बाघ संरक्षणमा सफलता

बाघ संरक्षणमा सफलता

काठमाडौं : बाघ संरक्षणमा नेपालले सफलता पाएको छ। प्रतिबद्धताअनुसार सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउनुपर्नेछ। त्यो लक्ष्य हासिल गर्न अब १५ वटा बढाउनुपर्ने चुनौती देखिएको छ।

‘प्रतिबद्धता पूरा गर्न अझै तीन वर्ष बाँकी छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘सन् २०२२ को गणनामा बाघको संख्या लक्ष्यभन्दा बढी हुने अपेक्षा छ।’ वासस्थान र आहारालगायतमा ध्यान दिइएको महानिर्देशक खड्काले बताए।

१३ देशले रूसको सेन्ट पिटर्सबर्गमा सन् २०१० मा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए। नेपालले १ सय २१ बाट बढाएर २ सय ५० पुर्‍याउने लक्ष्य प्रतिबद्धता व्यक्त गरेको थियो। सन् २०१३ मा १ सय ९८ वटा पुगेको थियो। सन् २०१८ मा २ सय ३५ पुगेको छ।

विश्व बाघ तथ्यांक २०१६ अनुसार भारतमा २ हजार २ सय २६, रूसमा ४ सय ३३, इन्डोनेसियामा ३ सय ७१, मलेसियामा २ सय ५०, नेपालमा १ सय ९८, थाइल्यान्डमा १ सय ८९, बंगलादेशमा १ सय ६, भुटानमा १ सय ३, चीनमा ७, भियतनाममा ५, लाओसमा २ वटा प्राकृतिक वासस्थानमा छन्।

सन् २०१३ को गणनामा राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा ५०, चितवनमा १ सय २०, शुक्लाफाँटामा १७, बाँकेमा ४, पर्सामा ७ बाघ थिए। त्यस्तै, सन् २०१८ मा बर्दियामा ८७, चितवनमा ९३, शुक्लाफाँटामा १६, बाँकेमा २१, पर्सामा १८ पुगेको थियो। चितवनमा २७ वटा घटेका थिए। शुक्लाफाँटामा एउटा घटेको थियो। बर्दियामा ३७, बाँकेमा १७ वटा बढेका थिए।

नेपालमा बाघको संख्या १२१ बाट बढेर २३५ पुगेको छ। अब तीन वर्षमा १५ वटा बढाउनुपर्नेछ।

बाघको संख्या वृद्धिमा निरन्तर लागिरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। मुख्य आहारा चित्तल, जरायो, बँदेल, मृग संरक्षणमा विशेष ध्यान पुर्‍याइएको उनको भनाइ छ। उनका अनुसार घाँसे मैदान, पानी पोखरीसमेत हेरक वर्ष विस्तार गर्दै लगिएको छ। चितवन निकुञ्जले बाघ संरक्षणमा ‘क्याट अवार्ड’ पाइसकेको छ।

बाघको संख्या बढ्दै जाने र वासस्थान सुधार गर्न सकेन भने वनबाहिरको क्षेत्रमा जाने चुनौती हुने बाघ संरक्षणकर्मीको भनाइ छ। सोहीअनुरूप हरेक निकुञ्जले वासस्थान सुधार गर्दै आएको महानिर्देशक खड्काले बताए। बाघ अवलोकनको उपयुक्त गन्तव्यका रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज छ। कर्णाली र बबई नदीका बगर, उपत्यका, वन र घाँसे मैदान क्षेत्रमा बाघ रहेको निकुञ्जले जनाएको छ।

यसैबीच सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी विश्व बाघ दिवस मनाइँदै छ। हरेक वर्षको जुलाई २९ मा यो दिवस मनाउने चलन छ। ‘पर्यटन प्रवद्र्धन गर्न बाघ संरक्षण’ भन्ने नाराका साथ सबै निकुञ्जले कार्यक्रम आयोजना गरेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले बताए। उनका अनुसार राष्ट्रियस्तरको कार्यक्रम बाँकेमा मनाउने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.