राजन मुकारुङको ‘हाटा’ सार्वजनिक
काठमाडौं : मदन पुरस्कार विजेता कवि राजन मुकारुङको कविता सङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ। अनामनगरस्थित मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, कवि यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले हाटा सार्वजनिक गरे।
कवि यज्ञशले कविताले सामाजिक कथा बोकेको उल्लेख गरे। ‘कवितामा वर्ग, पहिचान र विद्रोह छ’, उनले भने, ‘संघर्षका मिठा कथा छन्।’ कविताले यौनिकताको सवाल उठाएको समीक्षक कैलाश राईले बताइन्। ‘कविता प्रतिपक्षी छ’, उनले भनिन्, ‘अधिकांश कविताले राज्यसत्तालाई प्रश्न गर्छन्।’
कवि मुकारुङले हिजो समाज परिवर्तन गर्ने भनेर हिँडेका नै आज राज्यसत्तामा पुगेर सत्ताभोगी भएको गुनासो गरे। उनले ती ‘सत्ताभोगी’लाई प्रश्न गर्न कविता कृति जन्मिएको बताए। ‘समाज तथा देश परिवर्तनका लागि राज्यसत्तालाई प्रश्न गर्न यो कविता आएको हो’, उनले भने।
कविताकृतिमा समाज, समय र राजनीतिसँग सम्बन्धित ३९ वटा कविता रहेका छन्।