‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’
वासिङटन : आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरूको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल कायदाको नेता भएको बताउँदै आएका थिए। अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीनजना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। यद्यपि ती अधिकारीले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन्।
हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गरे। राष्ट्रपति ट्रम्पले भने, ‘यस बारेमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्नँ।’
सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको थियो। ओसामा बिन लादेनका २० छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन्। ओसामाकी तेस्रो पत्नीबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए। अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रूपमा हम्जाले अल कायदाको नेतृत्व गर्न थालेको जनाएको छ।
‘जिहादी राजकुमार’का रूपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देशमार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए। खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना पिता ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ। पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो।
हम्जाको विवाहसम्बन्धी एक अर्को भिडियोमा हम्जाले अल कायदाका वरिष्ठ व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो। उनीहरू दुबै इरानमा बसेको विश्वास गरिएको छ तर त्यहाँ घरमै नजरबन्द गरिएको हुन सक्ने अनुमान पनि छ।
विश्वमै इस्लामिक जिहाद फैलाउने मुख्य धरोहरका रूपमा लिइएका हम्जाको हत्या भएको हो भने त्यसले यस आन्दोलनमा ठूलो क्षति पुर्याउने अतिवादी संगठनहरूका विषयमा अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजले बताए। –रासस÷एएफपी