प्रधानमन्त्रीलाई प्रेमपत्र
साँच्चै भनूँ ! कम्तीमा म मेरो जीवनकालमा मेरो क्षेत्रले अर्को प्रधानमन्त्री पाएको देख्न पाउनेछैन। तपाईंको पहिलो कार्यकालमा #IamWithKPOli म पनि हुँ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
आराम छु, आराम चाहन्छु।
आज पहिलो पटक तपाईंका नाममा केही लेख्दैछु।
(प्रिय पाठकहरू ! यो पढिरहँदा तपाईं छक्क पर्नुहोला पनि कि ! म मेरा जनप्रतिनिधिसँग नितान्त व्यक्तिगत कुरा गरिरहेकी छु। प्रेमपत्र कोरिरहेकी छु।)
प्रधानमन्त्रीज्यू !
२०४६ को परिवर्तन थाहा पाउँदिनँ। २०४८ को चुनाव पनि सम्झनामा छैन। २०४९ मा स्थानीय निकायको निर्वाचनको समय थियो। यो वर्ष चुनाव भएर मैले सम्झिएकी होइन। त्यही चुनावको समयमा मेरी माइली दिदीलाई सर्पले टोकेको थियो। सेतो गोमन सर्पको टोकाइबाट मृत्युको मुखमा पुगेर दिदी बाँच्न सफल भएको वर्ष थियो त्यो। र त्यो वर्ष त्यही भएर सम्झन्छु।
सभा, समारोह हुन्थे। यदाकदा नाटक प्रहसन हुन्थे। देउसी, भैलो हुन्थे; तिनमा राजनीति यति हाबी थियो कि कांग्रेस र कम्युनिस्टका छुट्टाछुट्टै समूह बनाएर देउसी खेलिन्थे। कांग्रेसका घरमा कम्युनिस्ट जाँदैनथे। कम्युनिस्टका घरमा कांग्रेस जाँदैनथे। गइहाले पनि छिट्टै आशिष दिएर हिँड्थे। दक्षिणा, धान, चामल लगायतका सिदा दानमा पनि राजनीति छुट्टिन्थ्यो। फरक समूह राति आए त कतिका दैला उघ्रिँदैनथे। पार्टीका नाममा वैमनस्य पनि हुर्किन्थ्यो। तथापि बाहिर देख्दा भने त्यति गहिरो होला र विभेद, भनेर यसै भन्न सकिँदैनथ्यो। तर राजनीतिक विभाजन बडो गाढा थियो। र यस्तो गाउँ थियो, तत्कालीन झापा क्षेत्र नं. ६ अन्तर्गतको महारानी झोडा। म त्यहीँ जन्मिएँ। हुर्किएँ। पढेँ। र राजधानी पसेको पनि डेढ दशक नाघ्यो।
प्रधानमन्त्रीज्यू !
मेरो गाउँ जो कम्युनिस्ट बहुल क्षेत्र हो। तपाईंले मात्रै त्यहाँबाट २०४८, २०५१, २०५६, २०७४ गरी चारपटक संसदीय निर्वाचन जित्नुभयो। २०५६ मा तत्कालीन मालेका देवी ओझालाई हराउनुभयो। झापाकै क्षेत्र नं. २ बाट चन्द्रप्रकाश मैनालीलाई हराउनुभयो। पुरानो क्षेत्र नं. ६ छोडेर नयाँ ठाउँ नै रोज्नुभयो। कम्युनिस्ट विभाजनको त्यो समय नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल कोइरालालाई चिट्ठा पर्यो। उनले उपनिर्वाचन जिते। तत्कालीन एमालेका जिल्ला सचिव देवेन्द्र दाहाल हारे। २०६४ मा सातवटा क्षेत्र भए। तपाईंले ६ नं. छोड्नुभयो। यद्यपि ७ नं. पनि पुरानो ६ कै अंश थियो। तर तपाईं हार्नुभयो। २०७० मा जित्नुभयो। पुनः २०७४ मा पाँचवटा मात्रै क्षेत्र भए र मेरो गाउँ समेटिएको क्षेत्रमा तपाईं फेरि फर्किनुभयो। तपाईंले मेरो गाउँ छोड्नु नहुँदो हो त केपी ओली हारेको इतिहास बन्ने थिएन। र डा. कोइरालापछि कांग्रेसले फेरि जितेको छैन।
२०५४ को स्थानीय चुनावमा मेरा स्कुले साथीहरूले भोट दिए। म घरमा घनघोरसँग रिसाएँ— मेरा साथीहरूले भोट दिँदा मैले किन नपाएको ? मेरो नाम किन नलेखिदिएको भोटमा ? भर्खर किशोर उमेरमा प्रवेश गरेका उनीहरू कसरी वालिग भए ! मैले अहिलेसम्म बुझ्न सकेकी छैन। उनीहरूले तपाईंलाई पनि भोट दिए २०५६ मा। तर मेरो पालो २०७० मा मात्रै आयो। २०६४ असावधानीवश छुट्यो।
संविधानसभाका दुई कार्यकाल दीपक कार्कीले जित्नुभयो। दीपक दाइ गौरादहको गाविस अध्यक्षबाट कति माथि उठ्नुभयो ! थाहा छैन। तर त्यो क्षेत्रले नेताका रूपमा सम्झिने, देख्ने, बुझ्ने तपाईं मात्र हो। कम्तीमा मलाई चाहिँ यस्तै लाग्छ। मैले थाहा पाउँदादेखिको मेरो क्षेत्रको नेता ! मेरो जनप्रतिनिधि ! र अहिले मेरो देशको प्रधानमन्त्री !
प्रधानमन्त्रीज्यू !
यस क्षेत्रलाई केन्द्र बनाएर राजनीति गरिरहेका सयौं अनुहार आँखामा आउँछन्। साँच्चै भनूँ ! कम्तीमा म मेरो जीवनकालमा मेरो क्षेत्रले अर्को प्रधानमन्त्री पाएको देख्न पाउनेछैन। तपाईंको पहिलो कार्यकालमा #IamwithKPOli लेख्ने म पनि हुँ। ओहो ! सपना पनि देख्न सकिन्छ भन्ने बोध गर्नेहरूमा म पनि छु। नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने नेतृत्वसँग रिसाएर सडक नापिरहेकै बेला तपाईंले नै त हो नाकाबन्दी भनिदिएको ! त्यत्रो हिम्मत राष्ट्रको नेतृत्वको देखेर गर्भवतीहरूले पनि ग्यासका सिलिन्डर काँधमा बोक्न हिम्मत गरे। चीनसँगको पारवहनको पहल, पानीजहाज, रेल, भारतीय परनिर्भरताका विकल्पमा बहस ! ओहो ! सुन्दै एक प्रकारको अचम्मको ऊर्जाको सञ्चार हुने कस्तो स्वर्णिम समय ! यिनै कुराले भूकम्पको पीडा पनि बिर्सिन सहयोग पुर्यायो।
पहिलो कार्यकाल त सकियो। तत्कालीन एमाओवादी केन्द्र र कांग्रेसले गरेका राजनीतिक बेइमानी भरतपुर मनपा निर्वाचन, प्रहरी आईजीपी काण्ड, प्रधानन्यायाधीशमाथिको महाअभियोगले तत्कालीन सत्ताको संस्थापनसँग जनता चिढिएका थिए। तपाईंले त्यो संस्थापनभित्र राम्रैसँग खेलिदिनुभयो। अर्को गठबन्धन गरिदिएर जनतालाई आश्चर्यचकित पारिदिनुभयो। र तपाईंलाई जनताले अघ्घोरै पत्याइदिए। यो अभूतपूर्व एकता र विजयले तपाईंलाई यस्तो प्रभावशाली बनाइदिएको छ कि तपाईंका हातमा अवसरका थुप्रा छन्। र म मेरो जनप्रतिनिधिको यो अभूतपूर्व सफलताप्रति अतिशय अपेक्षा गरिरहेकी छु।
त के यो समयमा ती अपेक्षा पूरा भएका छन् त ? !!
आश गरिएका युवा नेता रवीन्द्र अधिकारी असमयमै बिदा भए; यो संसार छाड्दै गर्दा उनी बेदाग जान पाएनन् ! उनले भनेका थिए कि म निर्दोष भएको कुरा प्रधानमन्त्री र मेरी पत्नीलाई मात्रै थाहा छ। विद्या गुरुआमा अझै शोकमै हुनुहुन्छ। तसर्थ स्वर्गीय अधिकारीलाई प्रमाणित गर्ने जिम्मेवारी तपाईंको हो। उनी निर्दोष साबित हुनु भनेको अहिले राजनीति गरिरहेको नयाँ पुस्ताप्रतिको साख जोगिनु पनि हो। र वाइडबडी काण्डका जरा नेपाली राजनीतिका जुनसुकै दरबारसम्म पुगे पनि त्यसको सार्वजनिक उत्खनन र कटान जरुरी छ। राष्ट्रिय ध्वजावाहक सानसँग निर्धक्क उडेको हेर्ने धोको छ। के तपाईंको नेतृत्वले यो काम गर्न सक्छ ?
भ्रष्टाचारमा शून्य सहनशीलता नारा होइन कर्म बन्नुपर्छ। यहाँ अख्तियारले डामेका भ्रष्टाचारीहरू निर्धक्क सडक नापिरहँदा आरोपितहरू किन सातौं तलाबाट हाम फालिरहेछन् ?
तपाईं कुलपति रहेका विश्वविद्यालयका बेथितिले तपाईंलाई साँच्चै दुखाउँछ भने कुनै वैचारिक प्राध्यापक संघको सदस्य नभएको र तपाईंको ढोकासम्म कहिल्यै आइनपुगेको प्राज्ञिक व्यक्ति जो खुला प्रतिस्पर्धाबाट आफ्ना कार्ययोजनासहित आउँछ, उसलाई विश्वविद्यालयको साँचो सुम्पिन के तपाईं तयार हुनुहुन्छ ?
राजनीतिक नियुक्ति भनिए पनि यी नियुक्तिमा राजनीति नगर्न सकिँदैन प्रधानमन्त्रीज्यू ? किनकि राजनीति नगर्दा कुलमानहरूले अवसर पाउँछन् र तिनले पाएका अवसरमा उनीहरूको पुस्तैनी भविष्य होइन यो देश तथा सहरमा बत्ती बल्छ। के मेलम्ची आयोजनाका हाकिम फेर्ने हिम्मत तपाईंको नेतृत्वले गर्न सक्छ ? यसो गरे यो काकाकुल सहरको तिर्खा सदाका लागि मेटिने थियो !
जब सरकारको कामले आश्चर्यचकित पारेको तपाईं बताउनुहुन्छ नि, बिजुलीका पोलमा झुन्डिएको समृद्धिले मलाई झनै आश्चर्यचकित बनाउँछ। जब सरकार मिडिया काउन्सिल, मानवअधिकार, गुठीजस्ता जनसरोकारका विषयमा जनतालाई त्रस्त बनाउने बुँदा लिएर प्रस्तुत हुन्छ; जब सम्पदासँग जोडिएका जमिनमाथि सिंगो सत्ताको संस्थापन आँखा लगाउँछ अघिल्लोपटकको विश्वासको जुन ग्राफ थियो नि, स्वाट्ट घटिजान्छ। विश्वास त्यति कमजोर हुनुहुँदैन कि जुन एउटै सन्दर्भले घटिजाओस् !
प्रधानमन्त्रीज्यू !
तपाईं जन्मिएको तेह्रथुमको चुहानडाँडा र मेरो बुवा जन्मिएको कालिपा धेरै टाढा पनि होइन। झापामा आइपुग्दा तेह्रथुम, ताप्लेजुङ, पाँचथरका राई, लिम्बूहरू काका, मामा, बडाको साइनोमा समेटिए। अद्यापि त्यो कायम छ। जब शरद लागेपछि सतारहरू बाजा बजाउँदै आइपुग्थे, तिनैले त दसैं आएको आभास गराउँथे। अलि परका ताजपुरिया र राजवंशी आमा दिदीहरू नहुँदा हुन् त ढाकीमा कटहर बोकेर कसले ल्याउँथ्यो ! सुकिला मुरै खान कहाँ पाइन्थ्यो ? पुसमाघको जाडोमा जडीबुटीका पोका बोकेर जब शेर्पा दाइदिदी झर्थे नि ओरालो, ओहो ! तिनले बोल्ने नेपाली भाषाको मिठास केसँग दाँजिएला !
जब कक्षामा फरक भाषिक पृष्ठभूमिका विद्यार्थी भेट्छु; जब छेउमै कोही नेपालीइतर भाषा बोलेको सुन्छु नि त्योजस्तो मीठो अनुभूति केही लाग्दैन। जब कोही मधेसी मूलको विद्यार्थी नेपालीमा जितिदिन्छ सबैलाई; जब कुनै मगर गृहिणी कक्षामा उत्कृष्ट हुन्छिन् म शिक्षकका रूपमा खुसी र सन्तुष्ट पाउँछु आफूलाई।
प्रधानमन्त्रीज्यू !
लोकसंस्कृतिमाथि अनुसन्धान गरिरहेका अग्रज जब तेरो झापामा त लोकसंस्कृति भन्ने केही रहेनछ भन्नुहुन्छ; उहाँ झापा मात्रै भन्नुहुन्न सिंगो सुदूरपूर्वमा लोकसंस्कृति हराइसकेको, भोजपुरमा केही संगिनी र बालन बाँकी रहेको कुरा व्यक्त गर्नुहुन्छ। भर्खरै घरमा लगाइएको सप्ताहमा फुपूले गाएको संगिनीमा न हातखुट्टा, न भाका केही मिलाउन नसक्दाको पीडाले गह्रुँगो बनाउँछ। जयन्ती दास दिदीले गाएको असारे भाका टिप्न नसकेकोमा पछुतो हुन्छ। यसभन्दा बढी अरू त मैले केही देखिनँ। मसँग मेरो संस्कृति भनेर मपछाडिको पुस्तालाई दिने केही रहेनछ। यो सम्झिएर म हुरुक्कै भएकी छु।
अग्रज अध्येता तर्क गर्नुहुन्छ कि पूर्वमा कम्युनिस्टहरूको प्रभावले लोकसंस्कृति फैलन र जोगिन नसकेको हो। उहाँ अगाडि थप्नुहुन्छ कि लोकसंस्कृतिमा त पूर्वभन्दा पश्चिम धेरै समृद्ध छ। बीचमा माओवादीले सक्न लागेका थिए, अब विस्तारै स्थानीय क्षेत्रमा त्यो जाग्दै आइरहेछ। यो सुन्दा पनि भित्रैदेखि हृदय हाँस्छ। मसँगै नभए पनि हामीसँग त छ हाम्रो संस्कृति ! त्यसैले म धान नाच अनि साकेला सिक्न चाहन्छु, देउडा नाच्न जान्ने हुनु छ, हाक्पारे र मारुनीसँग रत्तिन मन छ, नेवार आमाका हातबाट सगुन लिँदै गुन्द्रीमा बसेर अइला चाख्नु छ, छठको महिमा गाउँदै सूर्यलाई अर्घ दिनु छ, मैथिल संस्कृतिका थप पाटोसँग भिज्नु छ। अनि मात्र म समृद्ध हुने रहेछु भन्ने बोध भर्खर मात्र भएको छ। र यो बोध राज्यले पनि चाँडै गरोस्।
जनजातिमा संस्कृति बाँकी छ। सम्पदा बाँकी छ। विशेषतः सायदै पूर्वका खसआर्यसँग लोकपरम्परा बाँकी होला ?
प्रधानमन्त्रीज्यू !
अब तपाईंले छाया सेन्टरले हडपेको ठमेलको कमलपोखरीबारे बोल्नुपर्छ। लगनखेलको सप्तपाताल पोखरी, भक्तपुरको कमलपोखरी, कीर्तिपुरको पोखरी, कुवा, पुरातात्विक महत्त्वका सम्पदा, सार्वजनिक जग्गाको संरक्षणमा म जनतासँगै छु भन्नुपर्छ। तपाईं आफैं बसिरहेको सरकारी निवासको जमिन पनि सुरक्षित रहेनछ, कसैको मुख नहेर्नुस्। बोल्नुस्। जनता तपाईंसँग सदैव साथ छन्।
जब तपाईं १३ वर्षीया बालिका निर्मलाका बलात्कारी हत्याराको पहिचान गर्न १२ वर्ष लाग्न सक्छ भन्नुहुन्छ नि नौजना छोरी हुर्काएर सत्तरीबाट उकालो लागिरहेका मेरा बाबुआमा एकैपटक नीला बन्नुहुन्छ। ३० वर्ष काटिसकेकी कान्छी छोरी होस् कि हुर्किंदै गरेका नातिनी या अरू तमाम छोरीहरू ! तिनका असुरक्षा ती दृष्टि धमिलिँदै गएका आँखामा बिझाएको देख्छु।
जब तपाईं सत्ताको आलोचना गर्नेहरूविरुद्ध अरिंगालझैं खनिन कार्यकर्तालाई आह्वान गर्नुहुन्छ; जब राज्य म जनताको अभिभावक हुँ, जनताको स्वास्थ्य मेरो पहिलो सरोकार हो त्यसैले म स्वस्थ खान्छु र खुवाउँछु भन्ने हिम्मत देखाउँदैन; जब राष्ट्रका बेथितिविरुद्ध गाइएको गीतसँग तपाईंको सत्ता तर्सिन्छ; जब एउटा व्यंग्यात्मक प्रतिक्रियाका कारण अभिव्यक्ति स्वतन्त्रतालाई साइबर क्राइमले अपराधी करार गर्छ; जब एउटा कवि बिनाकारण दिनदहाडै बीच सडकमा समातिन्छ; जब फेक इन्काउन्टरमा फरक विचारधाराले शहादत प्राप्त गर्छ; जब अहिले आएर विचार मिलेन भन्दैमा सँगै बन्दुक उठाएका मित्रलाई चिन्न र नागरिक मान्न अस्वीकार गर्छ सत्ता; हाम्रा बन्दुकमा विचारका आँखा हुन्छन् भन्नेहरू जब सदनभित्र महिलालाई पूर्ण मान्छे मान्न हच्किन्छन् नि शंका लाग्छ कि यी व्यक्ति तिनै स्कुले केटाकेटी र सुत्केरी आमाहरूले लडेका लडाइँको जगबाट उठेका हुन् ? आफ्नो उठानलाई यति चाँडै बिर्सिएर राजनीति कसको लागि गरिन्छ ?
प्रधानमन्त्रीज्यू !
तपाईंले आलोचना सुन्नुपर्छ। समीक्षाका लागि आह्वान गर्नुपर्छ। प्रश्नलाई निषेध होइन, प्रश्न गर्न उत्प्रेरित गर्नुपर्छ। अहिले बोल्नेहरू तपाईंका शत्रु होइनन्। तपाईंका सपनाका सहयात्री हुन् जो ती सपना पूरा भएको हेर्न चाहन्छन्। वास्तवमै सपना बाँच्न चाहन्छन्।
साँच्चै ! मेरो जीवनकालमा सम्भवतः मैले मेरो क्षेत्रबाट अर्को प्रधानमन्त्री देख्न पाउँदिनँ। अरू नेतृत्व आउला भोलिका दिनमा र आउनैपर्छ। किनकि समृद्धि मैले मेरै पालामा देख्नुछ। देख्नुपर्छ। तर म चाहन्छु त्यो समृद्धिको नायक तपाईं नै भइदिनुस्। यो संकीर्ण लोभ म यसकारण गरिरहेकी छु कि लगभग ३० वर्षको एउटा सिंगो युग मेरा अभिभावक, आफन्त, गाउँले र मित्रहरूले तपाईंलाई पत्याएका छन्। त्यो विश्वास दमकमा अरबौंको भ्यु टावरका निमित्त मात्र थिएन। होइन। कृपया ! मेरा आफन्त र गाउँलेहरूको मतको मान राखिदिनुस्।
सम्माननीय प्रधानमन्त्रीज्यू ! के तपाईं तपाईंकै पालामा समृद्धिको त्यो आधार निर्माण गर्न सक्नुहुन्छ ? जसमा म र मेरा गाउँलेहरू जीवनपर्यन्त गर्व गर्न सकौं !!
उही
र, म फगत एक भोट मात्र होइन !
विमली वकालत गर्छिन्। उनको ‘रेलिगेसन जिन्दगी’ कविता संग्रह प्रकाशित छ।