अफिम नियन्त्रणको अपूरो अभियान
देशका विभिन्न भूभागमा प्रतिबन्धित अफिम खेती मौलाउँदो छ। ब्राउन सुगर बनाउन प्रयोग गरिने यो वनस्पतिले धेरै नेपालीलाई लागूपदार्थ दुर्व्यसनको सिकार बनाइरहेको छ। युवालाई कुलतमा फसाइरहेको छ। यही कुलत र दुर्व्यसनीका कारण हजारौं युवाको भविष्य जोखिममा परेको छ। अवैध हुँदाहुँदै पनि मुलुकका विभिन्न ठाउँमा यसको प्रशस्त खेती हुने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकले स्पष्ट पार्छ। कानुनले रोके पनि किन भइरहेको छ त यस्ता सामग्रीको व्यापार ? यसमा गम्भीर भएर सरकारी निकायले सोच्न सकेको छैन। मात्र नियन्त्रणका नाममा हरेक वर्ष अफिम खेती भएका जग्गा खोज्दै नष्ट गर्ने अपूरो अभियान नेपाल प्रहरीले सञ्चालन गरिरहेको छ।
प्रहरीको तथ्यांक हेर्ने हो भने मकवानपुरमा सबैभन्दा धेरै अफिम खेती भएको देखिन्छ। ब्युरोका अनुसार दुई वर्षमा मकवानपुरबाट मात्र ६१ बिघाभन्दा धेरै जमिनमा लगाइएको अफिम नष्ट गरिएको छ। दुई वर्षको अवधिमा मुलुकभर एक सय दुई बिघा १७ कट्टा जग्गामा लगाइएको अफिम नष्ट गरिएको छ। प्रहरीले केही जिल्लामा पुगेर अफिम खेती नष्ट गरे पनि सबै जिल्लामा पुग्न सकेको छैन। यसको स्वयं प्रहरीले पनि स्विकारेको छ। कानुनले अवैध ठानेको सामग्रीको खुलमखुला खेती भइरहे पनि त्यस्तो ठाउँमा किन पुग्न सकेको छैन त प्रहरी ? व्यापक रूपमा प्रहरी संयन्त्र परिचालन गरेरै भए पनि यसको कडा नियन्त्रण गर्नुपर्छ।
एसियामा उन्नाईसौं शताब्दीको मध्यतिर चलेको ‘अफिम युद्ध’ को प्रसंग नेपालसँग जोडिन्छ। अफिमकै कारण एसियाले उन्नाइसौं शताब्दीको मध्यतिर (सन् १८३९—४२ र १८५६—१८६०) दुईवटा भीषण युद्ध व्यहोर्नुपर्यो। ब्रिटेन र चीनबीच युद्ध भइरहेका बेला भारतलाई ब्रिटिस इस्ट–इन्डिया कम्पनीले आफ्नो कब्जामा लिएको थियो। जानकारहरूका अनुसार त्यतिबेला इस्ट–इन्डिया कम्पनीका व्यापारीले भारतको पटनामा उब्जाएको अफिम कलकत्ता बन्दरगाह हुँदै चीनसम्म तस्करी गर्थे। ब्रिटेन र चीनबीच त्यतिबेला युद्ध हुनुको प्रमुख कारण पनि अफिमको अवैध व्यापारलाई लिइन्छ।
अफिम खेतीमा संलग्न किसानका लागि यो आम्दानीको मुख्य स्रोत बनेको छ। आम्दानी गर्न नेपाली किसानले आफैं खेती गर्नु पनि पर्दैन। भारतीय व्यापारीहरू नेपाल आएर किसानका बाँझा जग्गा भाडामा लिने र त्यही जग्गामा अफिम खेती गर्ने गर्छन्। भारतसँगै सिमाना जोडिएका कतिपय जिल्लामा त भारतीय व्यापारीले नेपालीलाई अफिमको बीउ उपलब्ध गराउने, खेती कसरी गर्ने भन्ने विषयमा तालिम दिनेदेखि ती अफिम उत्पादन गरेपछि आफैंले किनिदिने प्रतिबद्धतासमेत जनाउँछन्। एक त बाँझो रहेको खेतबाट विनालगानी पैसा कमाउन सकिने अर्कोतर्फ बाँझो नै नभएका खेतमा पनि अन्य खेतीभन्दा अफिम लगाउँदा मनग्गे फाइदा हुने भएका कारण किसानहरू यतातर्फ आकर्षित हुने गरेका छन्। नेपालमा उत्पादन गरिएको अफिम पाकिस्तान, अफगानिस्तान र इरानका सीमा क्षेत्रलाई गोल्डेन क्रिसेन्ट, दक्षिणपूर्व एसियाका थाइल्यान्ड, बर्मा, लाओसलगायतका मुलुकसम्म पुग्ने गर्छ। तीनै मुलुकमा उत्पादन हुने महँगा लागूपदार्थ यतैबाट गएको अफिमबाट बन्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सँगै, यसबाट बन्ने कच्चा ब्राउन सुगरले नेपालमा पनि दुर्व्यसनी बढाइरहेको छ।
खेती नष्ट गरेर मात्र हुँदैन। प्रहरीले दुर्व्यसनी बढाउने अफिम उन्मूलन गर्नैपर्छ। प्रतिबन्धित खेती गर्ने व्यक्तिलाई कानुनको कठघरामा उभ्याउनुपर्छ। अनि मात्र यसप्रति निरुत्साहन हुनेछ। नेपाललाई लागूऔषधको प्रयोगशाला बनाउने यो वनस्पतिप्रति राज्यका नीति–नियम कठोर हुनैपर्छ। यसलाई पूर्णरूपमा निरूपण गर्न पूरै राज्यसंयन्त्र लगाएर देशव्यापी अभियान सञ्चालन गर्नुपर्छ। हरेक स्थानीय तहले छुट्टाछुट्टै रूपमा यसको रोकथामका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ। अफिम खेती गरिएको छ भन्ने सूचना पाएर सम्बन्धित ठाउँमा जाने र खेती नष्ट गरेर मात्रै फर्कने प्रवृत्तिले अफिमको कारोबार रोकिँदैन, यसले कारोबारीलाई गिज्याउँछ मात्र।