मलेसियामा सस्तोमा स्तरीय शिक्षा

मलेसियामा सस्तोमा स्तरीय शिक्षा

नेपालबाट साढे चार घण्टाको हवाईयात्रामा पुगिने देश हो, मलेसिया। नजिक हुनु, युरोपेली तथा अमेरिकी स्तरको शिक्षा सस्तो शुल्कमा पाउनुलगायत कारणले यहाँका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढिरहेको छ। उच्च शिक्षाका लागि मलेसिया नेपाली विद्यार्थीलाई कति उपयुक्त भन्ने विषयलाई समेटेर अन्नपूर्ण सम्पूर्णका लागि सूर्यप्रसाद पाण्डेले 'मलेसियामा सस्तोमा स्तरीय शिक्षा' शीर्षकको स्टोरी तयार पारेका छन् ।


क्वालालम्पुर, मलेसिया : पाँचथरका मिलन थापा नेपालमा डिप्लोमा इन फार्मेसीको पढाइ सकेर थप पढ्न १० वर्षअघि बेलायत पुगे। बेलायतमा अध्ययन गर्दैगर्दा त्यहाँका शैक्षिक संस्थामा समस्या आएर धमाधम बन्द हुन थाले। थापा पनि त्यसको शिकार भए। त्यसपछि नेपाल फर्के। ब्याचलर्स अफ फार्मेसी पढ्नतिर लागे। चार वर्षसम्मको यूके बसाइको पीडाबाट उनी छटपटिरहे। न पढाइ पूरा गर्न पाइयो, न प्रमाणपत्र नै हात लाग्यो। पढाइको नाममा पैसा मात्र खर्च भयो।

थप अध्ययनका लागि अस्ट्रेलिया जाने कि अन्य देश ? उनी अन्यौलमा थिए। ‘अस्ट्रेलिया जाऊँ भने मेरो पढाइ अनुसारको रोजगारी पाइँदैन,’ उनी भन्छन्, ‘किनकि त्यस क्षेत्रमा पर्याप्त सीप हासिल गर्न सकिएको छैन।’ साथीभाइसँग परामर्श गर्दा उनले मलेसियाको सनवे युनिभर्सिटीबारे थाहा पाए। सोधखोज गर्दै जाँदा त्यहाँ कुलिनरी म्यानेजमेन्टको पढाइ हुने जानकारी पाए। सोही विश्वविद्यालयमा भर्ना भए। अहिले सनवे युनिभर्सिटीमा तेस्रो सेमेस्टर पढिरहेका छन्। मलेसियाको पढाइबाट उनी ढुक्क छन्। ‘पढाइसँगै सीप सिक्ने हो भने यस्तै प्राविधिक विषय पढ्दा ठीक हुँदो रहेछ,’ थापा भन्छन्, ‘पढाइको साथमा नियमित अभ्यासमूलक काममा पनि लगाइने हुनाले यहाँको पढाइबाट सन्तुष्ट छु।’

नयाँ शैक्षिक गन्तव्य

काठमाडौँ, ताहाचलका सन्देश श्रेष्ठ पनि सोही विश्वविद्यालयमा ब्याचलर्स अफ साइकोलोजी पढिरहेका छन्। नेपालको सन्दर्भमा यो विषय नयाँ रहेको उनी बताउँछन्। ‘प्लस टू सकेर अमेरिका जाने योजना बनाएको थिएँ,’ उनी भन्छन्, ‘त्यहाँको विश्वविद्यालयमा निवेदनसमेत दिइसकेको थिएँ। पछि सन वेबारे थाहा पाएँ। यहीँ भर्ना भएँ।’ स्तरीय शिक्षाको लागि अमेरिका, अस्ट्रेलिया,  युरोप जाने योजना बनाएकाहरू पनि यस विश्वविद्यालयमा भर्ना भइरहेको श्रेष्ठ सुनाउँछन्। ‘सस्तो शुल्कमा उस्तै स्तरको शिक्षा पाइने भएकाले नेपाली विद्यार्थीलाई मलेसियन विश्वविद्यालय उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ,’ उनी भन्छन्।

नेपालबाट साढे चार घण्टाको हवाईयात्रापछि पुगिने देश हो, मलेसिया। नजिक हुनु, युरोपेली तथा अमेरिकी स्तरको शिक्षा सस्तो शुल्कमा पाउनुलगायत कारणले यहाँका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढिरहेको छ। यिनै विद्यार्थीलाई लक्ष्य गरेर विश्वविद्यालयले ल्याएका आकर्षक प्याकेजले झन् विश्वभरकै विद्यार्थीलाई तानिरहेका छन्। केही विश्वविद्यालय त विदेशी विद्यार्थीकै भरमा टिकिरहेका छन्। मलेसियाका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीको तथ्यांकले यही पुष्टि गर्छ। १८ हजार विद्यार्थी अध्ययनरत सनवे विश्वविद्यालयमा दुई हजार विदेशी विद्यार्थी छन्। हरेक वर्ष विदेशी विद्यार्थी बढिरहेको विश्वविद्यालयको भनाइ छ। सनवेमा भर्ना भएर केही समय पढेपछि थप अध्ययनका लागि अमेरिकालगायत देशमा क्रेडिट ट्रान्सफरको व्यवस्था हुनु, विद्यार्थीलाई सीपमूलक शिक्षा दिनु तथा बजारमा पछिल्ला समय जनशक्ति माग भइरहेको विषयलाई केन्द्रित गरेर पाठ्यक्रम बनाउनुले विदेशी विद्यार्थी आकर्षित भएको विश्वविद्यालयको अनुभव छ।


स्तरीय शिक्षा, सस्तो शुल्क

सन वेमा ब्याचलर्स अफ सफ्टवेयर इन्जिनियरिङ पढिरहेका छन्, धादिङका आयुष नेपाल। ‘विश्वविद्यालयको विद्यार्थीले पुस्तकमा पढेको कुरालाई तत्काल फिल्डमा अभ्यास गरेर कार्यान्वयन गर्न सिकाउने शैली छ,’ उनी भन्छन्, ‘विद्यार्थी आकर्षित हुनुका मुख्य कारण यही होजस्तो लाग्छ।’ 
विद्यार्थीमैत्री पढाइ, उत्कृष्ट भौतिक संरचना, पर्याप्त उपकरण भएको प्रयोगशाला, पुस्तकालयमा पर्याप्त पुस्तक तथा पछिल्ला प्रविधिको अधिकतम प्रयोगबाट पढाइ हुनु मलेसियाका विश्वविद्यालयका राम्रो पक्ष रहेको सनवे एजुकेसन ग्रुपका इन्टरनेसनल अफिस तथा स्पेसल प्रोजेक्ट निर्देशक लिम सुई चिन बताउँछन्। भन्छन्, ‘विश्व बजारमा जनशक्तिको माग भइरहेका विषयलाई अहिले यहाँका विश्वविद्यालयले पाठ्यक्रममा समावेश गरेका छन्।’

क्यालालम्पुरस्थित एसिया प्यासिफिक विश्वविद्यालय (एपीयू) मा १२ हजार विद्यार्थी पढ्छन्। यो विश्वविद्यालयमा अहिले विदेशी विद्यार्थी छ हजार छन्। विश्वविद्यालयका अन्तर्राष्ट्रिय विकास व्यवस्थापक जहिन हमिदका अनुसार यो विश्वविद्यालयमा विश्वका १ सय २५ देशका विद्यार्थी पढिरहेका छन्। ‘विदेशी विद्यार्थीलाई लक्ष्य गरेर विश्वविद्यालयले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम, समय सुहाउँदो पाठ्यक्रम र पढाइ सकिनेबित्तिकै रोजगारीमा जान सकिने विषयमा यहाँ पढाइ हुने गर्छ,’ उनी भन्छन्, ‘यसै कारण विदेशी विद्यार्थीको आकर्षण बढेको हो।’
युरोप, अमेरिका, अस्टे«लिया जत्तिको स्तरको शिक्षा सस्तो शुल्कमा पाउनुले पनि यहाँका विश्वविद्यालयमा विदेशी विद्यार्थी आकर्षण बढिरहेको मलेसियाको शिक्षा मन्त्रालयअन्तर्गत रहेको निकाय एजुकेसन मलेसिया ग्लोबल सर्भिसका प्रमुख कार्यकारी अधिकृत सहिनउद्दीन सारिफ बताउँछन्। उनका अनुसार विदेशी विद्यार्थीको आकर्षण बढाउन छिट्टै मलेसियाका विश्वविद्यालयमा पढिरहेका विद्यार्थीलाई काम गर्न पाउने व्यवस्था गर्ने तयारी भइरहेको छ।

विदेशी विद्यार्थीको आकर्षण बढ्दो

मलेसियन विश्वविद्यालयहरूमा अहिले इन्जिनियरिङ, कुलिनरी आट्र्स, व्यवस्थापन, सूचना प्रविधि, मनोविज्ञान, तथ्यांकशास्त्रलगायत विषयमा विदेशी विद्यार्थीको आकर्षण बढिरहेको सेगी युनिभर्सिटी एन्ड कलेजका वरिष्ठ व्यवस्थापक सेर्यान खोर बताउँछिन्। मलेसियामा निजी तथा सार्वजनिक गरी ४० भन्दा बढी विश्वविद्यालय सञ्चालनमा छन्। विदेशी विद्यार्थीको आकर्षण बढेकै कारण नयाँ–नयाँ कलेज र विश्वविद्यालय खुल्ने क्रम बढिरहेको छ। 

मलेसियाली कानुनअनुसार विश्वविद्यालय स्थापना गर्न चाहनेले सुरुमा कलेज मात्र सञ्चालन गर्न पाउँछ। २ हजार ५ सय विद्यार्थी भर्ना गराएपछि उक्त कलेजलाई युनिभर्सिटी कलेजको मान्यता दिइन्छ। युनिभर्सिटी कलेजमा पाँच हजार विद्यार्थी भर्ना गराएपछि विश्वविद्यालयको मान्यता दिइन्छ। विगत डेढ दशकदेखि मलेसिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई परामर्श दिइरहेको स्टडी प्लसका प्रबन्ध निर्देशक उमेश अधिकारीका अनुसार सस्तो शुल्कमा स्तरीय शिक्षा पाइने हुनाले मलेसियामा विद्यार्थी बढिरहेका छन्। ‘विद्यार्थी जुन विषय अध्ययन गर्न गएको हो,  त्यो विषयको अध्ययन गरिसकेपछि रोजगारीमा जान योग्य बनाएर मात्र मलेसियाका विश्वविद्यालयले घर पठाउँछन्,’ अधिकारी भन्छन्। मलेसियामा अहिले नेपालसहित सिंगापुर, इन्डोनेसिया, श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, भुटान, अमेरिका, चीनलगायत देशका विद्यार्थी अध्ययन गर्छन्।

स्वास्थ्य सेवामा मलेसियाको प्रगति 

शिक्षामा मात्र होइन, स्वास्थ्य सेवामा पनि मलेसियाको प्रगति लोभलाग्दो छ। अत्याधुनिक उपकरणजडित प्रविधियुक्त अस्पतालका कारण उपचारका लागि आउने विदेशी बिरामीको संख्या पनि बढ्दै गएको छ मलेसियाका अस्पतालमा। ‘हेल्थ टुरिजम’ को प्रवद्र्धन गर्ने उद्देश्यले मलेसियन सरकारको अग्रसरतामा मलेसियन हेल्थ केयर ट्राभल काउन्सिल (एमएचटीसी) गठन गरेर अभियान नै सञ्चालन गरेको छ। यस काउन्सिलले स्तरीय सेवा दिने र अत्याधुनिक अस्पताललाई वर्गीकरण गरेर ७९ वटा अस्पतालको प्रवद्र्धन गरिरहेको छ। तोकिएको मापदण्ड पूरा गर्ने अस्पताललाई यो अभियानमा समेटिने एमएचटीसीका पब्लिक रिलेसन तथा कर्पोरेट कम्युनिकेसनकी भाइस प्रेसिडेन्ट सोबिना सिंगम बताउँछिन्।

यो अभियानमा समावेश भएका अस्पतालमा सामान्यदेखि दैनिक २ हजार ५ सय अमेरिकन डलरसम्म शुल्क लाग्ने शैय्या सञ्चालनमा छन्। सनवे मेडिकल सेन्टर, कार्डियाक भास्कुलर सेन्ट्रल (सीभीएस), प्रिन्सकर्ट मेडिकल सेन्टर, ग्लेन इगललगायत अस्पताल यो समूहको प्रवद्र्धनमा सञ्चालित छन्। यी सबै अस्पतालले विश्व बजारमा भर्खरै मात्र अविष्कार भएका प्रविधिजडित उपकरणको सहायताले बिरामीलाई उपचार सेवा दिइरहेको सिंगमको भनाइ छ। सीभीएसका बिजनेस डेभलपमेन्ट एन्ड कर्पोरेट अफेयर्स प्रमुख महिदोन प्रोमविचित भन्छन्, ‘हामी विश्वबजारमा भर्खर मात्र अविष्कार गरिएका महँगा प्रविधिबाट उपचार गर्छौं। त्यसैले स्वदेशीको मात्र नभई विदेशी बिरामीको रोजाइमा परेका छौँ।’ 


‘सस्तोमा विश्वस्तरीय शिक्षा’

उमेश अधिकारी, प्रबन्ध निर्देशक, स्टडी प्लस
 
डेढ दशकयता मलेसिया जाने विद्यार्थीलाई परामर्श दिइरहेको छु। पछिल्लो समय मलेसियाका विश्वविद्यालयहरूले युरोप, अमेरिका, अस्टे«लियाका विश्वविद्यालयको शिक्षा दिइरहेका छन्। बदलिँदो परिवेशअनुसार पाठ्यक्रम पनि अपडेटेड छ। बजारमा कस्तो जनशक्तिको माग भइरहेको छ, रोजगारीका सम्भावना कस्ता विषयमा छन् भन्नेबारे लामो अध्ययन गरेर यहाँका विश्वविद्यालयले पाठ्यक्रम बनाएका हुन्छन्। युरोप तथा अमेरिकाकै स्तरको शिक्षा दिए पनि शुल्क भने सस्तो छ। 

केही समय मलेसिया पढेर थप अध्ययनका लागि क्रेडिट ट्रान्सफर गरेर अन्य देशमा जान पाउने सुविधा पनि मलेसियाका विश्वविद्यालयमा छ। तसर्थ, नेपालीका लागि मलेसियाका विश्वविद्यालय उत्कृष्ट शैक्षिक गन्तव्य बनिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.