७६/७६ को आत्मकथा
आँगन डुल्नै संसार लाग्छ। हाम्रा हातमा सुकेका एकेक लौरा छन्। एकै चुलोको यहाँ कोही छैन, मर्ने बेलामा त सहरिया आफन्त आउलान् कि !
काठमाडौंदेखि गाडीमा झन्डै ६ घण्टै लाग्यो। आधा कम कालोपत्रे, आधा बेसी पूरै धूलेबाटो। चौंरी–देउराली गाउँपालिका, काभ्रेमा एक बहुभाषिक साहित्यिक कार्यक्रम थियो। सुटुक्क थोरै समय निकालेँ, पल्लो गाउँ गएँ। जसको नाम चौंरी–बाँझे रैछ। ठ्याक्क त्यहीँको गाउँले भाइ भेट भो, जो १० कक्षामा पढ्दै रहेछन्।
०००
भन्ने कुरा के छ र, दुःखै बढी छ। दुई पाइला राम्ररी सार्नु पनि साह्रो पर्दै गएको छ। मेरा पाँच सन्तान। अहिले त हामी दुई मात्र। बूढी पनि ७६। यो मेरो दोस्रो बिहे। तर सुरुको अनुहार पनि थाहा छैन। त्यस्तै सात/आठ वर्षमा भयो होला। कसरी छुट्यो पनि याद छैन। योसँग त २५ वर्षमा बिहे भएको हो।
हाम्रा चार भाइ छोरा, एउटी छोरी। तीन छोराका दुई/दुई नाति। छोरीको एक नाति, एक नातिनी। कान्छो छोराको बाहेक सबको घरबार छ। खाडी–विदेश त कोही नगएका। सबै उतै काठमाडौंतिर छन्। कोही बेपार, कोही ट्याक्सी चलाउँछन्। काइँलो आठ, अरू सबले १०/१२ पास गरे। त्योभन्दा बढी अक्षर खाएनन्, मानेनन्। यहाँ आउने त कान्छो मात्र। उसैले हो बेलाबेला अन्न ल्याइदिने, घर सम्हाल्ने। अरू त के आउनु, दसैंमा त आउँदैनन्।
यो सानो फोन म चलाउँछु। पुरानो छ, चल्छ। बूढीलाई उठाउन पनि अलि आउँदैन। कान्छोको आउँछ। तीन भाइले फोन पनि गर्दैनन्। नम्बर त पक्कै थाहा होला नि, तर खै !
अनि छोरी आउँछे, फोन गर्छे, त्यही हो। तीन भाइले त घरै बिर्से क्यारे !
जे भए नि दुःखै त छ। खान लाउन पर्यो। गर्न सकिन्न, बारीहरू बाँभैm छन्। यही घरबारी पनि खेताला लगाको, दुईचार सियो लाइदियो, ज्याला हजार पुगिसक्यो। त्यही पाउन पनि गाह्रो। गाउँमा ठिटी–तरुनो नै पाइन्न, विदेश–विदेश भन्छन्। कमाएर पनि धेरै त उतै सहरमै बस्छन्। कोही त घरै उभ्याउँछन् रे। ऋण काट्यो बस्यो। त्यही हो चौमासमा हामी दुईलाई भत्ता आठ/आठ हजार दिन्छन्, तर के पुग्नु र ? बजार सामान, औषधि खानै पर्यो। गाउँमा श्रमदान गर्न पर्दा सकिन्न, सट्टामा पैसा दिनैपर्यो। जेहोस् सरकारले राम्रै गरिरहे जस्तो नि लाग्छ।
काठमाडौंमा पाँच वर्षदेखि चेकजाँच गरिरहेका छौं। कान्छो छोरा लिन आउँछ। कहिले छोरी पनि आउँछे। छोरीको घर छ त्यतै, राम्रो छ, जाँदा त्यहीँ बस्न जान्छौं। यहाँ ढुंगा छ, माटो छ, उतै बोकेर लान मिलेन। फर्किनै पर्यो। छोराहरूको डेरा मात्र हो। तीन भाइलाई आएको नआएको वास्तै छैन, तर गुनासो पनि छैन।
यहाँ हेल्थपोस्ट एउटा छ। गाडी आइपुगेको १० वर्ष जति भो। हिँड्न सकिँदैन। गाडी–बस चढ्न पनि पर्यो। त्यहाँ पुग्न २० रुपैयाँ लाग्छ। हिँड्न परे त महिनै लाग्ला। खुट्टा मर्दैछ। जिउ गल्दै गइराछ। झारफुक पनि त्यति काम लागेन। धम्की (दम) को समस्या छ। सुँघ्ने औषधि पनि छ। महिनामा पाँच हजार जति खर्चिइन्छ। हेल्थपोस्टमा गाउँकै मान्छे छ। पैसा लिन्छ। काठमाडौं जाऊ भन्छ। औषधि खानुपर्छ। अक्षर नचिन्ने, गोलो–गोलो लेख्दिन्छन्, हेर्छौं, खान्छौं। अरूलाई पनि सोध्छौं।
हाम्रो खास बजार दोलालघाट। आउन–जान एकेक दिन लाग्छ। पहिले काठमाडौं जान–आउन चार दिन लाग्थ्यो। सबैभन्दा सुरुमा, चार रुपैयाँ ९० पैसा बस–भाडा, दोलालघाटदेखि काठमााडौंसम्म। त्यो २०२२ सालको कुरा हो, बाबु। ऐले त तीन सय १० छ, भाडा।
भोट पुग्यो, धारो सुक्यो
यहाँ पानीकै दुःख छ। भोट हालेको माओवादीलाई हो। जित्यो पनि। आँगनमै धारा छ, तर सुक्खा। एक मुठी पानी छैन। जितेर पनि क्यै न क्यै ! एक घर एक धारा सरकारी योजना भन्दै आए, बनाए तर पानी छैन। वास्तै छैन। इः यता हेर्नुस्, भाँडा–ड्रमहरू छन्, यसैमा भर्ने हो, बर्खेपानी। आकाश हेर्दैर्छौं, पानी कुर्दैछौं। कान्छो छोरा काठमाडौंदेखि आउँछ, त्यही बेला गाउँ पुछारको रूखको फेदमा एउटा धारो छ, ल्याएर राखिदिन्छ, अलि ढुक्क हुन्छौं। तर सधैं हुन्न, के गर्नु आकाशकै भर छ। खाने, पिउने, नुहाउने यही हो।
यही चौंरी–बाँझेमा युद्धकालमा धेरै मारिए। हाम्रो घरमा केही भएन। सेना आउँथ्यो, माओवादी किन पालेको भन्थे। नखुवाए मार्ने, खुवाए सास्ती। खुकुरी धारमा हामी। भूकम्पले भने घर नै खायो। बल्ल उठ्यो। भूकम्पपछि छोराछोरीबाट, गाउँलेबाट सबैको साथ सहयोग मिल्यो।
सरकारको पैसा अन्तिम किस्ता पाको छैन, दुई वर्ष भो। बाँसको पिलरले हुन्छ भन्यो, बनायो, फेरि प्रक्रिया पुगेन भन्यो, पैसा रोक्यो। तर दिन्छ भनेको त छ, हेरौं !
उँभो आकाश, उँधो चौंरी–खोला !
मेरा तीन भाइ, एक भाइ खस्यो। यहाँ म मात्र, अर्को भाइ–परिवार उतै सहरमा। छोराछोरी पनि सबै उतै कतै। आँगन डुल्नै संसार लाग्छ। हाम्रा हातमा एकेक सुकेका लौरा छन्। बुढेसकालमा सुकेका लौरा ! एकै चुलोको यहाँ कोही छैन, मर्ने बेलामा त सहरिया आफन्त आउलान् कि !
बाँच्नमै ठीक त हो, यता वृद्धघर छैन, अन्त गइन्नँ पनि। तर अन्तिममा जाने त त्यही चौंरी–खोला हो, या बो–खोला।
फेरि आकाश हेर्छौं, खोला पनि हेर्दैछौं।
तर,
छोराले थापेर राखेको थोरै पानी बाँकी नै छ !