गुमेको कारोबार फर्काउन कोलकत्ता बन्दरगाहले नेपाली आयातकर्तालाइ फकाउँदै
वीरगन्ज : नेपाली आयातकर्ता भारतकै अन्य बन्दरगाहतर्फ आकर्षित हुन थालेपछि कोलकत्ता बन्दरगाहले गुमेको कारोबार फर्काउन नेपाली आयातकर्ता रिझाउने प्रयास थालेको छ। कोलकत्ता बन्दरगाहमा जाँचपास प्रक्रिया झन्झटिलो, इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) र बिलम्ब शुल्कजस्ता अनेक समस्याले मारमा परेका नेपाली आयातकर्ता भारतको बिशखापटनम बन्दरगाहतर्फ आकर्षित हुन थालेपछि कोलकत्ता बन्दरगाहाले नेपाली आयातकर्तालाई रिझाउने प्रयास थालेको हो।
यसैक्रममा मङगलबार वीरगन्जमा कोलकत्ता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमार सहितको टोलीले नेपाली उद्योगी व्यवसायी र आयातकर्तासँग भेटेर छलफल गरेको छ। छलफलमा कोलकत्ता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले कोलकत्ता बन्दरगाहमा कोलकत्ता पोर्ट ट्रष्टले टर्मीनलको क्षेत्र र रेल्वे साइडको विस्तार, उपकरणको अध्यावधिक र भन्सार जाँचपास प्रक्रिया सहज बनाएकाले अब नेपाली आयातकर्ताले पहिलेको जस्तो समस्या भोग्नु पर्ने अवस्था नरहेको बताए।
अध्यक्ष विनित कुमारले कोलकत्ता बन्दरगाहको संरचना विस्तार र सेवा सुधारमा एक सय ५० करोड भारु खर्च गरिएको जानकारी पनि गराए। रिभर बेस पोर्ट (नदिमा बनाइएको बन्दरगाह) कोलकत्ता बन्दरगाहको ३० प्रतिशत कारोबार नेपालको लागि हुँदै आएको छ ।अध्यक्ष विनित कुमारका अनुसार कोलकाता पोर्ट ट्रष्टले बन्दरगाहको टर्मिनलको क्षेत्रफल विस्तार गरी १ लाख २५ हजार वर्ग मिटरको बनाएको छ। पहिले उक्त टर्मिनल १ लाख वर्ग मिटरको मात्रै थियो।
यस्तै वार्षिक साढे ६ लाख कन्टेनरको हेण्डलिङ गर्दै आएको टर्मिनल विस्तार भएपछि भने अब वार्षिक १० लाख कन्टेनर हेण्डलिङ गर्न सकिने अध्यक्ष विनीत कुमारले बताए। उनले भने, 'पोर्टको टर्मिनलमा पहिले एक पटकमा ६ हजार ५ सय मात्र कन्टेनर राख्न सक्ने क्षमता थियो तर अहिले टर्मिनल विस्तार गरिएपछि एक पटकमा १२ हजार कन्टेनर राख्न सकिन्छ, अब पहिलेको जस्तो पोर्टमा कन्टेनरको अत्याधिक चाप हुदैन।'
टर्मिनलको क्षेत्रफल विस्तार भएपछि यार्डबाट कन्टेनरको ह्याण्डलिंग सहज र छरितो भइरहेको भन्दै अध्यक्ष विनित कुमारले यसबाट आयातकर्ताको ढुवानीमा लाग्दै खर्चमा पनि धेरै कटौती भएको बताए। टर्मीनलको याडको क्षेत्रफलको विस्तारसँगै कोलकत्ता पोर्ट ट्रष्टले यार्डमा रहेको नेपालका मालसामान रेलमा लोड गरिने रेल्वे साइड (लिक) को क्षमता पनि विस्तार गरेको छ।
आगामी अक्टुबर महिना देखि एकै पटकमा दुईवटा रयाक (रेल) मा कन्टेनर लोड गर्न सक्ने गरि रेल्वे साइडको क्षमता विस्तार गरिएको काम अध्यक्ष विनित कुमारले जानकारी दिए। उनका अनुसार कोलकत्ता बन्दरगाहको व्यवस्थापक कोलकत्ता पोर्ट ट्रष्टले तेश्रो मुलुकबाट नेपालका लागि आयात हुने मालसामानको भन्सार जाँचपाच प्रक्रिया पनि पहिलेको भन्दा अहिले सहज र छरितो बनाइएको छ।
अहिले भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाटै गरिएको भन्दै उनले भने, 'अनलाइन सेवा शुरु गरिएपछि पहिलोको जस्तो १५ स्थानमा कागजी प्रक्रियाको झन्झट अब छैन, एक स्थानमा मात्रै त्यो सबै प्रक्रिया पुरा भइरहेको छ।
कोलकत्ता बन्दरगाहमा पहिले नेपालका मालसामान ढुवानीका लागि दुईवटा मात्रै सिपिङ कम्पनी रहेकोमा अहिले ५ देखि ६ वटा सिपिङ कम्पनीले सेवा दिइरहेको जानकारी उनले गराए। सबै सिपिङ कम्पनीले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम(इसिटिएस) सेवा दिइरहेको भन्दै उनले भने, 'इसिटिएसको शुल्क महंगो भयो भनेर आयातकर्ताको गुनासो अहिले छ, यस बारेमा मैले सिपिङ कम्पनीलाई दुई पटक बोलाएर छलफल गरिसकेको छु, मलाई विश्वास छ इसिटिएसको चार्ज पनि छिट्टै कम हुन्छ।'
कोलकत्ता पोर्टमा सिपिङ कम्पनीहरुले नेपाली आयातकर्तालाई इसिटिएस सेवाको शुक्ल लिने नाममा अनेक दु:ख दिँदै आएको उनले स्वीकारे। उनले भने, 'यो समस्या नेपाली आयातकर्तालाइ मात्र होइन, भारतीय आयातकर्ता पनि यसबाट पीडित छन् ।
तर सिपिङ लाइन कम्पनीलाई नियमन र कारबाही गर्ने कुनै पनि संयन्त्र र निकाय नै भारतसँग नभएकाले समस्या भएको अध्यक्ष विनित कुमारले बताए।कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले पछिल्लो दुई वर्ष यताको कोलकत्ता र विशखापट्नम बन्दरगाहबाट नेपालका लागि भइरहेको कारोबारको तथ्याङ प्रस्तुत गरेका थिए।
तथ्याङकमा आर्थिक वर्ष २०७४÷०७५ यता कोलत्ता बन्दरगाहबाट नेपालको कारोबार वर्षेनी घटदै गएको र विशाखापटनम बन्दरगहाबाट भने नेपालको कारोबार बढ्दै गएको उल्लेख छ। आर्थिक वर्ष २०७४/०७५ मा कोलकत्ता बन्दरगहाबाट मालसामानका ८२ हजार २ सय ८ वटा कन्टेर रेलमार्ग हुँदै वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा आएको थियो। तर गत आर्थिक वर्ष २०७५/०७६ मा भने त्यसमा कमी आइ ७९ हजार ७ सय ७७ कन्टेनर मात्र कोलकत्ता बन्दरगाहबाट सिर्सिया सुख्खा बन्दरगाहमा आएको छ।
तर बिशाखापटनम बन्दरगाहबाट आर्थिक वर्ष २०७४÷०७५ मा ४ हजार ७ सय ४६ कन्टेनर मात्र वीरगन्ज आएकोमा गत आर्थिक वर्ष २०७५÷७६ मा भने त्यसमा चार गुणाले वृद्धि भइ १७ हजार ५६ वटा कन्टेरनर वीरगन्ज स्थित सुख्खा बन्दरगाहमा आएको तथ्याङकले देखाएको छ। नेपाली आयातकर्ताले कोलकत्ता बन्दरगाहबाटै सहज र कम खर्चिलो सेवा पाएको खण्डमा पुन कोलकत्ता बन्दरगाह तर्फ नै फर्किने पनि बताएका थिए।
वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कोलकत्ता पोर्ट ट्रष्टका ट्राफिक म्यानेजर रामानन्द नास्कर, सिनियर असिस्टेन्ट ट्राफिक म्यानेजर आर गोकुल, कोलकत्ता पोर्ट ट्रष्टकै प्रशान्त सिंह र सन्जय चक्तवर्ती , वीरगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गेपाल केडिया, अशोक टेमानी , महासचिव माधव राजपाल , सिर्सिया सुख्खा बन्दरगाहको व्यवस्थापक हिमालयन टर्मिनलका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीका साथै नेपाली उद्योगी व्यापारी र आयातकर्ताको सहभागीता थियो।