इबोला संकट : रुवान्डा-कंगो सीमा बन्द
गोमा : अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ। छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो।
कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रूपमा नाका बन्द गरेको उल्लेख छ। यहाँ दैनिक जीवनयापनका लागि स्थानीय बासिन्दा सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ। कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ।
रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोवास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ। रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाइ हुने पनि कंगोले जनाएको छ।
सन् २०१८ को अगस्तयता कंगोमा फैलिएको इबोलाका कारण १ हजार ८०३ जनाको ज्यान गइसकेको छ। गोमा शहरमा संक्रमित तीनजनामध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीले शहरी इलाकामा यो रोगको संक्रमण अझ तीव्र हुने बताएका छन्। रासस/एएफपी