महिनावारीमा रोकिँदैन पढाइ
बरौला (प्यूठान) : नौ कक्षामा अध्ययनरत रेखा पौडेलको महिनावारी भएको बेला सेनेटरी प्याड नहुँदा महिनामा चार/पाँच दिन पढाइ छुट्ने गर्दथ्यो। वर्षमा झण्डै एक महिना उनी पढाइबाट बञ्चित हुनुपर्ने बाध्यता थियो। कक्षाकोठामा साथीसंगी र शिक्षकको त्रासले उनीजस्तै सयौँ छात्राले राम्रोसँग पढ्न पाउदैन्थे।
महिनावारी भएको बेला बस्ने बेन्च रगतले राताम्मे हुन्थे। तर हिजोआज ढुक्कसँग विद्यालय जान्छन् मोती माध्यमिक विद्यालय ऐरावती गाउँपालिका बरौला प्यूठानका छात्रा। झण्डै तीन सय ५० जना छात्राको पढाइ नियमित भएको छ। सेनेटरी प्याडकै कारण पढाइ छुट्दैन। फोहोर कपडाको प्रयोगले हुने विभिन्न संक्रमणकोसमेत त्रास छैन्। छात्राहरु खुसीसाथ विद्यालय जाने गरेका छन्। बीचमै पढाइ छाडेर घर जादैनन्।
‘स्कुलमा प्याड नहुँदा स्वास्थ्यचौकी र बजारबाट किनेर ल्याउनु पर्दथ्यो’ कक्षा १० मा अध्ययनरत १५ वर्षिय लक्ष्मी रानामगरले भनिन्, ‘पैसाले किन्नुपर्दथ्यो। अहिले कार्ड राखेपछि प्याड झर्छ।’ विद्यालयमा निःशुल्क सेनेटरी प्याड सहित मेशिनको व्यवस्था भएपछि धेरै खुसी बनाएको उनले सुनाइन्। पैसा नहुनेलाई प्याडको पहुँच नहुने गरेको छात्राहरुको अनुभव छ। धेरैजसो छात्रासँग आर्थिक अभाव हुँदा प्याड खरिद गर्न नसकेपछि फोहोर कपडाको प्रयोग गर्नुपर्ने बाध्यता थियो।
गाउँपालिकाले झण्डै एक लाख रुपैयाँ लगानीमा विद्यालयलाइ ‘अटोमेटिक भेन्डिङ’ मेसिन निःशुल्क उपलव्ध गराएको छ। गाउँपालिका भरीमा उक्त विद्यालयलाई मात्र मेसिन प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुनसेन वलीले जानकारी गराए। ‘यसको प्रभावकारीता हेरेर विस्तारै अन्य विद्यालयलाई उपलव्ध गराउने योजनामा छौँ’,उनले भने, ‘जिल्लामै पहिलोपटक मेसिन भित्र्याएका छौँ।’ तीनसय वटा सेनेटरी प्याड र ३० वटा स्मार्ट कार्ड उपलव्ध गराइएको उनले बताए। गाउँपालिकाभरी आधारभूतदेखि माथिल्लो तहमा ११ वटा विद्यालय संचालनमा छन्।
विद्यालयमा मेसिन भित्रिएपछि सेनेटरी प्याडको खपत बढ्दै गएको प्रधानाध्यापक देविराम पोखरेलले जानकारी गराए। ‘छात्राले पहिले प्याड माग्ने गर्दथे’ उनले भने, ‘अहिले स्मार्ट कार्ड मागे पुग्छ।’ यसअघि सेनेटरी प्याड माग्दा छात्रा लजाउने गरेकोसमेत उनले सुनाए। छात्राको समग्र शैक्षिक क्रियाकलापमा नियमित सेनेटरी प्याडको व्यवस्थाले सहजता बनाएको उनको अनुभव छ। जिल्लाका ७३ वटा माध्यमिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन भएको शिक्षा विकास तथा सम्वन्य इकाइ प्यूठानका प्रमुख शिव पण्डितले जानकारी गराए।