कञ्चनपुरको बसाइ छोड्दै काठमाडांै हान्निए दुबई जाने प्रोसेस चाल्न।

कञ्चनपुरमा हुँदा नै कहिलेकाहीँ काठमाडांै आउने, गीत रेकर्ड गर्ने गर्थे उनी। विदेश जाने प्रोसेस पनि गर्दै थिए, कहिले के नमिल्ने कहिले के नहुने, भिसा आएन। गीत गजल र कविताका पारखी आरजे भिसा पर्खंदै गर्दा केही गीत लेख्ने र रेकर्ड गराउने पनि गर्दै थिए।

यसबीचमा उनले लेखेर कम्पोज गरेका गीत श्रोताको रोजाइमा पर्न थाले। चार वर्ष पहिले जब ‘नाच मैयाँ नाच विन्दास भएर’ बोलको गीत बजारमा आयो उनको चर्चा चुलियो। कुना कन्दरामा यो गीत बज्न थाल्यो। टिन एजको जमातमा उनको गीत धेरै रुचाइए। बूढादेखि बच्चासम्म उनका फ्यान बने।

अहिलेसम्म करिब तीन सय ५० जति गीतको लिरिक र कम्पोज गरिसकेका छन् उनले। सेन्टिमेन्टल आधुनिक गीत पनि उनको रोजाइमा पर्छन्। बाहुनले गीत गाउन, नाच्न हुँदैन भन्ने परिवारबाट आएका आरजे अहिले संगीतमै बेग्लै धुन सिर्जना गरिरहेका छन्। मिस्टर आर जे, भन्ने सिग्नेचर टोन नै फरक छ उनको। गीतमा र्‍याप हानिरहेका हुन्छन्, गीतको बीचमा कतैे मिस्टर आरजे भन्ने धुन बजिरहेको सुुन्न सकिन्छ।

नेपालमा चलिरहेको वेस्टर्न टाइपको र्‍यापभन्दा फरक छ उनको र्‍याप। नेपालमा अन्य र्‍यापरले गाउने र्‍यापको ओरिजिन हिपअप हो। तर आरजेले गाउने र्‍यापको ओरिजिन लोक बेस हो। उनको शैली कोरस टाइपको पनि छैन, पूरा र्‍याप टाइपको पनि छैन। आरजेको फरक खालको र्‍याप र लिरिक श्रोताले मन पराइदिए।

गीत लेख्ने, कम्पोज गर्ने काम उनलाई पर्दा पछाडिको जस्तो लाग्थ्यो। उनलाई केही फरक टेस्ट दिनु थियो। भिडियोमा अभिनय गर्ने, आफंै गीत गाउने रहर थियो उनको। तर गीत गाएरै टिक्न आफ्नो स्वर पुग्दैन भन्ने पनि पत्तो पाएका थिए उनले। लोकगीतलाई फ्युजन गरेर डिजे फ्लेबरका गीत नेपालमा प्रयोगमा नै थिएनन्। उनलाई यही शैलीमा काम गर्ने रहर लाग्यो।

नेपालमा र्‍याप सिक्ने ठाउँ पनि छैन, गुरु पनि कोही थिएनन्। आरजेले पञ्जाबी र्‍यापरको फलो गर्ने, हनी सिंह, बादशाह, रफ्तारजस्ता र्‍यापरलाई सुने। पञ्जाबीमा र्‍यापलाई डिजे टाइपमा प्रस्तुत गरिन्छ। करिब एक डेढ वर्ष त उनले पञ्जाबी र्‍याप सिक्नमै खर्चिए। यसपछि चक्काजाम गर्दिन्छु मायाको बोलको गीत बजारमा ल्याए। यो गीतबाट आएको प्रतिक्रियाले उनलाई उत्साहित बनायो।

केही महिनाअघि बजारमा आएको कम्मरको ट्याटु बोलको गीतमा अल्मोडाले स्वर दिएका छन्। सात वर्षअघि बाजुको ट्याटु बोलको गीत रिमेक गरेर कम्मरको ट्याटु बनाइएको थियो। गीतले लोकप्रियता कमायो। उनलाई लाग्यो, मान्छे जस्तोसुकै अवस्थामा पनि रमाउन खोज्ने रहेछ। रुन चाहन्न, रमाइलो गर्न चाहने हरेछ भन्ने लाग्यो।

गुरु चण्डीप्रसाद काफ्लेसँग उनले केही समय संगीत पनि सिके। तर काफ्लेले सिकाउने शास्त्रीय संगीतले उनलाई तानेन्। यसो भनौ आरजेको आवाजमा झुन्डिेने पश्चिमेली लोक र्‍याप काफ्लेको विद्यालयमा अटाएन। उनले आफंै सिक्न छाडे।

वेस्टर्न होस् या इस्टर्न प्रायजसो र्‍याप बुझिदैनन् तर आरजेले गाउने र्‍यापका शब्द मजाले बुझ्न सकिन्छ। यो उनको विशेषता हो। सामान्य शब्द, स्लो बेसमा बोलीचालीकै भाषलाई उनले नाच्न मिल्ने गीत निर्माण गरिरहेका छन्।

गीत गाउन देशका धेरैजसो ठाउँ र विदेशसमेत पुगेका छन् उनी। पछिल्लो समय देउडा गीतलाई पनि लोकमा फ्युजन गरेर नयाँ भाका निकाल्ने योजनामा छन् उनी। धौलीको बिहे, चुइगम पड्काउन्या दारु सड्काउन्या जस्ता डोटेली भाका फ्युजन गरेर गीत निकालेका छन्।

उनले र्‍याप गाउने गीत प्रायः आफंैले लेख्छन् र आफैं कम्पोज गर्छन्। आफूले लेखेको गीतको मर्म अन्यले बुझ्छन् जस्तो लाग्दैन उनलाई। उनले आधुनिक गीत पनि रचना गरेका छन्। अघिल्लो महिना सुनका बाला बोलको गीत बजारमा ल्याएका थिए। उनी कसैसँग बोलिरहँदा होस् या कतै हिँडिरहँदा नयाँ शब्द सुने भने टपक्कै टिप्छन्। यात्रा गरिरहँदा फुरेका गीत धेरै छन् उनका। अविवाहित मिस्टर आरजेले प्रेम गर्ने फुर्सद नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.