जिल्लाले फर्काए नयाँ शिक्षक

जिल्लाले फर्काए नयाँ शिक्षक

काठमाडौं : जिल्ला पठाइएका नयाँ शिक्षक हाजिर हुने विद्यालय नपाएपछि केन्द्रमै फर्किन थालेका छन्। शिक्षक सेवा आयोग र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रबीच समन्वय नहुँदा नयाँको पदस्थापनमा समस्या देखिएको छ। केन्द्रले जिल्लामा आवश्यकभन्दा बढी शिक्षक पठाएपछि उनीहरू फिर्ता भएका हुन्।

आयोगले दुई महिनाअघि सिफारिस गरेका १ हजार ९७ शिक्षकलाई केन्द्रले सम्बन्धित जिल्लामा खटाएको थियो। सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई आवश्यक परेको विद्यालयमा हाजिर गराउन केन्द्रले भनेको थियो। जिल्लाभित्रका विद्यालयमा दरबन्दी रिक्त नरहेको लिखित जानकारी इकाइले गराएको छ।

२५ जिल्लाबाट शिक्षक फिर्ता भएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए। उनका अनुसार ती जिल्लामा गोरखा, कालिकोट, ओखलढुंगा, नवलपरासी, दाङ, सल्यान, कपिलवस्तु, संखुवासभा, अछाम, पाल्पा, तनहुँ, कैलाली, धादिङ, बैतडी, कञ्चनपुर, मुस्ताङ, बर्दिया, पर्वत, प्युठान, स्याङजालगायत छन्। आयोगले पठाएकामध्ये ५ सय ३ जनालाई मात्र हाजिर गराउन सक्ने देखिएको उनको भनाइ छ।

नेपाली विषयमा ८९ जना माग भएकामा आयोगले २ सय २७ जना छनोट गरेको थियो। अनिवार्य अंग्रेजीमा १ सय १८ जना माग भएकामा १ सय ३२, गणितमा ८६ जना चाहिनेमा १ सय ७६, विज्ञानमा १ सय ३१ चाहिनेमा १ सय ८७ र सामाजिक विषयमा ६७ जना चाहिनेमा १ सय ८७ जना लिखित तथा अन्तर्वार्ताबाट छानिएका थिए।

सम्बन्धित जिल्लाले हाजिर गराउन नसक्ने भन्दै फर्काइदिएपछि करिब साढे ५ सय शिक्षक अन्योलमा परेका छन्।

जिल्लाबाट फर्काइएका शिक्षक माध्यमिक तहका हुन्। यो तहका २० विषयका शिक्षक छनोट भएका छन्। सम्बन्धित जिल्लाले हाजिर गराउन नसक्ने भन्दै फर्काइदिएपछि शिक्षक अन्योलमा परेका छन्। उनीहरू दैनिक रूपमा शिक्षा मन्त्रालय तथा केन्द्रमा गुनासो सुनाउँदै हिँडेका छन्।

तनहुँकी यमकुमारी रानाले नतिजा सार्वजनिक भएको दुई महिना बित्न लाग्दा पनि आफूले पढाउने विद्यालय यकिन नभएको बताइन्। ‘सुरुमा तनहुमा पोस्टिङ गर्ने भनियो। त्यहाँ दरबन्दी रिक्त नरहेको जानकारी आएपछि नवलपरासी पठाउने भनियो। त्यहाँ पनि दरबन्दी रिक्त नभएको जानकारी आएको छ’, भक्तपुरस्थित केन्द्रमा भेटिएकी रानाले भनिन्, ‘अब कहाँ पोस्टिङ हुने हो थाहा छैन।’

केन्द्रले शिक्षक छनोट गरिदिन माग गरेपछि आयोगले माध्यमिक तहमा रिक्त रहेका सबै शिक्षक दरबन्दी हिसाब गरेर खुला विज्ञापन गरेको थियो। सोहीअनुसार १ हजार ९७ जना छानिएका थिए। केन्द्रले भने ५ सय ३ जना दरबन्दीको मात्र हिसाब गरेका कारण समस्या आएको आयोगले जनाएको छ।

कतिपय जिल्लामा दरबन्दी रिक्त रहे पनि त्यहाँ अस्थायी शिक्षक छन्। स्थानीय तहले उनीहरूलाई हटाउन चाहेका छैनन्। ‘अब अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको विवरण हेरी बढी भएका शिक्षकलाई त्यही पदस्थापन गर्ने तयारी गरेका छौं’, पौडेलले भने।

आवश्यकताभन्दा बढी छानिएका कारण शिक्षकले फरक क्षेत्रमा जानुपर्ने भएको छ। ‘विज्ञापनअनुसार शिक्षक आफूले रोजेको क्षेत्रमै जान पाउनुपर्छ भन्लान्’, उनले भने, ‘उनीहरूलाई विज्ञापनले तोकेभन्दा फरक ठाउँमा पदस्थापन गर्न कानुनले पनि दिँदैन। विशेष अनुरोध गरेर शिक्षकलाई आवश्यक परेको अवस्थामा रोजेभन्दा फरक क्षेत्रमा जान अनुरोध गर्छौं।’ हाजिर नगरेसम्म उनीहरूले तलब पाउँदैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.