फगत ‘गनगन’ कि अघाएपछिको खीर ?

फगत ‘गनगन’ कि अघाएपछिको खीर ?

थालभरिको भात, दाल, तरकारी, अचार, मासु... खाइसकेपछिको टन्न पेटमा पनि कसैले खीर टक्य्रायो भने मान्छेले खीर बडो प्रेमले खाइदिन्छ नि। हो, साहित्यको पठन त्यही खीर खाएजस्तै हो। पेट भर्न होइन, जिब्रोको स्वादका लागि ! ज्ञानका लागि होइन, आनन्दका लागि !


अघिल्लो हप्ता ‘फुर्सद’मा पठन संस्कृतिसँग सम्बन्धित धेरै लेख छापिए। तीमध्ये एउटा लेखको सार थियो, ‘पुस्तक ज्ञान बढाउन पढिन्छ। ज्ञान बढ्दैन भने पुस्तक किन पढ्ने ? ’

उसो त मलाई यो ‘पठन संस्कृति’ शब्द प्रयोग नै गलत लाग्छ। साहित्यिक/गैरसाहित्यिक कृति पढ्ने कुरा संस्कृति होइन, बरु अभ्यास हो। संस्कृति मानेर गम्भीर पाठकहरूले पुस्तक पढ्दैनन्। न त कुनै सिकारु पाठकले नै पढ्न सुरु गर्छन्। पठनको पछाडि उद्देश्य भए पनि नभए पनि, यो आफैंमा अभ्यास मात्र हो। नितान्त व्यक्तिगत। पठन कार्य आफैंमा संस्कृति हुन सक्दैन।

पढिरहेको पुस्तक कुनै पाठ्यक्रमसँग सम्बन्धित हो भने पुस्तकले ज्ञान बढाउने कुरामा मोटामोटी रूपमा सहमत हुन सकिएला तर यहाँ चर्चा मुख्यतः साहित्यिक कृतिहरूको हो। यस हिसाबले ‘पुस्तक ज्ञान बढाउन पढिन्छ’ भन्ने किसिमको तर्क जति आफैंमा अपूर्ण छ, त्यति नै गलत पनि छ।

उक्त लेखमा लेखक यो पनि बहस गर्छन् कि आख्यानभन्दा गैरआख्यान लेख्न मुस्किल छ। उनी तर्क पेस गर्छन्, ‘उपन्यासमा त काल्पनिक कुराहरू थुपार्न पाइन्छ तर स्वास्थ्य, कृषि, जीवनी, इतिहास, सेल्फहेल्प, धार्मिक, आध्यात्मिकजस्ता गैरआख्यान विधाअन्तर्गतका पुस्तकमा काल्पनिक कुरा थुपार्न पाइँदैन। यस्ता पुस्तक तथ्यात्मक हुन्छन्। र यसैले यस्ता पुस्तक लेख्न सजिलो छैन। उपन्यास लेख्नभन्दा सजिलो छैन।’

माथिको तर्कसँग असहमत हुने धेरै ठाउँ छन्। आख्यान लेख्न सजिलो कि गैरआख्यान ? यो धेरै हदसम्म व्यक्तिगत कुरा हो। केही प्राविधिक कुरा पनि हो। र केही हदसम्म लेखकको आफ्नो क्षमताको कुरा पनि हो। लेखकको आफ्नै ‘पेस’ अर्थात् रफ्तार पनि हुन्छ। कोही लेखक हरेक एक–दुई वर्षमा उपन्यास लेखिरहन्छन् भने कोही एउटै उपन्यास लेख्न चार–पाँच वर्ष लगाउँछन्। यसको अर्थ यो होइन कि एक–दुई वर्षमा उपन्यास लेख्ने लेखकका लागि यो सजिलो कुरा हो र चार–पाँच वर्ष लगाउने लेखकका लागि आख्यान लेखन मुस्किल कुरा हो।

तुलनात्मक रूपमा उपन्यासभन्दा कथा लेख्न सजिलो हुन्छ भन्ने तर्क सत्यको नजिक हुन सक्ला तर गैरआख्यानभन्दा आख्यान लेख्न सजिलो हुन्छ भन्ने खालका तर्कको पछाडि पर्याप्त आधार भेटिँदैन। यस्ता तर्कलाई मान्ने हो भने त यो पनि भन्न सकिएला कि ध्रुवचन्द्र गौतमद्वारा करिब दुई दर्जन आख्यान कृतिको रचना यसै कारण सम्भव भयो किनकि आख्यान लेख्न सजिलो छ। यस्तो हुन्थ्यो भने शिवानीसिंह थारूलाई ‘काठमाडौंमा एक दिन’ लेख्न एक दशक समय लाग्ने थिएन। न त लेखक बुद्धिसागरलाई ‘फिरफिरे’ लेख्न पाँच वर्ष लाग्थ्यो। प्रत्येक लेखनको पछाडि लेखकको आफ्नै यात्रा हुन्छ। गन्तव्यमा पुग्ने उसको आफ्नै रफ्तार हुन्छ। लेख्ने विधाले सम्भवतः यसमा असर पार्दैन।

उसो भए करिब २२ वर्षअघि नै भीरमा अड्किरहेको एउटा बाख्रा देखेर उपन्यासको खाका गर्भाधान भइसकेको अवस्थामा अन्ततः ‘मैदारो’सम्म आइपुग्न लेखक भूपिनलाई यतिका समय किन लग्यो ? यो २२ वर्ष किन कविता र निबन्ध लेखेर बस्नु परेको होला ? जाबो उपन्यास न थियो, काल्पनिक कुराहरू थुपारेर पहिले नै ‘मैदारो’ किन नल्याएको ? यस्ता तर्क अगाडि प्रस्तुत गर्नु आफैंमा कति तर्कसंगत हुन्छ ? ‘मैदारो’सम्म भूपिन आफ्नै गतिमा आइपुगेका हुन्।

पाठकहरूलाई स्मरण गराऊँ, अघिल्लो हप्ताको उक्त लेखको शीर्षक थियो— साहित्यिक ‘गनगन’बाट गैरसाहित्यिक ज्ञानगुनतिर।

यसको सोझो अर्थ हुन्छ— साहित्यिक किताबहरू ‘गनगन’ हुन् जसमा कुनै ज्ञान भेटिँदैन। गैरसाहित्यिक पुस्तकहरू यस्ता कृति हुन् जसबाट ज्ञान आर्जन गर्न सकिन्छ। लेखको शीर्षक र लेखबीच पनि तालमेल खास भेटिँदैन। लेखभित्र लेखकले मूलतः आख्यान र गैरआख्यानबीचको तुलनात्मक चर्चा गरेका छन्। आख्यान फगत कल्पना हो, प्रायः लेखक पाठकलाई भावुक बनाउन सक्नुलाई नै आफ्नो सफलता ठान्छन् र यथार्थमा यस्ता पुस्तकले समाजलाई माथितिर लानुको सट्टा पतनको मार्गतिर लगिरहेका छन्— लेखमा उनी भन्छन्।

एक कदम अगाडि बढेर उनी थप्छन्, ‘गैरसाहित्यिक पुस्तक तथ्यात्मक हुन्छन्। यसर्थ यस्ता पुस्तकबाट ज्ञानगुनका कुरा सिकिन्छन् र साथै यस्ता पुस्तकले प्रकाशकलाई पनि सधैं जोगाइराख्छन्।’


>>> साहित्यिक 'गनगन' बाट गैरसाहित्यिक ज्ञानगुनतिर


इतिहास, आत्मकथा, धर्म तथा अन्य यस्तै विषयसँग सम्बन्धित पुस्तकहरूलाई गैरसाहित्यिक होइन गैरआख्यान भनेर वर्गीकरण गरिनुपर्छ। गैरसाहित्यिक आफैंमा उपयुक्त शब्द होइन। के साहित्य हो र के होइन भन्ने कुरामै मतभिन्नता हुन सक्छ। उर्दु लेखक सादत हसन मन्टोलाई आफूले लेखेका कथामाथि अश्लीलताको आरोप लाग्दा पनि उनलाई एउटै कुराले चिन्तित बनाइरहन्थ्यो— श्लील अश्लील आफ्नो ठाउँमा छ, तर के मैले लेखेका कथा साहित्य हुन् त ?

यस हिसाबले अघिल्लो हप्ताको लेखको शीर्षक नै अमिल्दो छ। लेख सुहाउँदो शीर्षक बरु यस्तो हुन सक्थ्यो— आख्यानात्मक ‘गनगन’बाट गैरआख्यानात्मक ज्ञानगुनतिर !

अब कुरा आउँछ ज्ञानगुनको। अनि केही ‘गनगन’को।

लेखकको भनाइअनुसार आख्यान ‘गनगन’ हो भने गैरआख्यान ‘ज्ञानगुन’। केही हदसम्म लेखकको कुरामा सहमत हुन सकिन्छ कि आख्यानमा जरुरी रूपमा ज्ञानगुनका कुरा नहुन सक्छ। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने प्रायः आख्यान पढ्ने पाठकहरूको प्रमुख उद्देश्य ज्ञानगुनका कुरा टिप्नु हुँदैन। कुनै उपन्यास पढेर पाठकले ज्ञानगुनका कुरा पनि सिक्छ भने त्यो पठनको ‘बाई–प्रोडक्ट’ हो, मूल ध्येय कदापि होइन।

ज्ञानगुन नै मूल उद्देश्य हो भने आजको दिनमा पुस्तक पल्टाइरहनु पर्दैन। समय र प्रविधिले हामीसामु धेरै विकल्प अघि सारिदिएको छ। साहित्यको विद्यार्थीलाई ज्ञानगुन त्यति नै महत्त्वपूर्ण हुन्थ्यो भने उसले यति धेरै मात्रामा, यति धेरै प्रेमका साथ ‘पल्पसा क्याफे’ पढ्ने थिएन। माओवादी जनयुद्धको पृष्ठभूमिमा दृश्य नाम गरेको एउटा चित्रकार र पल्पसा नाम गरेकी अर्की आधुनिक युवतीको कथा पढेर कुनै पाठकको ज्ञान बढ्दैन। न त उसलाई उक्त पुस्तक पढेर कुनै फाइदा नै हुन्छ। ‘शिरीषको फूल’ पढेर आजसम्म कसले के सिक्यो ? ध.च. गोतामेको ‘घामका पाइलाहरू’ले कसलाई के ज्ञान दियो ?

होइन भने आजको दिनमा पनि पाठकहरूको मुखबाट यी पुस्तकहरूको (साहित्यिक ’गनगन’हरूको) उच्चारण किन हुन्छ ? कुनै ज्ञान दिन नसक्ने यी पुस्तकहरू हामीमाझ अझै पनि किन प्रिय छन् ? ‘कर्नाली ब्लुज’मा बुद्धिसागरको ‘गनगन’ हामीलाई किन यति प्रिय लाग्यो ?

माथिका प्रश्नहरूको मौलिक उत्तर हामी प्रत्येक पाठकसँग छ। आख्यान ज्ञानगुनका लागि होइन, पठन स्वादका लागि पढिन्छ। आनन्दका लागि पढिन्छ। लेखकको शिल्पले डो¥याउँछ कहिले, त कहिले विषयवस्तुले तान्छ।

हो सबै साहित्यिक कृति श्रेष्ठ हुँदैनन्। हुन पनि सक्दैनन्। तर श्रेष्ठ नहुनेबित्तिकै ती फगत ‘गनगन’ मात्र पनि हुँदैनन्। अफगानिस्तानको विगत, निकटतम इतिहास र वर्तमानबारे कसैलाई जान्ने इच्छा भयो भने सजिलो छ, ‘गुगल’ गर्ने। सबै विवरण त्यहाँ भेटिन्छ। तर अफगानिस्तानबारे लगभग त्यति नै सूचना अलि फरक ढंगबाट, मानव र समाज–केन्द्रित दृष्टिकोणबाट जान्न खोज्नेलाई एउटा अर्को विकल्प पनि छ।

उसले खालेद होसेनीको ‘द काइट रनर’ पुस्तक पल्टाउन सक्छ। र पहिलोभन्दा दोस्रो विकल्प बढी रोमाञ्चक हुने कुरामा कतै पनि दुई मत नरहला। स्मरण होस्, होसेनीको ‘द काइट रनर’ एक आख्यान हो। अघिल्लो हप्ताको लेखका रचनाकारको भाषामा एउटा साहित्यिक ‘गनगन’ हो।

र अन्त्यमा,

थालभरिको भात, दाल, तरकारी, अचार, मासु... खाइसकेपछिको टन्न पेटमा पनि कसैले खीर टक्य्रायो भने मान्छेले खीर बडो प्रेमले खाइदिन्छ नि। हो, साहित्यको पठन त्यही खीर खाएजस्तै हो।

पेट भर्न होइन, जिब्रोको स्वादका लागि !

ज्ञानका लागि होइन, आनन्दका लागि !


साहित्य र सिनेमाका पारखी @Sharmapangeni को विगत पत्रकारिता हो भने हाल उनी स्वास्थ्य क्षेत्रमा क्रियाशील छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.