मालद्वीपका पूर्वउपराष्ट्रपति भारतमा पक्राउ
नयाँदिल्ली : मालद्वीपका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीवार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।
मालद्वीपको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यामीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदीबविरुद्ध परेको मुद्दामा सफाइ दिएको थियो । गत मे महिनामा सफाइ पाएपछि जेलबाट रिहा भएका मालद्वीपका पूर्वउपराष्ट्रपति अदीबलाई भारतको तमिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उनी भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दुबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवि कुमारले बताए ।
अदीबलाई यामीन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै बेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाइ हुने तयारी भएका बेला भारत छिरेको अनुमान छ । अदीब गत वर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए । नाम उल्लेख नगर्ने शर्तमा भारतीय एक अधिकारीले भने, ‘गलत प्रवेशद्वारबाट भारत आउन खोजेका अदीबसँग भारत प्रवेश गर्ने क्रममा राहदानी नरहेको भेटेपछि उहाँलाई पक्राउ गरिएको हो ।’
यसैबीच मालद्वीप प्रहरीले अदीबलाई उनीविरुद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल शुरु गरिएको बताएको छ । उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका बेला राज्यकोष दुरुपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागतरूपमा फिर्ता ल्याउने पहल गरिने मालद्वीप प्रहरीको भनाइ छ ।
‘हामी अहिले छिमेकी मुलुक भारतसँग अदीबलाई भारत फिर्ता गर्न सम्पर्क गरिरहेका छौँ’, मालद्वीप प्रहरीद्वारा जारी वज्ञप्तिमा उल्लेख छ । मालद्वीप प्रहरीका अनुसार अदीबले बुधवार आफूमाथि परेको मुद्दाबारे जवाफ दिन अदालतामा उपस्थित भएका थिएनन् । मालद्वीप सरकारले अदीबको राहदानी अनुसन्धान गर्ने क्रममा जफत गरेको छ ।