‘पहिलोचाेटी कारबाही गर्दा चालकसँग डराएको थिएँ’
आरामै हुनुहुन्छ, सर?
ड्युटी गर्न थालेको कति भयो?
यसअघि कहाँ ड्युटी गरियो?
सिभिल प्रहरी भएर काम गरेँ नि !
त्यहाँ कति समय काम गर्नुभयो?
तीन वर्ष।
सेवा क्षेत्रमा कसरी आइयो?
घरको आर्थिक अवस्था कमजोर भएकाले ‘जागिर गर्नुपर्छ’ भन्ने थियो। त्यही बेला प्रहरीमा फारम खुलेको थाहा पाएँ, भरेँ। नाम निस्कियो।
प्रहरीमा जागिरका लागि फारम खुलेको कसरी थाहा पाउनुभयो?
गाउँले दाजुभाइले फारम भरिरहेका थिए। उनीहरूबाटै थाहा पाएको हुँ।
प्रहरीमा नाम निस्कँदा कस्तो महसुस भयो?
प्रहरीमा नाम निस्किँदा साह्रै रमाएको थिएँ। आमाबालाई आर्थिक सहयोग गर्न सक्ने भएँ र पढाइलाई पनि निरन्तरता दिन सक्छु भनेर एकदमै खुशी लाग्यो।
परिवारको प्रतिक्रिया कस्तो रह्यो?
आमाबुबा पनि धेरै खुशी हुनुभयो। गाउँमा हाम्रो परिवारको इज्जत बढ्यो। मैले जागिर खाइसकेपछि गाउँलेले बुबालाई ‘प्रहरीको बा’ भन्थे।
प्रहरी नभएको भए के काम गरिन्थ्यो होला?
खेतीकिसानी गर्थें होला।
सिभिलबाट ट्राफिक प्रहरीमा आउन के कुराले प्रेरित गर्यो?
ट्राफिक प्रहरी सडकमा मान्छेसँग प्रत्यक्ष सम्पर्कमा रहन्छ। धेरैभन्दा धेरै मानिससँग घुलमिल गर्न पाउने भएकाले यतातिर आउन मन लाग्यो।
सडकमा पहिलो दिन कस्तो रह्यो?
पहिलो दिन अरू ट्राफिक साथीले सहयोग गर्नुभएकाले सजिलो भयो। त्यसपछिका दिन भने कठिन बन्दै गए। सुरु–सुरुमा एक्लै काम गर्न गाह्रो हुन्थ्यो। चारैतिरबाट गाडी आउँदा डर लाग्थ्यो। पहिलोचोटि चालकलाई कारबाही गर्दा ऊभन्दा बढी म डराएको थिएँ। त्यतिखेर चालकदेखि डराउने ट्राफिक प्रहरी म नै हुँलाजस्तो लाग्यो। अहिले त बानी परिसक्यो। सडकमा काम गर्न रमाइलो लाग्छ।
‘नयाँ ट्राफिक प्रहरीलाई चालकले हेप्छन्’ भन्ने सुनिन्छ?
नयाँ ट्राफिक प्रहरी देखेपछि जे गरे पनि हुन्छ भन्ने चालक÷सहचालकको सोच हुन्छजस्तो लाग्छ। किनकि, हामीले जति सिटी बजाए पनि टेर्दैनन्। यो हेप्न खोजेको नभए के हो त?
त्यस्तो परिस्थितिलाई कसरी सम्हाल्नुहुन्छ?
यस्ता अनुभवले नयाँ ट्राफिक प्रहरीलाई काम गर्न सिकाउँछ। मेरो हकमा भन्ने हो भने दिन प्रतिदिन कडा बन्दै गएँ। नियम तोड्नेलाई कारबाही गर्दै गएँ।
अहिले पनि त्यस्तो समस्या भोग्नुपर्छ कि?
अहिले त्यस्तो अवस्था छैन। ट्राफिक नियम मिच्नेलाई ड्युटीमा एकदमै कडा रूपमा प्रस्तुत भइन्छ।
गौशाला एरियाका समस्या के हुन्?
मुख्य समस्या बाटो हो। धुलोले हैरान पार्छ। ट्राफिक लाइट भइदिए काम गर्न सहज हुन्थ्यो।
बर्सातमा सडकमा काम गर्दा के कस्ता स्वास्थ्य समस्या देखापरेका छन्?
हिलोमाटो, पानीले गर्दा रुघाखोकीले नराम्रोसँग सताएको छ।
सवारीसाधन स्पिडमा आउँदा बाटोमा छरिएका ढुंगागिटीले लाग्ने डर हुन्छ?
ढुंगागिटी उछिट्टिएर दुईतीन पटक लागिसकेको छ।
घर कता पर्यो, सरको?
बर्दिया।
यता कता बस्नुहुन्छ?
गौशाला ब्यारेकमा।
ट्राफिक प्रहरी बिहान कति बजेदेखि ड्युटीमा खटिन्छन्?
बिहान साढे ५ देखि ड्युटी सुरु हुन्छ।
बेलुका कति बजे सकिन्छ?
त्यो भन्न सकिँदैन। नाइट ड्युटी छ भने राति ११–१२ बज्छ। नत्र, ८–९ बजे सम्म हुन्छ।
यो एरियामा चालक मापसेमा कत्तिको पर्छन्?
एक दिनमा १०–१५ जना चालक पर्छन्।
एक दिनमा कति वटा सवारीसाधनलाई ह्विल लक लगाइन्छ?
१०–१२ वटा सवारीसाधनमा लगाइन्छ होला। जति भने पनि अव्यवस्थित पार्किङ गर्न छोड्दैनन् चालकहरू। ‘एक छिन त हो नि’ भन्दै बाटो नै अवरुद्ध हुने गरी सवारीसाधन राख्छन्।
आशक्ति फुयाल