‘लक्का जवान’को जवानी
![‘लक्का जवान’को जवानी](https://annapurnapost.prixacdn.net/media/albums/ooficial-announcement-film-lakka-jawan_20190801051921_5rj9rtKbQD.jpg)
काठमाडौं : मञ्चभरि दिग्गज हास्यकलाकारको जमात छ। सबै हाँस्ने र हँसाउने मुडमा छन्। बीचमा बसेका मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) टेबुलमा राखिएको छाता खोल्न थाल्छन्। त्यहाँ पहेँलो, गुलाबी रङले लेखिएको थियो ‘लक्का जवान’। यो हास्यकलाकार शिवहरि पौड्यालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’को औपचारिक घोषणाको दृश्य हो। मञ्चमा प्रायः सबै उमेर ढल्किसकेका कलाकार लक्का जवानका रूपमा आएको भन्दै हाँसोको फोहरा चल्यो।
राजधानीमा मंगलबार भएको एक कार्यक्रममा छाता खोलेर फिल्मको घोषणा गरियो। सबै हास्यकलाकार एकै छातामुनि बस्दा माहोल रोचक बन्यो। केही समय अगाडिदेखि फिल्मको स्क्रिप्ट लेख्न व्यस्त रहेका पौड्यालले अन्ततः जम्बो कलाकार टोली लिएर लक्का जवान बनाउने भएका छन्। चलचित्र पारिवारिक तथा हास्यव्यंग्यात्मक हुने निर्माण पक्षले जनाएको छ। हास्य टेलिशृंखला निर्देशन गरिसकेका पौड्यालको लक्का जवान डेब्यु चलचित्र हो। टेलिशृंखला जिरेखुर्सानीमा पौड्यालको ‘प्वाक्क मुखमा हान्नु जस्तो’ डाइलग निकै चर्चित छ। वडा नं. ६, छ एकान छ, छक्का पञ्जा तीन जस्ता चलचित्रमा सशक्त अभिनय गरिसकेका पौड्यालले चलचित्र निर्देशनमा पनि राम्रो काम गर्ने बताए। पछिल्लो समय नेपाली चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया नपाएको स्वीकार्दै उनले भने, ‘चलचित्र बनाउनु निकै ठूलो जिम्मेवारी लिनु हो। यसका लागि हामी मेहनत गर्दै छौं।’
चलचित्र हलमा लागेकै दिन मिडियाबाट नराम्रा टीकाटिप्पणी आउँदा नेपाली चलचित्रले दर्शक गुमाउँदै गएको दुःखेसो पनि उनले व्यक्त गरे। चलचित्रको आलोचना गर्दा चलचित्र निर्माण टिमले गरेको मेहनतलाई भुल्न नहुने उनले बताए।
चलचित्रमा जब्बो टोली भएको विषयमा बोल्दै पौड्यालले आफूसँग जोडिएका पुराना कलाकारलाई यो फिल्ममा जोड्न पाउँदा खुसी लागेको बताए। आफूभन्दा दिग्गज कलाकारलाई चलचित्रमा निर्देशन गर्ने जिम्मेवारी भने चानचुने नभएको उनले बताए। उनले भने, ‘म सबैसँग सल्लाह लिँदै अगाडि बढिरहेको छु।’
सुरुमा मह जोडी फिल्मको मुख्य कलाकारका रूपमा आफूले परिकल्पना गरेको उनले बताए। पछि महजोडीको व्यस्तताका कारण चलचित्रमा किरण केसी, दिलीप रायमाझी, रमेश उप्रेती, सलोन बस्नेत जस्ता कलाकार प्रमुख भूमिका निर्वाह गर्दै छन्। कार्यक्रममा उपस्थित मदनकृष्ण र हरिवंशले चलचित्रलाई शुभकामना दिँदै फिल्म राम्रो बन्ने विश्वास राखे। किरण केसीले सबै हास्यकलाकारलाई समेट्न खोजेको बताए।
चलचित्रमा दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले नायिकाको रूपमा डेब्यु गर्ने बताइएको थियो। तर पछि पढाइको कारण देखाउँदै दिव्याले फिल्ममा नरहेको बताएकी छन्। केही समयअगाडि निर्देशक श्याम भट्टराईले दिव्याको जन्मदिनमा फिल्मको अफर गरेका थिए। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय ‘स्टार किडस्’को यात्रा सफल नै देखिएको छ। अमेरिकामा बस्दै आएकी दिव्यालाई शिवहरि पौड्यालले आफ्नो फिल्ममा ल्याउन चाहे पनि दिव्याले तत्कालका लागि लक्का जवान नखेल्ने प्रस्ट भएको छ। फिल्ममा नायिका प्रियंका कार्की र वर्षा सिवाकोटी देखिँदै छन्।
कार्यक्रममा दीपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), राजाराम पौडेललगायतका कलाकार उपस्थित थिए। आमा बगलामुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’की निर्मात्री अनसूया श्रेष्ठ वन्त हुन्। कार्यकारी निर्माता किरण केसी (राता मकै), शिवहरि पौड्याल र दिलीप रायमाझी हुन्। सहनिर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, राजेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी छन्। भदौ पहिलो साताबाट छायांकनमा जाने यो फिल्मको प्रदर्शन मिति चैत ७ गते तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)