टिप्पणीकार दीपकराज
बजारमा जब केही कुराको अति चर्चा हुन थाल्छ, अरूको टिप्पणी आओस्-नआओस्, दीपकराज गिरीको टिप्पणी जरुर आउँछ। त्यसमाथि फिल्मको कुरा पर्यो भने त भन्नै परेन।
यो हप्ता स्वस्तिमा खड्काले कलाकारले जथाभावी लिने भनिएको पारिश्रमिकमा मुख खोलेपछि हल्का विवाद भयो। उनको भनाइलाई धेरै पत्रकारले पूजा शर्माविरुद्ध लक्षित भनेर हेडिङ बनाएपछि पूजाका फ्यान स्वस्तिमाविरुद्ध जाइलागे। यसैमा दीपकको पनि टिप्पणी आइहाल्यो।
उनले फेसबुकमा लेखे, ‘हाम्रो देशमा कुन कलाकारले बढी पारिश्रमिक लियो, त्यो न्युज हुन्छ। विदेशतिर यो वर्ष कुन कलाकारले बढी ट्याक्स तिर्यो, त्यो न्युज हुन्छ। फरक ! ’
उनको कुरामा रत्तिभर शंका छैन। तर, यसमा दीपक अपवाद भइदिएको भए पो मज्जा हुन्थ्यो। उनको फिल्मले पनि यति कमायो, उति कमायो भनेर समाचार आउँछ। अझ भएन, आफ्नै निर्मातालाई आफ्नै फिल्म कीर्तिमानी रकममा बेचेको फोटो गर्वसाथ फेसबुकमा राख्छन्। फिल्म चल्दाका बखत उनी पनि आफ्नो फिल्मको कमाइको बखान गरेर थाक्दैनन्। तर, तीनटा फिल्ममा कुस्त कमाएबापत उनले कति कर तिरे, आजसम्म भनेका छैनन्। दीपकले फेसबुकमा स्ट्याटस लेख्न हतार गर्नुअघि आफ्नो आङको भैँसीतिर पनि नजर लगाउने हो कि ?