भट्टी ब्लुज
सडकमा हिँडेका मान्छेहरू नत्र पानी नपुगेको फूलको बिरुवाजस्ता किन देखिन्थे ? मैले कहिलेकाहीँ अपरिचित मुहारमा हेरेर मुसुक्क हाँसिदिँदा ती अनुहारले नाक किन खुम्च्याउँथे ? मुस्कानजस्तो निःशुल्क दिन सकिने–पाउने र लिने–दिने दुवैलाई आनन्द आउने कुरा पनि मान्छे किन लिन–दिन कञ्जुस्याइँ गर्थ्यो त ?
एक भाइ पर्स निकालेर हेर्छ। उसको पर्सभित्र जम्मा बीसको नोट हुन्छ। खल्तीमा बीसको नोट बोक्ने मान्छेले मलाई किन्दिन्छु भन्ने ? म चर्किन्छु। हेर्नेहरूलाई लाग्छ, अब केटाहरूले कुटाकुट गर्छन्। तर हाम्रा लागि त यो दुईवटा प्यारा कुकुरका छाउराले जिस्किएर एकआपसलाई हमला गरेजस्तो मात्र हो। रमाइलो !
बेलाबेला यति नि नगरे दिक्कलाग्दो जिन्दगी के गरी कटाउने ? दारु खाएको बेला नि ठूला कुरा नगरे कहिले गर्ने ?
शान्त स्वभावको अर्को भाइ झगडालु भाइलाई सम्झाउँछ, ‘शरीरले कसरी आत्मासँग झगडा गर्न सक्छ ? दाइसँग पंगा लिन्छस् पातकी ?’
म पनि के कम !
‘ए भैगो केटा हो। दारु खाएर नि ठूला कुरा नगरे कहिले गर्छौ त ! दाइले माइन्ड गरेन ल !’ हामी ग्रुप हग गर्छौं शोलेका जय र वीरु जसरी। अनि ‘ये दोस्ती हम नहीं तोडेंगे’ गाउँदै रातिको सडकमा लखरलखर हिँड्छौं। कुकुरहरू भुकिरहन्छन्।
एउटा भाइ भन्छ, ‘यो संसार नि अहिलेको सडकझैं हो। हामी हिंड्दै गर्छौं, कुकुर भुक्दै गर्छन्। उसले ठ्याक्कै के भन्न खोजेको हो कसैले बुझेको हुँदैन तर ऊ भने ठूलै कुरा गरेँ भन्ठानेर गमक्क पर्दै हिँडिरहन्छ।
अर्को एउटा भाइ छ, नेपालको नामी नाट्यकर्मी। एक जमानामा हामीले सँगै बसेर धेरै पियौं। पिएपछि ऊ सारै रुन्चे भइदिने। दाइले मलाई माया गर्दैन भनेर धुरुधुरु रोइदिने। अहिले कहाँ के गर्दै होला खै ?
‘के गर्दै छौ ?’
‘पिउँदै छु...’
‘पिएको बेला के गर्छौ ?’
भर्खर च्याटमा मित्र बन्न आएकी एउटी सोध्छे।
‘कि लेख्छु कि चुम्बन गर्छु कसैलाई’, म भन्छु।
‘केमा विशेष दखल छ ?’ ऊ सोध्छे
‘आफूले लेखेको म पढ्दिनँ, आफैंलाई आफैंले चुम्बन गर्दिनँ। आफैं थाहा पाऊ।’ म उत्तर दिन्छु।
एउटा स्कुल मालिक साथी आइतबार बिहानै फोन गर्छ, ‘ध्यान कसरी गर्ने ?’
म ओछ्यानमा बसी बसी बियर पिउँदै भन्छु, ‘तैंले गर्दा आज कति मान्छे दुःखी भए भन्ने कुरा सोचेको छस् ? पहिला आइतबार पनि छुट्टी गर् तेरो स्कुल। पालेदेखि प्रिन्सिपलसम्मलाई खुसी बना। अनि बल्ल ध्यान कसरी गर्ने तँलाई सिकाउँछु।’
जीवनमा कहिले ध्यान नगरेको एउटा लाल बुझक्कड जसको आफ्नै जीवन सम्हालिएको छैन, मलाई उपदेशको भाषामा भन्छ, ‘तपाईं बियरका फोटो र बियरबारेकै कविता निर्धक्क सामाजिक सञ्जालमा पोस्ट गर्नुहुन्छ। फेरि ध्यान सिकाउँछु पनि भन्नुहुन्छ। यसरी चल्छ ?
झ्याउ मान्दै म उसलाई पन्छाउँछु, ‘चल्छ हैन दौडिन्छ। म लरतरो मान्छेले जसरी हैन ध्यानीले जसरी पिउँछु।’
मेरा दिन, बिहान रात र साँझ यसरी बित्छन्। मैले गर्ने सबैभन्दा कठिन परि श्रम भनेकै लगातार सास फेरिरहनु हो। त्यसबाहेक जीवन रमाइलो र केवल रमाइलो छ। यहाँसम्म रमाइलो लागिरहेको भए यो सबैको ब्याकग्राउन्ड स्टोरी पनि रमाइलै लाग्ला।
०००
म सानो छँदा, सडकमा यताउता ओहोरदोहोर गर्दा ढोकामा हरियो पर्दा लगाइएका, भित्र मधुरो बत्ती बालिएका एक थरी पसलहरू चाख मानेर हेर्थें। आफूलाई होमवर्कको टेन्सन, बाउआमाको टेन्सन, अनेक टेन्सन। पर्दा लगाइएका पसल भित्रबाट भने सधैं मान्छेहरू गीत गाइरहेको आवाज आउँथ्यो। भित्र कोही नाचिरहेका पनि हुन सक्थे। नाचेको जस्तो कालो छायाँ पर्दामा सल्बलाएको हुन्थ्यो। मलाई अचम्म लाग्थ्यो। कस्तो अद्भुत ठाउँ होला यो जहाँ सबै सधैं खुसी छन्, के गर्छन् होला यी मान्छेहरू यहाँभित्र भनेर म सोच्ने गर्थें।
नत्र त संसार त्यस्तो खुसी ठाउँजस्तो देखिन्थेन। सडकमा हिँडेका मान्छेहरू नत्र पानी नपुगेको फूलको बिरुवाजस्तो किन देखिन्थे ? मैले कहिलेकाहीँ अपरिचित मुहारमा हेरेर मुसुक्क हाँसिदिँदा ती अनुहारले नाक किन खुम्च्याउँथे ? मुस्कानजस्तो निःशुल्क दिन सकिने, पाउने–दिने दुवैलाई आनन्द दिने कुरा पनि मान्छे किन लिन–दिन कञ्जुस्याइँ गथ्र्यो त ? म कल्पना गर्थें, सडकमा मुस्कुराइरहेका मान्छेहरू मात्र हिँडेको। सब आआफ्नो मस्तीमा झुम्दै हिँडेको, आआफ्नो कामधन्दा गरेको। त्यस्तो कहाँ थियो र संसार तर ?
मलाई लाग्यो, संसार खराबै ठाउँ हो र यो कुरा त्यो हरियो पर्दा लगाएको कोठाभित्र बस्नेहरूले मात्र बुझेका छन्। त्यसैले ती बाहिरै निस्किँदैनन्। भित्रै बसेर हाँसिरहन्छन्, नाचिरहन्छन्।
०००
एक दिन म जीवनमा कसरी सधैं हाँसिरहने, नाचिरहने भन्ने रहस्य पत्ता लगाउन हरियो पर्दा लगाइएको एउटा पसलभित्र छिरेँ।
राम्री साहुनी आन्टीले मलाई हेरेर भन्नुभयो, ‘ओहो बाबु... तिम्रो अहिले भट्टी आउने बेला भएको छैन। ठूलो भएर आउने। अहिले जाऊ।’
त्यो ठाउँलाई भट्टी भन्दा रहेछन् भनेर मैले त्यस बेला थाहा पाएँ। त्यहाँउप्रान्त मलाई म कहिले ठूलो हूँला र भट्टीभित्र प्रवेश पाउनयोग्य हूँला भन्ने कुराको पर्खाइ रहन थाल्यो। एक दिन म ठूलो भएँ। ठूलो भएँ भनेर कसरी थाहा भयो ? भट्टीभित्र छिर्दा कसैले रोकटोक गरेन त्यो एक दिन।
एउटा उर्दु कविता छ, फिराक गोरखपुरीको : ए पुजारी, तिम्रा मन्त्रमा दम छ भने मन्दिर हल्लाएर देखाऊ। नत्र आऊ, सँगै बसेर पिऊँ। तिम्रो मन्दिर कसरी हल्लिन्छ, देखाइदिन्छु म।
बरु मन्दिरमा सबैलाई प्रवेश खुला हुँदैन। भट्टीमा सबै बराबर।
सही अर्थमा भन्ने हो भने भट्टी मात्र सच्चा समाजवादी, साम्यवादी। कम्युनिस्ट। यहाँ दिनभर भारी बोकेर आएका भरियादेखि लेख्ने विषयवस्तु खोज्दै आएका लेखक, हृदय तोडिएर आएका प्रेमी सबै समान। मातेपछि सबै एक धुनमा नाच्ने गाउने। सबै साक्खै दाजुभाइ। हरिवंश राय बच्चनले भट्टीको प्रशंसामा त्यसै भनेका हैनन्, ‘वैर गराउँछ मन्दिर मस्जिद, मेल गराउँछ मधुशाला।’
०००
पोखराको लेकसाइडमा एउटा आधुनिक भट्टी छ। नाम मधुशाला। दुःखमा पिउने वा दुःखी महसुस गर्न चाहनेका लागि स्वर्ग। पछिल्लो पल्ट म त्यहाँ जाँदा अरुणा लामाको ‘पोहोर साल खुसी फाट्दा’ बजिरहेको थियो। सुनेर म धुरुधुरु रोएको थिएँ। मधुरो उज्यालो भएको हुनाले धन्न म रोएको कसैले देख्न पाएनन्। एउटा साथी थियो प्लस टु ताका। न्युरोडको कुनै क्यामेरा पसलमा काम गर्थ्यो। म उसको ड्युटी कहिले सकिएला भनेर पर्खिन्थेँ प्रायः साँझ। दिनभर त्रिचन्द्र कलेजको बायो ल्याबमा मरेका भ्यागुता चिरेर ठुस्स गनाएको मेरो हात मिलाउन ऊ घिनाउँथ्यो, त्यसैले हामी अँगालो माथ्र्यौं भेट्दा। अनि लाग्थ्यौं, न्युरोडका वा ठमेलका अँध्यारा भट्टीतिर।
जीवन मैले तिनै भट्टीहरूमा बुझेको हुँ भन्दा हुन्छ। नेतादेखि संगीतकारसम्म, पाकेटमारदेखि प्रहरीसम्म एकै थलोमा अन्त कहाँ पो जम्मा हुन्छन् र भट्टीमा बाहेक। लक्ष्मीपूजाको एक रात हामी त्यसैगरी भट्टी भ्रमण सकाएर लखरलखर ठमेलका गल्लीहरूमा विचरण गर्दै थियौं। मेरो साथीले खै कोसँग हो मागेर ल्याएको काउब्वाय ह्याट लगाएको थियो। हाम्रो खल्ती खाली भइसकेको थियो। पिउन त अझै मन थियो नि। के गर्नु ! त्यस्तैमा हामीले भैलीराम भट्याइरहेका टोली देख्यौं। नोट छापिरहेका भैलीरामलाई देखेर मेरो दिमागमा आइडिया फुर्यो। साथीलाई मैले भनेँ, ‘म भट्याउँछु। तँ भैलीराम भन्। जे जति आउँछ त्यसले दोस्रो चरणको भट्टी भ्रमण गर्नुपर्छ।’ साथी तयार भयो। हामी एउटा पसलअगाडि गयौं। म भट्याउन थालेँ, ‘ए भन् मेरो भाइ।’ ऊ थपडी बजाउँदै भन्दै जान्थ्यो, ‘भैलीराम...’
पसलेले टिठ मानेर हो वा रमाइलो मानेर, हामीलाई पचास रुपैयाँ दियो। हामीलाई त ज्याक्पटसरह भयो त्यो पैसा। लाज पचाएर अझ दुईचार पसल भैलीराम भट्याएर जम्मा भएको पैसा बोकेर हामीले त्यस रात भट्टीका सिक्वेल प्रिक्वेल सबै गर्न भ्याएका थियौं, भनौं भट्टी सिरिज नै भ्याएका थियौं त्यस रात। राति घर फर्कंदै गर्दा मैले आकाशमा हेरेर चन्द्रमालाई मुखै छोडी छोडी गाली गरेको थिएँ। लड्खडाएको मलाई उसले जतनपूर्वक आफ्नो घर पुर्याएको थियो। उसको कोठाभरि मैले बान्ता गर्दा घिन नमानी सफा गरेको थियो। केही वर्षपछि त्यो साथी छुट्टियो। अधिकांश नेपालीझैं ऊ वैदेशिक रोजगारीमा भासियो।
त्यहाँउप्रान्त हरेक लक्ष्मीपूजाको दिन ऊ नोस्टाल्जिक भएर मलाई विदेशबाट फोन गर्ने गर्थ्यो। भट्टीले बनाएको सम्बन्ध त्यस्तो आत्मीय हुँदो रहेछ। थोरै सही, मैले केही विदेशी भट्टी चाख्ने अवसर पनि पाएँ। मेरी एउटी प्रेमिका र म युरोप र एसियाको बीचमा अवस्थित युरेसिया भनिने ठाउँको अजरबैजान भन्ने देशको भ्रमणमा थियौं। प्रेमिका अहिलेसम्मकै सबैभन्दा प्यारी प्रेमिका। भनौं सबै उत्कृष्टताहरूको संयोजन टाइपकी प्रेमिका।
हामी लोकल फुड ट्राई मार्ने चक्करमा एउटा लोकल भट्टीभित्र छिरेछौं। अंग्रेजी उनीहरू नबुझ्ने, हामी उनीहरूको भाषा नबुझ्ने। तर पियक्कडहरूलाई हृदयले जोडेको हुन्छ, भाषाले हैन। तत्क्षण इसारा इसारामा हृदयहरू जोडिए। त्यहाँको लोकल पेय नै बियर। सितनमा चाहिँ उसिनेको चना र कोरेसोले कोरेको, नुन र कागती मोलेको चीज। कस्तो नौलो सितन ! हाम्रो टेबुलमा पाँच छ पियक्कड साथ दिन आइपुगे। स्थानीय खाना उनीहरूले नै रेकमेन्ड गरे। हामीसँग फोटो खिचाए।
इसारा इसारामा बनेको त्यो भट्टी सम्बन्ध हालसम्म पनि कायमै छ। अजरबैजानको भट्टीमा भेटिएका ती पियक्कड दाजुभाइहरू मेरो इन्स्टाग्राममा छन्। हामी केही नबुझे पनि एकअर्काका फोटोहरूमा लभ रियाक्ट गर्छौं। अझ पिएको फोटो देखे भने त उनीहरू स्माइलीसमेत पोस्ट गर्छन् कमेन्टमा। भट्टीको साइनो पो साइनो !
खासमा अन्य मान्छेहरूले नातेदार जनाउन रगतको साइनो वा मामली साइनो भनेझैं पियक्कडहरूले भट्टीको साइनो भने फरक नपर्ला। मैले इन्ज्वाई गरेको अर्को विदेशी भट्टी गोवन भट्टी हो। जवानीका दिनहरूमा म गोवा घुम्न गएको थिएँ। त्यहाँको काजुको रक्सी निकै प्रख्यात छ। त्यसैको लोभमा म एउटा लोकल भट्टी छिरेको थिएँ। नब्बेको दशकको बलिउडी आइटम गीतको सेटजस्तो थियो भट्टीको माहोल। जाली भएको टिसर्ट लगाएको, प्याट्ट भुँडी उछिट्टिएको गोवन अंकलले मुसुक्क मुस्कुराउँदै काजुको फेनी सर्भ गरेको थियो। बस्नलाई डोरी खाटहरू राखिएको थियो। सितनमा चाहिँ हिन्द महासागरका माछा फ्राई। ठाउँअनुसारका भट्टी ठाउँअनुसारको स्वाद !
नेपालको पूर्वी तराईका केही भट्टीहरूमा नरिवलजस्तो देखिने ताडी भनिने रूखको झोल पाइन्छ। लगभग बियरैजस्तो। सितनमा चाहिँ स्वादिलो, पौष्टिक, प्रोटिन र क्याल्सियमले भरिपूर्ण, हेर्दा शंखेकीराजस्तो देखिने, घुंगी। भट्टीप्रेमीका लागि गोवा स्वर्ग नै हो भन्दा हुन्छ। बियरै तीस रुपैयाँ बोतल। भन्दा गफ हानेजस्तो सुनिएला, जवानीको उरन्ठेउलो तुजुकमा मैले गोवा हुँदा एकपल्ट बियरले बाथटब भरेर नुहाएको छु। पानी भन्दा बियर सस्तो। ईश्वरले चाहे संसारका अनेक देशका भट्टी यसरी नै चाहार्न पाऊँ। चाहे जहाँ जाऊँ, भट्टी मेरो प्यारो ठाउँ।
काठमाडौंमा किताब पसलभन्दा भट्टी नै धेरै होलान्। म बस्ने ठाउँमा त किताब पसल एउटा दुइटा होलान्। भट्टीको संख्या गन्ने हो भने दुई सय नाघ्लान्। हुन त पढ्ने लेख्ने मान्छेका लागि भट्टी इन्ट्रेस्टिङ ठाउँ हो। रुसी रहस्यद्रष्टा जर्ज गुर्जियफ भट्टीमै बसेर लेख्ने गर्थे रे। उनका दुर्लभ र सुन्दर किताब अल एन्ड एभ्रिथिङ ट्राइलजी भट्टीमै लेखिएका हुन्। पढ्न लेख्नलाई मलाई पनि क्याफेहरूभन्दा भट्टी नै मन पर्छन्।
अक्सर म भट्टीहरूमा बसेर कविता लेख्ने गर्छु। रेस्टुरेन्ट वा पबहरू महँगा हुन्छन्। त्यहाँका साकीहरूले पस्कने मुस्कान पनि विद्यालयमा तालिम दिएर सिकाइएजस्तो कृत्रिम लाग्छ। भट्टीमा नो सर्भिस ट्याक्स, नो भ्याट। केवल अग्र्यानिक आतिथ्य। भट्टीका साहुनीहरूले बोल्ने बोली र मुस्कान आफैंमा कविताजस्ता। पैसा तिर्न नपुगे भोलि दिऊँला भन्दा पनि मुस्कानले नै बिदा गर्ने।
एउटा भट्टी हुने गथ्र्यो बौद्धमा। हामी ड्रागन हाउस भन्ने गथ्र्यौं त्यो ठाउँलाई। अहिले कुनै आधुनिक पसल बनाउने क्रममा त्यो भट्टी मासिएछ। मलाई काठमाडौंको ठूलै सम्पदा मासिएझैं लाग्यो। त्यहाँ पाइने पिरो आलु र छ्याङले मैले आफ्नो बीस वर्षे दशक कटाएको छु, अनेक स्वदेशी विदेशी प्रेमिकाहरूलाई त्यहाँको स्वाद चखाएको छु। यहाँ फेरि हरिवंश राय बच्चनलाई सम्झनुपर्ने हुन्छ। हरेक बूढो पुस्ताले सोच्छ रे— अब हाम्रो जमानाका जस्ता पियक्कड कहाँ, कहाँ हुनु त्यस्ता मधुशाला। तर हरेक पुस्ताले आफ्नो अनुकूलको मधुशाला अर्थात् भट्टीको खोज गरेकै हुन्छ रे।
भलै मेरा तन्नेरी दिनहरूको भट्टी मासियो, नयाँ पुस्ताले आफ्नो स्वाद सुहाउँदो कुनै भट्टी पक्कै फेला पारेको होला। मेलम्चीमा मेरो एउटा प्राणभन्दा प्यारो भाइको क्याफे छ, कफीलय। भाइ हामीसँग बसेर पिउन भनेरै बेला बेला मेलम्चीको धुलाम्मे बाटो हुँदै काठमाडौं आउने गर्छ। पिएको बेला भावुक हुँदै भन्छ, ‘दाइलाई चाहिएको बेला म आफ्नो किड्नी दिन्छु। तर मलाई थाहा छ, तपाईंले चाहिँ मलाई रगत चाहियो भने पनि दिँदैन...।’
भाइको प्रेम सम्झेर हामी पनि बेलाबेला बौद्ध जोरपाटीको नारकीय बाटो छिचोल्दै मेलम्ची पुग्ने गर्छौं। बीच बाटोमा एउटा भट्टी आउँछ। त्यहाँ हामी केही बेर सुस्ताउँछौं। त्यो भट्टीमा जस्तो स्वादिलो नेवारी खाजा मैले अन्त कतै पाएको छैन। पिरोले आँसु र सिँगान चुहाउँदै छोइला चिउरा चपाउँदा बाटोको सकस सबै बिर्सिन्छ। प्यारा मान्छेहरूसँग बेलाबेला हावा गफ र बेलाबेला दर्शन छाँट्दै हल्का टिप्सी भएर भट्टीमा बस्नुको आनन्दै बेग्लै। केही मन परेका मित्र, भाइबहिनी, प्रेमिका छन् जोसँग म भट्टी–भ्रमण–भोजन गर्न चाहन्छु। संसार बिर्सिएर अँगालो मारी गाउन, नाच्न चाहन्छु। कविता सुन्न सुनाउन चाहन्छु।
भगवान्को कान ठाडा छन् अहिले भने अर्को इच्छा पनि प्रकट गरिहालौं। म संसार घुम्न चाहन्छु। संसारका हरेक देशको भट्टी चहार्न, त्यहाँको माहोल देख्न, भोग्न, लेख्न चाहन्छु। भगवान्ले मेरो इच्छा यथाशीघ्र पूरा गरून्। भन्नेले भनून् यो अधर्मी हो, मरेपछि नर्क जान्छ। भट्टीका कुरा गर्छ। स्वर्ग झुर कुरा गर्ने, जीवन जिउन नजानेका मान्छेले भरिभराउ छ पक्कै
चाहे जुन धर्म मानौं
म जाने नर्क नै हो
मेरा सबै साथी,
प्रेमिकाहरू मलाई भेट्न त्यहीँ आऊन्, त्यहीँ एउटा भट्टी बनाऊँला। पार्टी गरौंला। अँगालो मारौंला। हाँसौंला, नाचौंला।
नोट : मद्यपान स्वास्थ्यका लागि हानिकारक छ। @swamianoopamaxl