नेपालमै १६ सयको मिर्गौला प्रत्यारोपण

नेपालमै १६ सयको मिर्गौला प्रत्यारोपण

 काठमाडौं : नेपालमै ११ वर्षमा झन्डै १६ सय जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जबाट ०६५ साउन २४ गते प्रत्यारोपण सेवा सुरु गरिएको थियो। यो सेवामा निजी क्षेत्रको पनि संलग्नतापछि प्रत्यारोपणको संख्या बढेको कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताएका छन्। उनका अनुसार सातामा दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ। ‘बिदाको दिन परेको वा कुनै कारणवश प्रत्यारोपण नहुन सक्छ’, उनले भने। टिचिङमा ७ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिएको छ।

मानव अंग प्रत्यारोपण केन्द्रले गत वर्ष १ सय ७९ जनाको मिर्गौला प्रत्यारोपण गरी रेकर्ड कायम गरेको छ। ‘सातामा ६ देखि ८ जनाको सफल प्रत्यारोपण गरेका छौं’, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘सरकारले सहयोग गरे सातै प्रदेशबाट सेवा दिन तयार छौं।’ केन्द्रले ६ सय ५५ जनालाई सेवा दिएको छ।

पूर्वाधार र जनशक्ति अभावमा जेठो वीर अस्पतालले यो सेवाले गति लिन सकेको छैन। वीरमा हरेक साता एक जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले सेवा प्रभावकारी बनाउन लागिपरेको बताए। ‘पूर्वाधार, जनशक्ति र शड्ढया अभाव हुँदा अपेक्षाअनुरूप प्रत्यारोपण सेवा अपेक्षाअनुरूप सञ्चालन गर्न सकेका छैनौं’, उनले भने। अस्पतालले गत वर्ष १४ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो।

निजीतर्फ ग्रान्डी इन्टरनेसनल, निदान र सुमेरु सामुदायिक अस्पतालले प्रत्यारोपण सेवा दिइरहेका छन्। ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले साढे दुई वर्षमा ४५ जनाको मिर्गौला प्रत्यारोपण गरिएको बताए।

निदानले एक वर्षमा ६ र सुमेरुले दुई जनामा प्रत्यारोपण गरेको छ। अंग सुमेरुले यो सेवाका लागि प्रत्यारोपण समन्वय समितिबाट हालै स्वीकृति लिएको छ। काठमाडौं उपत्यकाबाहिर चितवनस्थित भरतपुर मेडिकल कलेजमा पनि यो सेवा उपलब्ध छ। तीन जनाको प्रत्यारोपण गरिएको निर्देशक डा. मनोहर प्रधानले बताए।

लक्षणसमेत नदेखिई मिर्गौला बिग्रिने गरेको विशेषज्ञ बताउँछन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार ३ लाख नेपाली मिर्गौलाको समस्याबाट पीडित छन्। वर्षमा झन्डै ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको अनुमान छ। बिरामीले डायलाइसिस वा प्रत्यारोपण गर्दैआएका छन्। प्रत्यारोपण गरेका बिरामीले खानुपर्ने औषधि महँगो रहेको उनले बताए। ‘सरकारको अर्बौ रुपैयाँ डायलाइसिसमा खर्च भएको छ’, उनले भने, ‘करोडौं रुपैयाँ जनचेतनामा खर्च गर्ने हो भने धेरैको मिर्गौला फेल हुनबाट जोगिन्थ्यो।’

सुमेरुमा निःशुल्क

सुमेरु सामुदायिक अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई जनाको मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको छ। गोरखाका विकास गुरुङ र रामेछापकी सुकरानी मोक्तानलाई निःशुल्क गरिएको अस्पतालका अध्यक्ष भरत महर्जनले बताए। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्ले नेतृत्वको टोलीले प्रत्यारोपण गरेको थियो। टोलीमा सर्जन डा. वीरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डीभी कार्की, डा. बेस अन्सारी संलग्न थिए। यस्तै, नेफ्रोलोजिस्टका रूपमा डा. राजेन्द्र अग्रवाल, डा. नवीन बस्नेत र एनेस्थेसिस्टमा डा. महालक्ष्मी देउजा, डा. अनिल ओझालगायत चिकित्सक संलग्न थिए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मिर्गौला प्रत्यारोपणमा कानुन लचक भएकाले नातेदारले अंग दान गर्न सक्ने बताए। ‘प्रत्यारोपण सर्जनहरू बढेका छन्’, निःशुल्क मिर्गौला प्रत्यारोपण तथा अस्पतालको भावी योजनासम्बन्धी कार्यक्रममा उनले भने, ‘निजी क्षेत्रले स्वास्थ्य सेवामा गरिरहेको योगदान प्रशंसनीय छ।’ अस्पतालका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले मिर्गौलाका बिरामीको संख्या बढ्दै गएको बताए। त्यसैले प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्नुपर्ने खाँचो रहेको उनको भनाइ थियो। अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले मिर्गौला प्रत्यारोपण कार्यलाई सुमेरु अस्पतालले निरन्तरता दिने जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.