दैनिकी सहज बनाउँदै नेपाली एप

दैनिकी सहज बनाउँदै नेपाली एप

काठमाडौं : पछिल्लो समय हरेक स्मार्टफोन बोक्ने नेपालीको मोबाइल स्क्रिनमा चल्तीका विदेशी मोबाइल एप्लिकेसन (एप)सँगै नेपाली एपको प्रयोग पनि बढेको छ। फेसबुक, भाइबर, म्यासेन्जर, ट्विटर, इन्स्टाग्राम अधिकांशको जीवनमा जोडिएकै कारण यी एपको प्रयोग सामान्य भइसकेको छ। विदेशी मात्रै हैन पछिल्लो समय स्मार्टफोनमा नेपाली एपले पनि स्क्रिनलाई रंगिन बनाएको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका आयुस भट्टराई आफ्नो अनुकूलताका लागि पठाओ एप प्रयोग गर्छन्। उनी यो एपले सेवामा सहज भएको बताउँछन्। प्रयोगमा सहज, साँझ बिहान तुरुन्तै सेवा दिने र भनेकै ठाउँमा आइपुग्ने भएकाले यसको सेवा मन परेको उनी बताउँछन्।

आफू अनुकूल र आवश्यकताका आधारमा नेपाली एप प्रयोग गर्ने भट्टराई बताउँछन्। प्रविधिसँगै उनले ई–सेवा तथा बैंकिङ एप पनि प्रयोग गर्छन्। एपको प्रयोगले उनलाई समयको बचत, सेवामा छिटोछरितो भएको छ।

लाजिम्पाटका सन्तोष पोखरेलले पनि नेपाली एप प्रयोग गर्न थालेका छन्। उनको मोबाइलमा हाम्रो पात्रो, नेपाली किबोर्ड, दैनिक सञ्चार माध्यमका समाचार एप, लुडो र कलब्रेक, टीभीसहित १५ वटा नेपाली एप छन्। तिथि मिति हेर्न, समाचार पढ्न, रेडियो सुन्नदेखि एउटै एपले विभिन्न सेवा दिएकाले हाम्रो पात्रो अलि बढी प्रयोग गर्छन्। बिहान रेडियो सुन्दै काम गर्न मन पराउने पोखरेललाई एपले सहज बनाइदिएको छ। मोबइलमा नेपाली भाषा लेख्न हाम्रो किबोर्ड, दैनिक घटना र जानकारीका लागि समाचार एप, रिफ्रेस बनाउन गेम एप पोखरेलको साथि बनेका छन्।

भट्टराई र पोखरेल त प्रतिनिधि पात्र मात्रै हुन्। प्रविधिसँगै एपको प्रयोग गर्नेको जमात बढिरहेको छ। यहीँ जमातकै भीडमा नेपाली एप रुचाउनेको संख्या पनि बढिरहेको छ। पानी, बत्तीको बिल, सपिङ, बैंकिङ कारोबार, फेसन, मोबाइल रिचार्र्ज, ट्याक्सीको बिल, फिल्मको टिकट, कृषि, सञ्चार, सेयरसम्बन्धी जानकारी नेपाली एपले दिएको छ। कुनै प्रकारको भुक्तानी लिन दिन, मनोरन्जन, सवारी सुविधादेखि दैनिक कामलाई एप्सले सजिलो बनाइदिएको छ। प्रयोग बढिरहेको र सेवा सुविधामा एपले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ।

पानी बत्तीको बिल, सपिङ, बैंकिङ कारोबार, फेसन, मोबाइल रिचार्र्ज, ट्याक्सीको बिल, फिल्मको टिकट, कृषि, सञ्चार, सेयरसम्बन्धी जानकारी नेपाली एपले दिएको छ।

एप अहिले आवश्यकताको विषय बनेको छ। प्रविधिमैत्री समाज बनाउन सूचना प्रविधिको क्षेत्रका क्रियाशील कम्पनी कोड फर कोर इनोभेसनका प्रमुख कार्यकारी अधिकृत अपार प्रमोदले एप्स अब सबैको आवश्यकता भएको बताए। उनका अनुसार एपले व्यापार वृद्धि गर्छ। प्रविधिको लाभ लिन एपको प्रयोग बढ्ने हो।

व्यापार प्रवर्द्धनमा एप

एपले विभिन्न व्यावसायिक कम्पनीको व्यापार प्रवर्द्धन गर्न सहयोग पु¥याएको छ। नेपाली एपको ओइरो पनि व्यावसायिक प्रयोजनका लागि भएको छ। व्यावसायिक प्रयोजनमा एपको प्रयोग विस्तारै बढ्न थालेको छ। व्यापार व्यवसायमा अब्बल बनिसकेका कम्पनीले बिजनेससँग जोड्न नसक्दा भनेजस्तो विस्तार हुन नसकेको आपर प्रमोद बताउँछन्। उनका अनुसार अझै कर्पोरेट हाउस तथा व्यापारिक क्षेत्रको प्राथमिककतामा एप पर्न सकेको छैन।

पछिल्लो समय सांगीतिक, ट्राभल एन्ड टुर, समाचार र मनोरन्जन, स्थानीय तहसहितको एप बनाउने क्रममा रुची देखिएको छ। नेपालमा एक प्रकारको व्यवसाय चलेको अवस्थामा त्यसैलाई पछ्याउने संस्कृति बढ्दै गएकाले पनि एपको प्रयोगमा प्रतिस्पर्धा छ। पेमेन्ट एप, न्युज एप, सवारी, मनोरन्जन, कर्पोरेट क्षेत्रका एपको बजार अधिक छ।

सूचना लिने एपको प्रयोग बढी

आवश्यकता र मागका आधारमा एप निर्माण हुने गरेको छ। प्रयोगकर्ताका हिसाबले सूचना लिने एपको प्रयोग बढी रहेको सफ्टनेपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल रिजालले बताए। उनका अनुसार अनलाइनबाटै किनमेल गरिने ईकमर्सका एपमासमेत रुची देखिएको छ। पछिल्लो समय नेपालमा चल्तीमा अगाडि आएका हाम्रो पात्रो, ई–सेवा, खल्ती, टुटलसहितका उपयोगी साधन र गेमका एपको प्रयोग बढेको छ। नयाँ क्षेत्र खोज्ने गरी आउन नसक्दा उस्तै प्रकृतिका एपको माग बढी देखिन्छ।

एपको नियमन

सूचना प्रविधिको प्रयोगसँगै एप प्रयोग हुनु सामान्य हो। पछिल्लो समय सबैजसो क्षेत्रमा आ–आफ्नै एप बनिरहेका छन्। यस्ता एपले सूचना संकलन गर्ने, डाटा लिने तथा गोप्य डकुमेन्ट लिएर दुरुपयोग नगरोस् भन्न नियमन गर्नुपर्ने आवश्यकता औल्याइएको छ। यो विषयमा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया बढाउनुपर्ने हुन्छ।

एपको नियमन आवश्यक देखिए पनि अहिलेसम्म यसमा कुनै गुनासो र समस्या नआएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्। उनका अनुसार सरकारले कुनै न कुनै रूपमा यसको नियमन गर्नुपर्ने हुन्छ। एपको प्रयोगबाट उपभोक्ता ठगीमा नपरुन् र गोप्य सूचना बाहिर नजाओस् भन्न नियमन अवश्यक देखिएको अर्यालले बताए।

डाटाको सुरक्षा र गोपनीयता कानूनमै

सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रका अनुसार एप नियन्त्रण गर्ने नीति नियम बनेको छैन। तर, चाहियो भनेको अवस्थामा चाहिँ आवश्यकता अनुसार नीति नियममा सहयोग गर्न सकिन्छ। एपको प्रयोगमा डाटाको सुरक्षा र गोपनीयता भने कायम गराउने व्यवस्था कानूनमै राखिने मिश्र बताउँछन्। उनका अनुसार सरकारले तयारी गरिरहेको सूचना प्रविधि ऐनमै डाटा सुरक्षा र गोपनियता विषय हुनुपर्ने उल्लेख छ। यसको मुख्य उद्देश्य एप प्रयोग गर्दा उपभोक्ताले विश्वास गर्ने र एप निर्माताले गोपनीयता कायम गर्नुपर्छ भन्ने नै हो। डाटाको दुरुपयोग हुन नदिने र व्यवस्थित प्रयोग गर्न लगाउन सरकार प्रतिबद्ध छ।

उपयोगी र चल्तीका केही नेपाली एप

हाम्रो पात्रो  : हाम्रो पात्रो अनलाइन क्यालेन्डर हो। यसको प्रयोगबाट समाचार पढ्न, तिथि मिति हेर्न, परिवर्तन गर्न, कुनै विशेष दिनको नोटिफिकेसन लिन, अनलाइन रेडियो सुन्न सकिन्छ। यसमा जन्म कुन्डली हेर्न, राशिफल, फरेक्स, सेयरबजार, सुनचाँदी र तरकारीको भाउँको जानकारीसहित सेवा लिन सकिन्छ।

ई–सेवा  : ई–सेवा मोबाइल वालेट हो। यसबाट मोबाइल रिचार्ज शुल्क, पानी, बत्तीको बिल भुक्तानी, बस तथा हवाई टिकट लिन सकिन्छ, टीभी रिचार्ज, इन्टरनेट, बिमा, स्कुलको शुल्क तिर्न सकिन्छ। यसको प्रयोगबाट पैसा पाउन र तिर्न सकिन्छ।

खल्ती  : यो पनि मोबाइल वालेट हो। यसको प्रयोग पनि नगद कारोबार इलेक्ट्रोनिक माध्यमबाट गर्न सकिन्छ। यसबाट पानी, बत्ती, टीभी, इन्टरनेट, स्कुलको शुल्क तिर्न सकिन्छ। पैसा लिन र दिन एपको उपयोग भएको छ।

लुडो किङ  : परम्परागत रूपमा खेलिने लुडोलाई डिजिटल भर्सनमा निकालिएको छ। सबै तह र वर्गले खेल्न मिल्ने यो एपलाई धेरैजसो नेपालीको फुर्सदको समय बिताउने साथि भएको छ। यसलाई अटो प्ले गरेर एक जनाले पनि खेल्न सक्छ।

हाम्रो किबोर्ड  : मोबाइलबाट युनिकोडमा टाइप गर्न र नेपाली भाषा लेख्न यसको प्रयोग अधिक छ। नेपालीमा सीधै लेख्न मिल्ने र युनिकोडमा परिवर्तन हुने तथा सहज चलाउन सकिने यो एप चलनचल्तीमा रुचाइएको मोबाइल एप्लिकेसन हो।

नेपाली डिक्सनरी  : एकपटक डाउनलोड गरेपछि अफलाइनमा पनि चलाउन सकिने भएकाले यसको प्रयोग बढेको छ। यसलाई नेपालीबाट अंग्रेजीमा र अंग्रेजीबाट नेपालीमा चलाउन सकिने र प्रोननसिएसन पनि भएकाले यो एपको प्रयोग अत्यधिक रुचाइएको छ।

टुटल  : यो मोटरसाइकलमा यात्रु ओसारपसार गर्न प्रयोग गरिने एप हो। यसको प्रयोगबाट मोटरसाइकल चालकले यात्रु सेवा दिइरहेका छन्। यसलाई काठमाडौं उपत्यकामा पछिल्लो समय निकै रुचाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.