मिस भेनेजुएलाका प्रतिष्पर्धीको कम्मर, 'हिप' र छातीको नाप सार्वजनिक नगर्ने
काराकास : भेनेजुएलाको इतिहासमै मिस भेनेजुएलाका प्रतिष्पर्धीहरुको कम्मर, छाती र हिपको नाप सार्वजनिक गरिने छैन ।
प्रतिष्पर्धामा सहभागी २४ जनाकै शारिरीक बनोटको नाप सार्वजनिक नगर्ने भन्दै पहिलो पटक आयोजकले घोषणा गरेको हो । महिलाको क्षमता उसको शारिरीक बनोटबाट भन्दा पनि बौद्धिकतामा हुने आयोजकको तर्क छ । यसअघि यस्ता प्रतिष्पर्धामा भाग लिने महिलाको शारिरीक बनोटलाई लिएर आलोचना पनि हुने गरेको थियो ।
भेनेजुएलाको राजधानी काराकासमा यही बिहीबार मिस भेनेजुएलाको प्रतिष्पर्धा हुँदैछ । भेनेजुएलामा ७ जना मिस युनिभर्स र ६ जना मिस वल्र्ड छन् ।
(९०–६०–९० सेमी) को परम्परागत मान्यता अनुसार महिलाको शरीरको बनोट नाप्ने मापकलाई नै यस पटक यहाँको आयोजकले खारेज गरेको हो । यस वर्ष उनीहरु स्वीमसुट र इभिनिङ गाउनमा सजिएर स्टेजमा उत्रिन्छन् । तर उनीहरुको कम्मर, हिप र छातीको नाप सार्वजनिक गरिने छैन ।