कालिकोटको कालेखोलामा पहिरो, यातायात ठप्प
कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर १ स्थित कालेखोलामा पहिरो गएको छ। गएरातिदेखि आएको अविरल वर्षाका कारण कालेखोलामा पहिरो गएको हो।
पहिरोले कर्णाली राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ। कर्णाली राजमार्गको जुम्ला-सुर्खेत सडकखण्ड अन्तर्गत जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोलाको पहिरोले हरेक दिन राजमार्ग अवरुद्ध हुँदै आएको थियो। आइतबार नयाँ ठाँउमा पहिरो गएको हो।
कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालेखोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रुपमा ठप्प भएको बताए।'कालेखोलामा ठूलो पहिरो गएको छ। तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन।' कार्कीले भने 'सानो डोजरले काम गर्न नसक्ने बताएपछि ठूलो मेसिन खोजी भइरहेको छ।' वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले सवारी साधन तथा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ।
कालेखोलामा करिब ४० मिटर चट्टान फुटेर पूरै सडक भाँसिएको छ। कालेखोला पुलको छेउबाटै सडकको स्वरुप नै बिगारिदिएको छ। कर्णाली राजमार्गको घट्टेखोला, दहिखोला, गगने खोला, काले खोला, सुनार खोला, मोल्फा बजार, पिली, खल्लागाड लगायतका दर्जनौँ ठाँउमा दैनिक रुपमा पहिरो आउने र सडक अवरुद्ध हुने गरेको छ। प्रमुख जिल्ला अधिकारी कार्कीले भने, 'हामी पहिरो गएको स्थलमै छौँ। पहिरो जतिसक्दो छिटो पन्छाएर सडक खुलाउने प्रयास जारी छ। पहिरो पन्छाउन कम्तिमा दुई दिन लाग्न सक्छ।'
मेल गरेर यातायात संचालन
कर्णाली राजमार्गको कालेखोलामा पहिरो गएर यातायात सेवा अबरुद्ध भएपछि एक गाडीले अर्को गाडीलाई यात्रु मेल गरेर यातायात संचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको नेतृत्वमा पहिरो स्थलमा गएको जिल्ला सुरक्षा समितिको टोलीले यात्रुहरुको सहजताका लागि एक गाडीबाट अर्को गाडीमा यात्रुहरु मेल गरेर यातायात संचालन गरिएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद शर्माले पहिरो गएको स्थान कालेखोलामा माथिबाट आएको गाडीमा आएका यात्रुहरुलाई करिब १५ मिनेट पैदल हिडेपछि सुर्खेतबाट आएको गाडीमा यात्रुहरु मेल गरी सुर्खेत लैजाने र सुर्खेत तिरबाट आएको गाडीका यात्रुहरुलाई कालिकोटबाट आएको गाडीमा कालिकोट, जुम्लातिर पठाइरहेको जानकारी दिए। उनले भने, 'पहिरो तत्काल पन्छाउन सकिने अवस्था नभएकाले पहिरो स्थलमा व्यपक रुपमा प्रहरी परिचालन गरी यात्रुहरुलाई पहिरो पार गराउने र पहिरो पन्छाउने कार्य भईरहेको छ।'
कालेखोलाको पहिरो निरीक्षण गर्दै प्रमुख जिजल्ला अधिकारी सहित जिल्ला सूरक्षा समिति।
सोमबार बेलुकासम्म सडकको ट्याग खोल्ने गरी कामलाई तिब्र बनाइएको छ। वर्षेनी वर्षायाम लागेसँगै हरेक राति पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको कर्णाली राजमार्गमा प्रहरीको काम नै पहिरो पन्छाउने भएको उनले बताए। कर्णाली राजमार्गका विभिन्न ठाँउमा पटक-पटक पहिरो जाँदा राजमार्ग अवरुद्ध हुँदै आएपनि पहिरोको दीर्घकालीन व्यवस्थापनका बिषयमा सम्बन्धित निकायले चासो नदेखाउँदा यात्रुहरुले सास्ती खेपिरहेका छन्।
मालबाहक गाडी थन्किए
कर्णाली राजमार्गमा सामान ढुवानी गर्ने मालबाहक गाडीहरु सडकमै थन्किएका छन्। यात्रुबाहक बसका यात्रुलाई पठाइएपनि मालबाहक गाडीहरु ठाँउको ठाँउ सडक छेउमै थन्किएका छन्। कर्णाली राजमार्गको कालेखोला आसपास तथा दहिखोला, हुल्म, जिते बजारमा मालवाहक गाडीहरु सडकमै रोकिएका छन्।
कर्णाली राजमार्गमा विगत ७ वर्षदेखि ट्रक चलाइरहेका चालक शेर थापाले वर्षायाम लागेसँगै वर्षेनी सास्ती खेप्नु परेको बताए। उनले यात्रुबाहक गाडीहरुले यात्रुलाई जहाँको तही झारेर फर्किन पाउने भएपनि आफुहरुले सडक नखुल्दासम्म पहिरोस्थलमै कुर्नु पर्दा समस्याहरु भोग्नु परेको बताए। उनले भने, 'निकै साघुँरो सडक छ, कुनै ठाँउमा अर्कोतिरबाट आएको गाडीसँग जम्काभेट हुँदा साइड दिनकै लागि आधा किलोमिटरसम्म ब्याक हुनुपर्छ।' हिलाम्मे सडकमा ट्रक फसेर उकास्नै मुस्किल पर्ने उनले बताए।