स्वर्णको लक्ष्यसहित सागको तयारी

स्वर्णको लक्ष्यसहित सागको तयारी

काठमाडौं : आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना हुँदैछ। आफ्नै भूमिमा आयोजना हुने दक्षिण एसियाकै बृहत् प्रतियोगिताका लागि अधिकांश खेलका खेलाडीको प्रशिक्षण सुरु भइसकेको छ। केही खेलका खेलाडीको प्रशिक्षण विदेशमा भइरहेको छ भने प्राय : खेलको प्रशिक्षण नेपालमै भइरहेको छ।

१३औं सागमा समावेश २७ खेलमध्येको एक हो, भलिबल। पुरुष भलिबल टोली साउन अन्तिममा सुरु हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा व्यस्त छ भने महिला खेलाडी १३औं सागको तयारीमा जुटेका छन्। प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडीको प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको छ। खेलाडीलाई जगदीशप्रसाद भट्टले प्रशिक्षण दिइरहेका छन्। उनलाई सलिना श्रेष्ठ र महेश महर्जनले सघाउँदै छन्।

नयाँ तर प्रतिभावान् खेलाडी

नेपाल भलिबल संघले गठन गरेको खेलाडी छनोट समिति र प्रशिक्षकले खेलाडीको दक्षता र क्षमताअनुसार छनोट गरिएकाले सबै खेलाडी प्रतिभावान् रहेको प्रमुख प्रशिक्षक भट्ट बताउँछन्। ‘सबै खेलाडी प्रतिभावान् छन्। उनीहरूमा राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावना छ’, प्रशिक्षक भट्ट भन्छन्, ‘नयाँ खेलाडीले एकपटक हार्लान् तर उनीहरूले दसौं वर्ष जितिरहन्छन्। त्यही भएर यस पटक नयाँ खेलाडीलाई बढीभन्दा बढी अवसर दिएका छौं।’

प्रशिक्षक भट्टले हरेक वर्ष खेलाडी परिवर्तन भइरहने भएकाले अहिले भइरहेको विवादमा कुनै तुक नरहेको बताए। ‘कुनै पनि टोलीमा एउटै खेलाडी बसिरहँदैन। हरेक वर्ष खेलाडी परिवर्तन भइरहेका हुन्छन्’, उनी भन्छन्, ‘त्यसैले अहिले जुन विवाद भइरहेको छ, त्यसमा कुनै तुक छजस्तो मलाई लाग्दैन।’

लगातार चार महिना प्रशिक्षण

महिला खेलाडीको पहिलो चरणमा आठ साता लामो प्रशिक्षण हुनेछ। जसमा ७० प्रतिशत फिजिकल, २० प्रतिशत टेक्निक र १० प्रतिशत ट्याक्टिसको प्रशिक्षण हुनेछ। सातामा १० सेसनको प्रशिक्षण हुने जानकारी प्रमुख प्रशिक्षक भट्टले दिए। उनका अनुसार चार सेसन ट्रेनिङ, दुई सेसन गेम, दुई सेसन फिटनेस र दुई सेसन वेट ट्रेनिङ सञ्चालन भइरहेको छ।

खेलाडीले फिटनेस वेट ट्रेनिङ प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा गरिरहेको प्रशिक्षक भट्टले जानकारी दिए। अहिले खेलाडीलाई दुई समूहमा विभाजन गरी दिनमा दुई पटक प्रशिक्षण सञ्चालन भइरहेको छ। टोलीकी साइड स्पाइकर रेश्मा भण्डारी सबै कुरामा राम्रो ट्रेनिङ भइरहेको बताउँछिन्। ‘डाइट, पानी र औषधिलगायत सबै सुविधा पाएका छौं’, उनी भन्छिन्, ‘म्याटमा प्रशिक्षण गर्न पाएको भए अझ राम्रो हुन्थ्यो।’ एउटा मात्र म्याट भएकाले पुरुष टोलीले त्यसमा प्रशिक्षण गरिरहेको उनले बताइन्।

मंसिर १५ बाट सुरु हुने १३औं सागका लागि चार चरणमा खेलाडी छनोट गरिन लागेको छ। छनोट समिति र प्रशिक्षकले पहिलो चरणमा २५ जना खेलाडी छनोट गरिसकेका छन्। उनीहरूमध्येबाट दोस्रो चरणमा १८, तेस्रो चरणमा १४ र चौथो तथा अन्तिम चरणमा अन्तिम १२ जना खेलाडी छनोट गरिने छ।

नेपाली टोलीको बलियो र कमजोर पक्ष

पहिलो चरणको करिब दुई साताको प्रशिक्षण सम्पन्न भइसक्दा प्रमुख प्रशिक्षक भट्टले खेलाडीको बलियो र कमजोर पक्ष आकलन गरिसकेका छन्। नेपाली खेलाडीको बलियो पक्ष स्पाइक र ब्लक रहेको छ भने सर्भिस र डिफेन्समा अलि कमजोर पाइएको प्रशिक्षक भट्टले बताए। चार महिनाको समय रहेकाले यो समयभित्र सबै पक्षमा टिम तयार हुने विश्वास उनले व्यक्त गरे।

‘हामीसँग चार महिनाको समय छ। यस समयभित्र टिम पूर्ण रूपमा फिट भइसक्छ’, प्रशिक्षक भट्टले भने। रेश्मा भण्डारी १२औं सागमा जम्मा एक महिनाको तयारीमै पनि कांस्य पदक जितेकाले यस पटक राम्रो तयारी भएमा स्वर्णकै दाबेदार रहने बताउँछिन्। ‘तयारीका लागि लामो समय हामीसँग छ। नयाँ टिम र नयाँ जोश भएकाले हामी स्वर्णकै दाबेदार हौं’, उनी भन्छिन्।

लक्ष्य स्वर्ण पदक

दक्षिण एसियामा नेपालको महिला भलिबलले सदैव उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सन् २०१६ मा भारतमा आयोजना भएको १२औं सागमा नेपालले कांस्य पदक जितेको थियो। सेमिफाइनलमा श्रीलंकासँग ‘टेक्निकल फल’का कारण पराजित हुनु परेकाले यस पटक नेपाली टोलीको लक्ष्य मुलुकमा ऐतिहासिक स्वर्ण पदक भित्र्याउने छ।

यसका लागि नेपालको मुख्य प्रतिस्पर्धी भारत र श्रीलंकालाई कसरी हराउने भन्ने रणनीति पनि बनाउनुपर्ने आवश्यक रहेको प्रशिक्षक भट्ट बताउँछन्। ‘हाम्रो मुख्य प्रतिस्पर्धी भारत र श्रीलंका हो। १२औं सागमा टेक्निकल आधारमा श्रीलंकासँग हारेकाले फाइनल खेल्न पाएनौं’, उनी भन्छन्, ‘यस पटक भारतसँग फाइनल खेल्ने मात्र होइन, उनीहरूलाई पराजित गर्ने अभियानमा छौं।’

वैदेशिक एक्सपोजरको आवश्यकता

अहिले प्रशिक्षणमा रहेका ३-४ जना खेलाडीबाहेक अरूसँग अन्तर्राष्ट्रिय अनुभव छैन। अधिकांश घरेलु प्रतियोगिता खेलेका खेलाडी मात्र रहेकाले धेरैभन्दा धेरै वैदेशिक एक्सपोजरको आवश्यकता देखिएको छ। यसका लागि कम्तीमा ८-१० वटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने प्रशिक्षक भट्ट औंल्याउँछन्। ‘आन्तरिक प्रतियोगिता धेरै खेलेका खेलाडी छन्’, उनी भन्छन्, ‘यसका लागि कम्तीमा ८-१० वटा मैत्रीपूर्ण खेल हुनुपर्छ।’ साइड स्पाइकर रेश्मा भण्डारी पनि धेरैभन्दा धेरै एक्सपोजर हुनुपर्ने बताउँछिन्। ‘हामीबीच मात्र प्रशिक्षण गरेर हुँदैन’, उनी भन्छिन् ‘धेरै खेलाडी नयाँ भएकाले बैदेशिक एक्सपोजर पनि चाहिन्छ।’

नेपाली टोली

सेटर  : कमला पुन, सरस्वती कट्टेल, जानकी भण्डारी र अरुणा शाही

ओपन स्पाइकर  : प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारू, आरती साउद, पुष्पा शाही, लक्ष्मी कुमाल र उषा भण्डारी

क्विक स्पाइकर  : सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, हीरा केसी, कविता भट्ट र चन्द्रकला खरेल

साइड स्पाइकर  : रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो र ममता डगौरा

लिबेरो  : सलिना श्रेष्ठ, यमकली कुँवर, शान्ति तामाङ

प्रशिक्षक  : मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सलिना श्रेष्ठ, महेश महर्जन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.