केके भएका थिए इतिहासमा यो साता ?

केके भएका थिए इतिहासमा यो साता  ?

अगस्ट १

सन् १९०० को अगस्ट १ मा चीनमा बक्सर विद्रोह भएको थियो। यो विद्रोहमा सरिक भएर चिनियाँ नागरिकले चिनियाँ भूमिभित्र रहेर हैकम जमाइरहेका विदेशी र उनीहरूका विदेशी सहयोगीलाई चीनबाट धपाउने उद्देश्य राखेका थिए। विद्रोहको अग्रपंक्तिमा चीनका किसान थिए। विद्रोहीहरूको एउटा भूमिगत जत्था थियो, जसलाई विदेशीहरू बक्सर भन्थे।

त्यसैले उनीहरूले गरेको विद्रोहलाई बक्सर विद्रोह भनियो। त्यतिबेला बेलायतलगायत पश्चिमी मुलुकले चीनका विभिन्न भूभाग कब्जामा लिएर व्यापार गर्दै आएका थिए। त्यतिबेला चीनमा छिङ राजवंश थियो, जसले चिनियाँ भूमिमा विदेशी प्रवेशलाई स्विकारेको थियो। चीनभित्र रहेका विदेशी र छिङ वंश दुवैविरुद्ध लक्षित भएर गरिएको बक्सर विद्रोह अन्ततः असफल भयो।

अगस्ट २

सन् १९१४ को अगस्ट २ अमेरिकाले बेलायतलाई ऋण सहयोग उपलब्ध गराउने विषयमा छलफल गरेको थियो। त्यतिबेला युरोपमा पहिलो विश्वयुद्ध भर्खरै सुरु भएको थियो। युद्धमा त्यतिबेलाको युरोपेली महाशक्ति जर्मनीसँग बेलायत आमनेसामने भएको थियो। जर्मनीसँग युद्धको तयारी गर्न बेलायतले ठूलो धनराशि खर्च गरिसकेको थियो।

यस्तो अवस्थामा युद्ध लम्बिए बेलायत टाट पल्टिन सक्ने अवस्था उत्पन्न भएपछि बेलायतले अमेरिकासँग अत्यन्तै ठूलो ऋण माग्यो। यस विषयमा अमेरिकी राष्ट्रपति वुड्रो विल्सन र न्युयोर्क एक्सचेन्जका अधिकारीबीच बेलायतलाई ऋण सहयोग गर्ने विषयमा छलफल भयो। अन्ततः बैठकले १० करोड अमेरिकी डलर ऋण दिने सहमति ग¥यो, जुन त्यतिबेलाको बजारभाउअनुसार अत्यन्त ठूलो धनराशि थियो।

अगस्ट ३

सन् १९४० को अगस्ट ३ मा दोस्रो विश्वयुद्धताका बेलायतले जर्मनीमाथि भीषण हवाई हमला गरेको थियो। बेलायतको वायुसेनाले बमवर्षक विमानमार्फत  जर्मनीको आपूर्ति लाइन, एयरपोर्ट, हतियार भण्डारण केन्द्रलगायत ठाउँमा हमला गरेको थियो। बेलायती वायुसेनाले जर्मनीका सय वटा शहरमा रहेका सैन्य महŒवका इलाकालाई ध्वस्त गरिदिएको थियो।

यसलाई ठूलो सैन्य उपलब्धिका रूपमा बेलायतले अथ्र्यायो। तर, त्यसलगत्तै जर्मनीले भीषण हवाई हमला गरेर बेलायतको उत्तरपश्चिम क्षेत्रमा ठूलो क्षति गरायो। त्यस घटनाले जर्मनीको हवाई बल बेलायतको भन्दा थिएन भन्ने पुष्टि गरिदियो।

अगस्ट ४

सन् १९१३ को अगस्ट ४ मा चीनका गणतन्त्रवादी नेता डा. सन यात–सेनले जापानमा आश्रय लिएका थिए। त्यतिबेला चीनमा यात–सेनको नेतृत्वमा राजतन्त्रविरोधी आन्दोलन चर्किएको थियो। उनको नेतृत्वमा चीनका युवा तथा किसानले तात्कालीन छिङ वंशविरुद्ध विद्रोह गरेका थिए। उनले युवाहरूको सशस्त्र दस्ता गठन गरेर उत्तरी चीनमा तैनाथ ८० हजार सरकारी सैनिकको एउटा दस्तालाई ध्वस्त गर्ने प्रयास गरेका थिए। तर, असफल भए। त्यसपछि पक्राउ परेर मारिने डरले आफ्ना अनुयायीसहित डा. यात–सेनले जापानको आश्रय लिए। उनलाई जापानी भूमिमा प्रवेश गर्न दिइयो। चीनप्रति जापानको नियत निको थिएन। त्यसैले चीनका विद्रोहीलाई आश्रय दिएर जापानले चीनलाई अप्ठ्यारोमा पार्ने उद्देश्य राखेको थियो।

अगस्ट ५

सन् १९४७ को अगस्ट ५ मा बेलायतले अमेरिकासँग ऋणबापत ठूलो धनराशि माग्यो। त्यतिबेला दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्ष मात्र बितेको थियो। दोस्रो विश्वयुद्ध करिब पाँच वर्ष जारी रह्यो। त्यसक्रममा बेलायतको ढुकुटी रित्तियो। दोस्रो विश्वयुद्ध समाप्त भएपछि नियमित खर्च चलाउन र युद्धमा ध्वस्त भएका पूर्वाधार पुनःनिर्माण गर्न बेलायतलाई हम्मेहम्मे भयो। यसका लागि ठूलो धनराशि आवश्यक पथ्र्यो, जुन बेलायतको ढुकुटीमा थिएन। उसले अमेरिकासँग ऋण सहायता माग्यो। अमेरिकासँग दोस्रो विश्वयुद्धताका नै बेलायतले ३१ लाख ५० करोड अमेरिकी डलर ऋण मागिसकेको थियो। हातहतियार खरिद गर्ने क्रममा बेलायतले राष्ट्रिय ढुकुटीमा सञ्चित भएको सुनको उल्लेख्य हिस्सा अमेरिकालाई बुझाइसकेको थियो।

अगस्ट ६

सन् १९६५ को अगस्ट ६ मा अमेरिकामा मतदान अधिकारसम्बन्धी नयाँ ऐन लागू भयो। नयाँ ऐनले अश्वेत मूलका अमेरिकीलाई पूर्ण नागरिकका रूपमा स्वीकार गर्‍यो। उनीहरूलाई मतदान गर्ने अधिकार दिलायो। त्यसअघि गोरा अमेरिकीले मात्र मतदान गर्न पाउँथे। यसविरुद्ध अमेरिकामा अश्वेत मूलका मानिसले आन्दोलन गर्दै आएका थिए। उनीहरूका नेता मार्टिन लुथर किङ जुनियरको नेतृत्वमा मताधिकार नदिनेलगायत रंगभेदी नीतिविरुद्ध आन्दोलनको लहर उठेको थियो।

त्यतिबेला शीतयुद्ध सुरु भइसकेको थियो। वैयक्तिक स्वतन्त्रता, उदार नीति, समानताको पक्षधरका रूपमा अमेरिकाले आफूलाई संसारभरि प्रस्तुत गरिरहेको थियो। तर, देशभित्र चाहिँ अश्वेतहरूलाई दोस्रो दर्जाका नागरिकसरह व्यवहार गर्दै आएको थियो। मतदानसम्बन्धी नयाँ ऐनले त्यस्तो अवस्था कानुनी रूपमा खारेज गरिदियो।

अगस्ट ७

सन् १९७२ अगस्ट ७ मा अफ्रिकी देश युगान्डाले आफ्नो भूमिभित्र रहेका एसियाली मूलका सबै मानिसलाई देश छोड्ने चेतावनी दियो। ९० दिनभित्र युगान्डा त्याग्न सार्वजनिक सूचना जारी गरियो। अवज्ञा गरी त्यहीँ रहनेलाई कडा दण्ड दिने चेतावनी दिइयो। त्यतिबेला त्यहाँका शासक कुख्यात तानाशाह इदी अमिन थिए।

कुनै बेला युगान्डामा बेलायती उपनिवेश थियो। त्यतिबेला एसियाका विभिन्न मुलुकबाट बेलायतीहरूले श्रमिकका रूपमा थुप्रै मानिसलाई अफ्रिका लगेका थिए। अमिनको पालामा त्यहाँ करिब ६० हजार एसियाली मूलका मानिस थिए। उनीहरूमध्ये अधिकांश बेलायती पासपोर्टधारी थिए। देशनिकाला गरेर उनीहरूको जमिन, उद्योगलगायत अधिग्रहण गरे पनि राज्यले उनीहरूलाई क्षतिपूर्ति दिएन। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.