मन्त्रीलाई निवेदन दिएपछि परीक्षा नियन्त्रक परिवर्तन
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने कार्यालयको परीक्षा नियन्त्रकमा रामराज खकुरेललाई लगिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले खकुरेललाई आइतबार नियन्त्रकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
तत्कालीन परीक्षा नियन्त्रक विष्णु अधिकारीलाई मन्त्रालयमा सरुवा गरिएको छ । उक्त कार्यालय राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको हो ।
बोर्डले कक्षा ११–१२ र एसईई छुट्टाछुट्टै रुपमा सञ्चालन गर्दै आएको छ । तर एकै कार्यालय मातहत रहेपनि ११ र १२ को परीक्षा नियन्त्रक उपसचिव स्तरको र एसईई सञ्चालन गर्ने कार्यालयको नियन्त्रक सहसचिव स्तरका थिए ।
नियन्त्रक अधिकारीले केही समयअघि आफूलाई काम गर्न असजिलो भएको भन्दै सरुवा गरेर नियन्त्रकको जिम्मेवारी अन्य कर्मचारीलाई दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा लिखित निवेदन दिएका थिए ।
नियन्त्रकको पत्रपछि मन्त्रालयमा तरंग फैलिएको थियो । खकुरेल उपसचिव हुन् । उनी शिक्षक सेवा आयोगमा कार्यरत थिए ।
खकुरेलको ठाउँमा परीक्षा बोर्डकै उपनियन्त्रक दामोदर आचार्यलाई पठाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा सरुवा भएपछि अधिकारीले भने, ‘माग गरे अनुसार भएको छ । मन्त्रालयले जे जिम्मेवारी दिन्छ त्यही काम गर्छु ।’