एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

उदयपुर : जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर ग¥यो ।

देवीमायासँग अदालतको फैसला स्वीकार्नुको विकल्प थिएन । अझै अदालत धाउँदाको खर्च र पीडा थेगी नसक्नु भयो । अदालत धाउँदा ३ वर्षमा गाडी भाडा मात्र १४ लाख रुपैयाँ बुझाएको उनले बताईन् । खान, बस्न र कानुन व्यवसायीको खर्च बेग्लै छ । ‘भौगोलिक विकटताले जानआउन र मुद्दा पेसीको दिन गरी तीन दिन लाग्छ । खर्चको हिसावले एक पटकमा लगभग ५० हजार लाग्छ’, उनले भनिन्, ‘भनेको बेला गाडी पाईदैन । त्यसमाथी बसको यात्रा जोखिम छ, ढिला हुन्छ भनेर कानुन व्यवसायी सार्वजानिक यातायातमा जान मान्दैन । गाडी रिजर्व गर्नुपर्छ ।’

गाडी रिजर्व लिएर जाँदा तीन दिनको २५ देखि ३० हजार लिन्छ । बाँकी आफु, साक्षी, सहयोगी, कानुन व्यवसायीको खाना र बास खर्च २० देखि २५ हजार लाग्ने उनले बताइन् । भन्छिन्, ‘कहिले काहीँ त महिनामा तीन पटकसम्म पेसी तोकियो । महिनामै डेढ लाखसम्म खर्च भयो ।’ गरिबलाई मात्र होइन हुने खानेलाई समेत उच्च अदालत धाउन महंगो पर्छ ।

कपितय पीडित उच्च अदालत धाउन बढी खर्च हुने हुनाले नगएकै बेस भन्दै पीडा सहन, लुकाउन बाध्य हुने गरेको नेपाल बार एशोसियसन उदयपुर इकाइका पुर्वअध्यक्ष श्यामन्द चौधरीले बताए । देवीमायामात्र होइन त्रियुगा साना सिचाई खानेपानी उपभोक्ता समितिले समेत उच्च अदालत धाउँदा करिव ५ लाख रुपैयाँ सकिसकेको छ । सानो गाडी रिर्जव, समितिका पदाधिकारी, वकिलको खाने बस्ने खर्च धान्न चर्को परेको समितिका कार्यवाहक अध्यक्ष ओमबहादुर खड्काको भनाइ छ ।

त्रियुगा नगरपालिका १२ का जगदेव चौधरीले जग्गाको हककायम मुद्दामा उच्च अदालतमा १ वर्ष धाउँदा ३ लाख रुपैयाँ सकिएको बताए । ‘२०७५ साल चैत २५ गते मुद्दा किनारा लाग्यो । सोचेअनुसार सफल त भयो, तर खर्च धान्नै नसक्ने’, उनले भने, ‘गाडी दोहोर आवतजावत गर्ने बाटो पनि छैन् । ज्यानै माया मारेर यात्रा गर्नु पर्छ ।’ यसरी मुद्दा गर्दा पैसा त सकिन्छ नै ज्यान पनि सकिएला की भन्ने डर हुने उनले बताए । ‘घरबाट हिँडेदेखि नफर्किएसम्म आइपुगिन्छ कि पुगिदैन भन्ने परिवारमा पनि चिन्ता हुन्छ’, उनले भने ।

त्रियुगा नगरपालिकाका कानुनी सल्लाहकार कृपाराम चौधरीले ओखलढुंगा धाउँदा एकपटकमा ५० हजारसम्म खर्च भएको सुनाए । एउटा मुद्दा सरदर एक बर्षभित्र छिनोफानो हुँदा कानुन व्यवसायीको शुल्कवाहेक गाडीभाडा र खानबस्नमात्र ५ देखि ६ लाख रुपैयाँसम्म खर्च हुने बताए । कटुवाल, खड्का र चौधरी प्रतिनिधि पात्र मात्र हुन् । उच्च अदालतमा दर्ता भएका मुद्दामध्ये ७० प्रतिशत उदयपुरको रहेको नेपाल बार एशोसियन उदयपुरका अध्यक्ष शिवबहादुर कार्कीले जानकारी दिए । उच्च अदालतमा ०७५/०७६ मा साधकसहित ६ सय १ मुद्दा दर्ता भएकोमा ३ सय ५४ मुद्दा उदयपुरको रहेको उच्च अदालतका सूचना अधिकारी उद्धव ढोडारीले जानकारी दिए ।

उदयपुरबाट उच्च अदालत ओखलढुंगा धाउँदा सडक मुख्य समस्या छ । सिद्धिचरण राजमार्गअन्तर्गत कटारीदेखि घुर्मिसम्म झण्डै ८० किलोमिटर सडकको अवस्था दयनीय छ । यो बाटोमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नु पर्ने बाध्यता रहेको वरिष्ठ अधिवक्ता मोहनबहादुर कार्कीले बताए । एक लेन सडक भएकाले आवतजावतमा समस्या हुने गरेको उनको भनाइ छ । सार्वजानिक यातायातमा सदरमुकामदेखि ओखलढुंगासम्म सवार गर्दा एकतर्फीको १५ सय रुपैयाँ भाडा लाग्छ । यो बाटो तय गर्न सार्वजानिक यातायातलाई ८ घण्टा लाग्छ ।

वार आन्दोलनमै, प्रदेश कानुन मन्त्रीलाई ज्ञापनपत्र

तत्कालिन अवस्थामा जिल्ला अदालतको फैसलामा चित्त नबुझे सगरमाथा अञ्चलको केन्द्र सप्तरीको राजविराज धाउनु पथ्र्यो । छुट्टै जिल्ला भए पनि उदयपुर सदरमुकाम गाइघाटबाट राजविराज डेढ घण्टाको दुरीमा पर्छ । संघीय व्यवस्थासँगै सप्तरी प्रदेश २ र उदयपुर प्रदेश १ मा परेपछि संघीय सरकारले उदयपुरको पुनरावेदन विराटनगरस्थित अस्थायी इजलास ओखलढुंगालाई तोकेको थियो । पुनरावेदन ओखलढुंगा तोकिएलगत्तै नेपाल बार एशोसियसनलगायत नागरिक समाज आन्दोलनमा छ ।

आन्दोलनका क्रममा बारको अगुवाईमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा सम्भव भए उच्च अदालत उदयपुरमा हुनुपर्ने नभए विकल्पमा विराटनगर तोक्न माग गरिएको छ । बिराटनगर पुग्न अढाई घण्टा लाग्छ । यातायातको पहुँचमा रहेकाले तथ्यसहित माग पेस गरेको अध्यक्ष कार्कीले बताए ।

मन्त्री कार्कीले उदयपुरको समस्याप्रति आफु चिन्तित रहेको बताएका छन् । आफ्नो क्षेत्राधिकार भित्र नरहे पनि कोसिस गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मन्त्रीपरिषद्बाट उदयपुरमै इजलास खडा गर्ने गरी निर्णय गरी न्यायपरिषद् र नेपाल सरकारको ध्यानाकर्षण गरिने पनि उनले बताए । सर्वपक्षीय टोलीमा प्रदेश सांसद, नगरपालिकाका मेयर, राजनीति दलका नेता तथा कार्यकता, नागरिक समाज, पत्रकार, उद्योगी, व्यापारी सहभागी थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.