मन्त्रीले नै पालना गरेनन् निर्देशिका

मन्त्रीले नै पालना गरेनन् निर्देशिका

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो। त्यहीअनुरूप मन्त्री गिरिराजमणि पोखरेललै चलेका छैनन्। उनी केही समयअघि युनेस्कोको शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन स्वकीय सचिवहरूसहित अमेरिका पुगे। उनको फोटो सामाजिक सञ्जालमा छाएको छ, आफैंले जारी गरेको मार्गनिर्देशनविपरीत।

मार्गनिर्देशनको बुँदा ‘च’ मा सरकारी कर्मचारीले कार्यसम्पादनका सिलसिलामा खिचिएका तस्बिर तथा घटना व्यक्तिगत काम गरेजसरी सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्न, लाइक र सेयर गर्न नपाइने उल्लेख छ। त्यही बुँदामै अर्को व्यवस्था छ। कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचेको धार्मिक स्थल, बाटो, ताल तलैया वा भ्रमण गरिएको स्थानको फोटो सामाजिक सञ्जालमा राख्न पाइने स्पष्ट उल्लेख छ।

मन्त्रीका प्रेस संयोजक सुनील खड्काले पोखरेलसहित मन्त्रालयका उपसचिव र पोखरेलका स्वकीय सचिव पुष्पराज ढकालसहितको फोटो फेसबुकमा पोस्ट गरेका छन्। उनले उक्त फोटो मन्त्री पोखरेललाई पनि ट्याग गरेका छन्। मार्गनिर्देशन जारी गरेपछि मन्त्रीको आलोचना भएको थियो। त्यसको पालना नगरेपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भएको छ।

यो मार्गनिर्देशन गत कात्तिक १३ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो। मन्त्रालय र यसअन्तर्गतका निकायबाट सेवाप्रवाहमा भए/गरेका कामकारबाही, नीति तथा कार्यक्रममाथिका छलफल तुरुन्तै सार्वजनिक हुने, अमर्यादित भाषामा टीकाटिप्पणी हुनेजस्ता क्रियाकलाप बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको थियो।

युनेस्कोले आयोजना गरेको दिगो विकास लक्ष्यसम्बन्धी उच्चस्तरीय मञ्चमा सहभागी हुन पोखरेल टोलीसहित अमेरिका गएका थिए। यात्राका धेरै तस्बिर उनले स्वकीय सचिवमार्फत सार्वजनिक गरेका छन्। यो उनी आफैंले स्वीकृत गरेको मार्गनिर्देशनविपरीत छ। ‘मार्गनिर्देशन जारी गर्नु गलत थियो। पालना गर्नै नसक्ने नियम बनाएपछि यस्तै हुन्छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जे जस्तो भए पनि नियम बनेपछि सबैले पालना गर्नुपर्छ।’ प्रेस संयोजक खड्काले भने मन्त्रीको तस्बिर पोस्ट गरिएको विषयमा कुनै विवाद नआएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.