उपराष्ट्रपति पुन र मोरक्कोका राजदूतबीच भेट
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका लागि मोरक्कोका राजदूत मोहम्मेद मल्लिकीबीच भेटवार्ता गरेका छन्। शुक्रबार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो।
भेटमा उपराष्ट्रपतिले नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताए। उनले नेपाल र मोरक्कोबीच आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताए।
उपराष्ट्रपति पुनले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताए। उनले नेपालमा मोरक्कोलाई लगानीका लागि आग्रहसमेत गरे।
भेटमा राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्र राष्ट्र भएको बताए। कृषि लगायत विविध क्षेत्रमा नेपालसँग सहकार्य गर्न मोरक्को जहिल्यै तयार रहेको माल्लिकीको भनाइ छ।