राम्रो पुस्तक महँगो हुँदैन

राम्रो पुस्तक महँगो हुँदैन

‘त्रिशंकुको देशमा’, ‘इन्द्रमायाको देशमा’, ‘भिडमा हराएको मान्छे’, ‘व्रतभङ्ग’, पुस्तकका लेखक तथा कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एल.बी. क्षेत्री वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पनि हुन्। चरैवेती (२०७०) पत्रिकाका सम्पादक क्षेत्रीसँगको फुर्सद–वार्ता :


कत्तिको फुर्सद हुन्छ ?

एक प्रकारले फुर्सदै फुर्सद छ। किनभने जागिर छैन। कुनै नियुक्ति छैन।

के गर्नुहुन्छ फुर्सदमा ?

पढ्ने, लेख्ने, फेसबुकमा विमर्श गर्ने।

कस्ता किताब रुचाउनुहुन्छ ?

धेरैजसो साहित्यिक किताब पढ्छु। कथा, उपन्यास, कविता साथै ऐतिहासिक र सामाजिक विषयका किताब पनि पढ्छु। निबन्ध पनि पढ्छु। फेसबुकमा आएका राम्रा कविता पढ्छु। संस्मरण, समालोचना छ भने पनि पढ्छु।

सिनेमा ?

हलमा गएर हेर्दिनँ। धेरैअघि सिक्रेट सुपर स्टार हेरेको थिएँ। निकै मन पर्‍यो। टीभीमा खबर मात्र र गीतहरू।

कस्ता गीतहरू ?

रोमान्टिक क्लासिकल दुवै। अलिक पुरानै तर आज भोलि निकै गुन गुनाउँछु— अरिजित सिंहले गाएको ‘आज जाने कि जिद ना करो...’

पछिल्लो पटक पढेको किताब ?

अंग्रेजीमा ‘स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ् ह्युमनकाइन्ड’ र नेपालीमा ‘मेरो अविरल जीवनगीत’।

सिरानीमा किताब ?

हुँदैन। टेबलमा हुन्छ।

हातमा भएको किताब ?

‘७५ रिडिङ्स्’ नामको अंग्रेजीको एउटा निबन्धसंग्रह पढ्दै छु।

थाती राखेको किताब ?

महेश थापाको मरीचिकाका पाँच कथा मात्र पढेको छु। बाँकी पढ्नु छ।

धेरै पल्ट पढेका किताब ?

कमै छन्।

पहिलो (बच्चाको) किताब ?

चन्दामामाबाट सुरु भयो। अलिक ठूलो हुँदा चन्द्रकान्ता, गुरुदत्त, प्रेम वाजपेयी आदि। अनि हेराल्ड रबिन्सको उपन्यास ‘कार्पेट बेगर्स’।

धेरैपल्ट उपहार दिएको किताब ?

विश्वेश्वरप्रसाद कोइरालाका पुस्तक।

धेरैपल्ट उपहार पाएको किताब ?

उपहारमा केही पाएको छु तर सम्झना छैन।

पढ्न मन लागेर नपाएको किताब ?

प्रतिमा वेदीको टाइम पास।

कहाँ किन्नुहुन्छ ?

चितवनमा सम्पूर्ण पुस्तक पसल। अंग्रेजीका कुनै कुनै किताब विदेशबाट पनि मगाउँछु।

समीक्षाहरूमा विश्वास छ ?

विश्वास छ तर समीक्षा पढ्दा अपूरोजस्तो लाग्छ। समालोचकमा अध्ययनको धेरै कमी छ। समीक्षा आफूले भनेजस्तो हुनुपर्छ भन्ने पनि होइन तर तर्क र उदाहरण बलियो हुनु पर्‍यो। फेसबुकमा एउटा कविता आउँछ अनि टिप्पणी हुन्छ— साह्रै राम्रो कविता। मनै छोयो। यो प्रशंसा हो, समीक्षा होइन। समीक्षकले बुझ्नुपर्ने कुरा।

पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् ?

सबैले पढून् जस्तो लाग्छ। उदाहरणका लागि मैले धेरैलाई यो यो पुस्तक पढ भन्ने गर्छु। कसैको राम्रो कविता भेटेँ भने म सेयर पनि गर्छु। मैले सेयर गरेका कवितामा धेरै टिप्पणी आउँदा खुसी लाग्छ।

पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?

लाग्छ। तर समस्या छ, समयाभावको।

पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?

मैले पढेका किताबमा धेरै केरकार हुन्छ। धेरै अन्डरलाइन हुन्छ।

अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?

मेरो आफ्नै पुस्तकालय छ। धेरैजसो म त्यहीँ बसेर पढ्छु।

यहाँसँग भएको दुर्लभ पुस्तक ?

अब कुन पुस्तकलाई दुर्लभ भन्ने ?  मसँग आचार्य चतुर्सेनको वयम रक्षामः छ। हिटलर, नेपोलियन, चर्चिलको जीवनी छ। एसी ब्रड्ली, जी विल्सन नाइटद्वारा विलियम सेक्सपियरबारे लेखिएका पुस्तक छन्। टीएस इलियट, रेनेवेलेकका समालोचनाका पुस्तक छन्। तर यिनलाई के दुर्लभ भन्ने र, पाइन्छन् बजारमा।

राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

उहाँहरूले साहित्य पढ्नुपर्छ। उहाँहरूलाई रबिन्सन, क्रसो, चर्चिलको जीवनी पढ्न सुझाव दिन्छु। विलियम वर्डस्वर्थका कविता पढ्न सुझाव दिन्छु। तर यी सुझाव मात्र हुन्। काम छैन। डा. बाबुराम भटराईजस्ता विद्वानले कति पढे होलान ? सुन्दछु, उहाँले धेरै पढ्नुहुन्छ अरे। उनको उच्च शिक्षा, विद्वता र धेरै पुस्तक पढ्ने बानी हुँदा पनि देशले के पायो ?

किनेको सबैभन्दा महँगो पुस्तक ?

आफूलाई काम लाग्ने, ज्ञान दिने, राम्रो पुस्तक महँगो हुँदैन।

बढ्ता होहल्ला भएको औसत पुस्तक ?

योचाहिँ नभनौं।

कम होहल्ला भएको गज्जबको पुस्तक ?

धेरै छन् तर एउटा नाम लिँदा, ऐलानी।

रोजाइमा कुन विधा ? साहित्य कि गैरसाहित्य ?

सामाजिक, ऐतिहासिक र साहित्यिक।

आख्यान कि गैरआख्यान ?

दुवै।

कुन लेखक भेट्न चाहनुहुन्छ ?

मन परेका सबै भेट्न चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.