कुनै समय कवि थिएँ म
ग्रामीण जीवनका ढुकढुकी छामेर लेख्ने कवि श्रवण मुकारुङका कवितामा प्रायः राष्ट्रियताको धून बजेको हुन्छ। यस कवितामा पनि हामी धून सुन्छौं— ‘भ्रष्ट शासकले लेख्न थालेपछि’ शब्दको सातो गएको, आफूभित्रको कविता हराएको। तर खबरदारी छ, आफूभित्रको कवितालाई ‘मानिसझैं तिमीलाई आफैंविरुद्ध निदाउने अधिकार छैन।’
व्यंग्य मिश्रित शब्दावलीले श्रवणजीको यो कवितालाई मरमराउँदो पारेको छ। हामीलाई आफूभित्रको हर्ष, खुसी, बेथा, छटपटी, आक्रोशका शब्दहरूलाई सुस्त हुन नदिन कविले यहाँ हामीलाई सचेत गराएजस्तो लाग्छ। एउटा सुन्दर कविता ! (केदारभक्त माथेमाको टिप्पणी)
कुनै समय
कवि थिएँ म
त्यो समय
शब्दसित शक्ति थियो
हिमालय पर्वत छिचोल्दै
तिब्बतको पठारमा दौडिरहेको
चंगेज खाँको घोडाको टापको आवाजले
कन्फ्युसियसको गहिरो निद्रा बिथोल्न खोजेझैं
मेरो शब्दको ध्वनिसित
यहाँका हर मान्यताहरू डगमगाउँथे
अंग्रेजसित लड्न तम्तयार
झाँसीकी रानीको हातमा
चम्चमाइरहेको नांगो तरबारजस्ता
उज्याला थिए अक्षरहरू
भूकम्पले धरहरा ढाल्नुअघि नै
ढलेको थियो एउटा शासक
मेरो कविताले !
कुनै समय
कवि थिएँ म
अहो ! त्यो समय...
अझ त्योभन्दा अघिको समय
अन्तिम सत्य थियो शब्द
जसको अर्थ पछ्याउँदै मानिसहरूले
पत्ता लगाएका थिए— यो पृथिवी
पत्ता लगाएका थिए— आदम इभ
पत्ता लगाएका थिए— मेसोपोटामिया
पत्ता लगाएका थिए— इथियोपिया
पत्ता लगाएका थिए— अमेरिका
पत्ता लगाएका थिए— सगरमाथा
पत्ता लगाएका थिए— गुरुत्वाकर्षण
पत्ता लगाएका थिए— जुपिटर युरानस
पत्ता लगाएका थिए— ब्रह्माण्डको विशालता
पत्ता लगाएका थिए— महाशून्य
पत्ता लगाएका थिए— प्रेम र त्यसको कुरूप कुना
पत्ता लगाएका थिए— दुःख र त्यसको रापिलो सौन्दर्य
तिनकै विश्वासले
कवि भएको थिएँ म !
तर अचानक,
भ्रष्ट शासकले लेख्न थालेपछि सुशासनको कविता
शब्दको सातो गयो
भूतपूर्व कवि भएँ म
र आज...
गुँड टालूँ भनेर
हुरीले हुत्याइरहेको पातलाई पछ्याउँदा
गुँडै भुलेको चराजस्तो
गरुडले दुवै आँखा खाएर
जमिनमा फालिदिएको घाइते सर्पजस्तो
माकुरोको जालमा अल्झिरहेको
बालखा पुतलीजस्तो
भएँ म...
तर कुनै समय
कवि थिएँ म
त्यो समय
शब्दसित शक्ति थियो
र त्यही शक्ति खेलाउँदै
तान्त्रिकझैं पुर्खाहरूको नलीहाड बजाउँदै
ठमठम हिँड्थेँ म
यहाँको अँध्यारोविरुद्ध
आउने पुस्तालाई एक झिल्को उज्यालोका निम्ति
बुद्धको ध्यान र मौनतामा थियो— शब्द
श्रीजंगाको शरीरमा रोपिएको काँड
र बगेको रगतमा थियो— शब्द
मार्क्सको दारी र आँखामा थियो— शब्द
गान्धीको धोती र डन्डीमा थियो— शब्द
माओको मुस्कान र कोठीमा थियो— शब्द
म तिनलाई
यहाँको माटोमा धुनी जगाएर दिन चाहन्थेँ अर्थ
तर अफसोस !
अचानक गलाको आवाज गुमाएझैं बीपीले
हातको लौरो बिर्सेझैं गणेशमानले
वा, नदीमा हामफालेझैं मदन भण्डारीले
शब्दको शक्ति खोसिएपछि
थलिएँ म
म यसरी थलिएँ कि—
मेरो यही अशक्तताको दाउ छोपेर
काँचो जागित्रझैं नयाँ शासकले
मेरा सूक्तिहरूको छाला काढ्यो
लोकतन्त्र, संविधान र समानताझैं महँगा
मेरा विम्ब, प्रतीक र मिथकहरूको आँखा झिकेर
माला लगायो
लय र अनुप्रास भाँचेर मलाई नै घोच्न त्रिशूल बनायो
हिटलर र शिवको छली रूप धरेर
नाच्न थाल्यो ताण्डव नृत्य
र म बूढो कवि...
भीष्मपितामहझैं
आफैंमाथिको बर्बरता हेर्न यसरी
अभिशप्त भइरहेँ
कविता !
जब सम्झिन्छु तिमीलाई
तर म कवि हुँ, तिम्रो पहिलो प्रेमी
निहत्था छु आज
त्यसैले यादहरूको हत्या गर्न सक्दिनँ
बरु हेर्न नसकेर क्षितिज
घोप्टिन्छु आफ्नै छातीमा
नहेरी देख्छु बकैनाको रूखमाथि गोलो चन्द्रमा
र त्यसमाथि गाइनेकीरो
हुस्सुसित छिल्लिरहेको धुपी सल्ला, चियाको बोट
बतासले लतारिरहेको असारे फूल
वा झरीमा मस्त इन्द्रकमल
साँझमा किरकिराइरहेको किथ्रा
वा मध्य राति—
मलाई हेर्दै सिलिङमा उँगिरहेको माउसुली
कि, बाथरुममा
तप्लक तप्लक तप्किरहेको पानीको पहेँलो थोपा
कि तिमीले ढोका ढकढक्याउनुअघि
मिलनको डरले बेस्सरी उफ्रिरहेको यो मुटु
हो, यसरी सम्झिन्छु म तिमीलाई
स्कुलबाट फर्केकी बालिकाले फेरि स्कुल सम्झेझैं
खेतबाट फर्केको किसानले फेरि खेत सम्झेझैं
अफिसबाट फर्केको कर्मचारीले फेरि अफिस सम्झेझैं
वा मैले तिमीलाई सम्झेको फेरि सम्झेझैं
कविता ! म तिमीलाई सम्झिन्छु
अथवा
एउटा योद्धाले फेरि त्यो भयानक युद्ध सम्झेझैं
वा, आमा हुन संघर्षरत कुनै आइमाईले
फेरि आफ्नो खेर गएको रगतको डल्लो सम्झेझैं
म तिमीलाई सम्झिन्छु
किनकि !
कुनै समय
कवि थिएँ म
र त्यस बेला भनेको थिएँ मैले
‘कविता बिउँझ ! शब्दहरू बिउँझ !
कि, मानिसलाई झैं तिमीलाई
आफैंविरुद्ध निदाउने अधिकार छैन’
कुनै समय
कवि थिएँ म...।
कवि मुकारुङका ‘देश खौज्दै जाँदा’, ‘जीवनको लय’, ‘बिसे नगर्चीको बयान’ कवितासंग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीतसंग्रह, ‘तर्कहरूको विपक्षमा’, ‘भावालय’ निबन्धसंग्रह, ‘यलम्बर’ र ‘मितिनी’ नाटक प्रकाशित छन्।