पहिरोले घर भत्किँदा आमा, छोरीको मृत्यु
बाजुरा : बाजुराको गौमुल गाँउपालिका–६ बसालामा गएराति पहिरोका कारण घर भत्किँदा आमा छोरीको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी जनक ढुंगानाले जानकारी दिएका छन् ।
अबिरल वर्षासँगै घर माथिबाट पहिरो आएपछि ३० वर्षीय निरुता चँदारा र उनकी ६ वर्षकी छोरी किशु चदाराको मृत्यु भएको ढुंगानाले बताए । पहिरोमा परी अन्य ५ जना घाइते भएका छन् । घाइते मध्ये मृतक निरुताका ससुरा ९५ वर्षीय जंगे चँदारा गम्भीर छन् । अन्य घाइतेमा जंगे च“दाराका ३८ वर्षीय छोरा सुके च“दारा, बुहारी ३८ वर्षीया जडेनी चँदारा, १२ वर्षीया अस्मिता चँदारा र १० वर्षीय विकास चँदारा रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धबसिंह भाटले जानकारी दिए।
घर भत्किँदा च्यापिएका घाइते र मृतकलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो । घाइतेको घटमुनामा रहेको सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । थप उपचारका लागि घाइतेलाई सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यलयमा ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भाटले बताए।