बाढीले पर्साको १ हजार ८ सय हेक्टर धानबाली नष्ट
वीरगन्ज : असार अन्तिम साता पाँच दिनसम्म परेको अविरल वर्षाले रोपिसकेको धानबाली डुबानमा परेर बिग्रिएको छ । डुबानमा पर्दा रोपाइ बिग्रिएका कारण दोहोर्याएर धान रोप्नुपर्ने भएको छ ।
धानको बीउ खोज्दै गाँउ-गाँउ चहार्दै हिँड्नु परेको किसानहरुको दुखेसो छ । गाँउ-गाँउ चहार्दा पनि बीउ नपाएको उनीहरुले बताएका छन् । बाढी र डुबानले प्रभावित नभएका गाँउमा आक्कलझुक्कल बीउ भेटिए पनि, निक्कै महङ्गो भाउ तिर्नु परेको किसानहरुले बताएका छन् ।
गद्धीकै छिमेकी दिपन रामले भने बीउ नपाएका कारण दोहोर्याएर खेत रोप्न नपाएको गुनासो गरे । 'पहिले रोपेको धान सबै , डुबानको पानीले गलेर कामै नलाग्ने भएपछि फेरि रोप्न खोज्दैछु तर अहिलेसम्म बीउ नै पाइएको छैन', उनले भने,‘ यसपाली खेत बाँझो नै रहला जस्तो छ ।'
पाकाहामैनपुरको धोबीया टोलका किसान अमानत मियाँको दुखेसो पनि दिपन रामको जस्तै छ । असार दोश्रो सातासम्म वर्षा नभएपछि पम्पसेट लगाएर धान रोपेको तर रोपेको ४-५ दिन बित्न नपाउँदै वर्षाको पानीले डुबानमा परी पुरै धानबाली पहेंहिएर सखाप भएको मियाले बताए ।
'अहिले फेरि खेत रोप्न पर्यो भनेर बीउ खोज्न थालेको ६-७ दिन भइसक्यो तर अहिलेसम्म कतै भेटेको छैन', उनले भने। कृषि ज्ञान केन्द्रका अनुसार , असार अन्तिम साता पाँच दिनसम्म भएको अविरले वर्षापछिको बाढी र डुबानबाट पर्सा जिल्लामा १ हजार ८ सय २८ हेक्टरको धानबाली नष्ट भएको थियो ।
केन्द्रका बाली संरक्षण अधिकृत शम्सुल हकका अनुसार , पर्सा जिल्लामा १ हजार ७ सय ४१ हेक्टर धानबाली डुबानमा परेको र ८७ हेक्टरको धानबाली बाढीको बालुवाले पुरिएको छ ।
बाली संरक्षण अधिकृत हकले पनि बाढी र डुबानले धानबाली नष्ट गरेको क्षेत्रमा किसानहरुले अहिले फेरि दोहोर्याएर धानको रोपाइँ गरिरहेको बताए । 'किसानहरु दोहोर्याएर धान रोप्न जुटेका छन् तर बीउ नै पाइरहेका छैनन्', हकले भने,‘छिमेकका गाँउबाट बीउ किनेर जेनतेन खेत रोपिरहेका छन् ।' दोहोर्याएर धानको रोपाइँ गर्दा किसानहरुको लागत बढेको तर उत्पादनमा भने कमी आउने उनले बताए ।
'पहिले ब्याड राखिएका बीउ अहिले छिप्पिसकेका छन् , त्यो बीउ रोप्दा धानले गाँज एकदमै काम हाल्छ', बाली संरक्षण अधिकृत हकले भने,‘गाँज कम भयो भने उत्पदान स्वत घट्छ ।'
दोहोर्याएर धानको रोपाइ गरिएका कारण यसपालि पर्सामा धान उत्पादनमा १० देखि १५ प्रतिशतले कमी आउने सम्भावना रहेको उनले बताए। कृषि ज्ञान केन्द्रका अनुसार पर्सा जिल्लामा ४६ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा धानको खेती हुने गरेको छ ।
कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार, गत असार अन्तिम साता आएको बाढी र डुबानका कारण पर्सामा धानबाली, धानका ब्याड, तरकारी, मकै बाली नष्ट हुँदा करिब ४४ करोड ८८ लाख रकम बराबरको क्षति भएको छ ।