भेनेजुएलाका ‘मोस्ट वान्टेड’मन्त्रीदेखि पाकिस्तानमा तालिबानी चेतावनीसम्म
यमनमा मिसाइल हमला हुँदा ५१ मारिए, दर्जनौँ घाइते
यमन : यमनको अडेन सहरमा मिसाइल आक्रमण तथा आत्मघाती हमलामा कम्तिमा ५१ जना मारिएका छन् । अरु दर्जनौँ मानिस घाइते छन् । बिहीबार यस्तो घटना भएको हो । हाउठी विद्रोही समुहको वेबसाइटले जनाए अनुसार ब्यालेस्टिक मिसाइल हमला गरेको हो ।
घाइतेहरुलाई अस्पताल लैजाने क्रम भइराखेकाले कति जना घाइते भए भन्ने पूर्ण जानकारी नआएको स्थानीय मिडियाले जनाएका छन् । साथै घटनामा मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
पाकिस्तानमा महिलालाई तालिबानी समुहको चेतावनी : एक्लै बाहिर ननिस्कनू
इस्लामाबाद : पाकिस्तानमा प्रतिबन्धित ताहरिक आई तालिबान पाकिस्तान समुहले ठूलो संगीत नबजाउन, पोलियो भ्याक्सिन नलगाउन र महिलालाई एक्लै बाहिर नजान भन्दै चेतावनी दिएको छ ।
उर्दु भाषामा एक पेज लामो म्यासेज लेख्दै तालिबान समुहले मिराम्साल क्षेत्रमा प्रचार गरेको हो । उत्तरी वाजिरिस्तान आदिवासी क्षेत्रमा यस्तो चेतावनी दिएको बताइएको छ । कम्प्युटरमा ठूलो ध्वनीमा संगीत बजाउने, महिला एक्लै बाहिर घुम्न हिँड्ने जस्ता कार्यले समाजमा हिंसा भड्काउने भन्दै उनीहरुले पम्प्लेटमा लेखेका छन् ।
हङकङ प्रदर्शनमा चिनियाँ सेनाको चेतावनी
बेइजिङ : हङकङमा जारी आन्दोलनमा सामेल प्रदर्शनकारीलाई कडा चेतावनी दिँदै चिनियाँ सेनाले एक भिडियो सार्वजनिक गरेको छ । ३ मिनेटको भिडियो उसले सामाजिक सञ्जालमै पोस्ट गरेको छ । जहाँ सेनाले हिंसाविरोधी अभ्यास गरिरहेका छन् ।
उसले प्रदर्शनकारीलाई घटनाको परिणामको जोखिम आफैँ व्यहोर्नुपर्ने भन्दै प्रदर्शनकारीलाई चेतावनी दिएको छ । हङकङमा दुई महिनायता सरकारविरोधी आन्दानेलन जारी छ । यस क्रममा ४० भन्दा धेरै अभियन्तामाथि हिंसा भड्काएको भन्दै अदालतमा मुद्दा परेको छ ।
भेनेजुएलाका मन्त्रीलाई अमेरिकाले राख्यो ‘मोस्ट वान्टेड’ सूचीमा
वासिङ्टन : अमेरिकी अध्यागमनका अधिकारीहरुले भेनेजुएलाका एक मन्त्री तारेक एल इस्सामीलाई नै शंकास्पद लागुऔषध तस्करीको सूचीमा राखेको पाइएको छ ।
अमेरिकामा ती तारेकलाई ‘मोस्ट वान्टेड’ सूचीमै राखिएको यहाँका अधिकारीहरुले बुधबार बताएका हुन् ।
अमेरिकाको अध्यागमनले त ‘के तपाईँले यी फरार अभियुक्तलाई देख्नुभएको छ ?’ भन्दै ट्वीटरमै सार्वजनिक गरेको छ । उनलाई अमेरिकाले ‘अन्तर्राष्ट्रिय लागुऔषध तस्करी’को रुपमा सूचीकृत गरेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यदी उनी यही मुद्दामा पक्राउ परेको खण्डमा उनले ३० वर्ष कैद बस्नुपर्ने छ ।
इराकमा आईएस आक्रमण, ६ सुरक्षाकर्मीको ज्यान गयो
बगदाद : इराकको राजधानी नजिकै सुरक्षाफौजमाथि लक्षित गर्दै इस्लामिक स्टेट समुहले आक्रमण गर्दा ६ जना मारिएका छन् । हमलामा तीनजना प्रहरी र प्यारामिलिटरी हासेद अल साहिबीका दुई सदस्यको मृत्यु भएको हो ।
एएफपीका अनुसार आईएसले तिक्रित भन्ने ठाउँमा हमला गरेको थियो । यहाँको सरकारले आईएसलाई हराएको घोषणा गरे पनि आईएसले पछिल्लो ग्रामिण भेगमा आक्रमण गर्न छाडेको छैन ।
इबोला आतंकसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गर्यो
रुवान्डा : कंगोमा इबोलाको भयपछि रुवान्डाले रुवान्डासँगको सीमाक्षेत्र बन्द गरेको छ । बुधबार मात्रै कंगोमा इबोलाका बिरामीको मृत्युपछि रुवान्डाले यस्तो सावधानी अपनाएको हो ।
इबोलाका अर्का बिरामीको पनि मृत्यु भएपछि कंगोमा यसले महामारीकै रुप लिएला कि भनेर शतर्कता अपनाइएको छ ।
नेदरल्याण्डमा अब बुर्का लगाउन प्रतिबन्ध
नेदरल्याण्ड : नेदरल्याण्डको सरकारले यहाँ यातायात लगायत सार्वजनिक स्थलमा बुर्का तथा नकाब पहिरन गर्न प्रतिबन्ध लगाएको छ । यस्तो नियमले मूलतः यहाँका मुस्लिम महिलालाई प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
देशको १ करोड ७ लाख मानिसमध्ये २ देखि ४०० महिलाले बुर्का लगाउने बताइन्छ । यस्तो कानुन दशक लामो राजनीतिक वादविवादपछि २०१८ मा मात्रै कानुन पास भएको थियो । यही बिहीबारदेखि यो कानुन लागु हुने छ ।