२१ देशका फिल्म निर्माता पोखरामा
पोखरा : पर्यटकीय सहर पोखरामा २१ देशका ६० युवा फिल्म निर्माता विश्वव्यापी मुद्दा (ग्लोबल इस्यु) मा छलफलमा जुटेका छन्। विश्वका ७ साझा मुद्दामा केन्द्रित रहेर ती विषयमा जनचेतना जगाउने सात छोटा फिल्म निर्माणमा उनीहरू जुटेका हुन्।
साउन १० गतेदेखि पोखरामा सुरु भएको सम्मेलनमा नेपाल, अमेरिका, बेलायत, इटाली, क्रोएसिया, स्विडेन, श्रीलंका, पाकिस्तान, अफगानिस्तान लगायत २१ देशका युवाको सहभागिता रहेको आयोजक इन्टरनेसनल युथ मिडिया कन्फरेन्स रिजनल सेन्टर काठमाडौंका कार्यकारी निर्देशक सपन हमालले जानकारी दिए।
स्वास्थ्य, चेलीबेटी बेचबिखन, हिंसा न्यूनीकरण, युवा सशक्तिकरण, वातावरण गरी ७ विषयमा केन्द्रित भएर उनीहरूले पोखरामा नै ६० देखि ९० सेकेन्डका फिल्म बनाउने छन्।
नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले पनि कार्यक्रमलाई सघाएका छन्। सन् २०१६ मा काठमाडौमा भएको समिट २०२० मा क्रोएसियामा हुने तय भएको छ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा ट्विनटावर हमलापछि युवाहरूमा सकरात्मक सोचाइ ल्याउन, हिंसाबाट टाढा राख्न र सशक्तिकरण गर्ने उद्देश्यले चलचित्र निर्माताहरूको समिट सुरु भएको इन्टरनेसनल युथ मिडिया कन्फरेन्स ग्लोबल अध्यक्ष तथा संस्थापक एभलीन स्यूवर्टले बताइन्। समटिमा नेपालका ४ जनाको सहभागी छन्। यहाँबाट बन्ने फिल्मको प्रदर्शन विश्वभर गरिनेछ।