खेलकुद प्रतिष्ठान निर्माणको काम तीब्र
हेटौंडा : महत्वाकांक्षी योजनासहित एक दशकअघि हेटौंडामा निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठानको निर्माणले गति लिएको छ। बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा प्रदेश ३ सरकारले अग्रसरता देखाएपछि काम अघि बढेको हो। लामो समय केन्द्र सरकार मातहत रहे पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा प्रतिष्ठानको कामले गति लिन सकेको थिएन।
विगतको दुई आर्थिक वर्षमा केन्द्रीय सरकारले प्रतिष्ठानलाई बजेट नै विनियोजन गरेको थिएन। ‘प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ’, जिल्ला खेलकुद विकास समिति मकवानपुरका सचिव राजन दाहालले भने, ‘प्रदेश सरकारले चासो दिएपछि निर्माण कार्यले गति लिएको छ।’
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले प्रतिष्ठानलाई आफ्नो गौरवको योजनाअन्तर्गत राखेको छ। ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, प्रदेश ३ को खेलकुद परिषद्का सदस्य माधव तिमल्सिनाले भने, ‘प्रदेशस्तरीय मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने संरचनाहरू पनि यहाँ निर्माण हुनेछन्।’
२३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण पनि भइसकेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि चालू आर्थिक वर्षमा निर्माणाधीन दुईवटा कभर्डहलको काम सम्पन्न गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर छिटो प्रतिष्ठानको काम सक्न पहल गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बताए।
‘प्रतिष्ठानको जिम्मेवारी प्रदेश सरकारलाई जाँदैछ, अब प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर छिटो काम सक्न पहल गछौं’, उनले भने। प्रतिष्ठानको निर्माणमा हालसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ। करिब पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ २०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिष्ठानको शिलान्यास गरेका थिए।
प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ।