केवरत कला
केवरत भाषा केवरत जातिको मातृभाषा हो। यस जातिको बसोबास मोरङ जिल्लाको सुनवर्षी नगरपलिकाका ४, ५, ६ र ९ वडामा अनि रतुवामाई नगरपालिकाको वडा नं.७ को पिढालीका गाउँहरूमा रहेको छ। यस जातिको जनसङ्ख्या १२ हजारभन्दा बढी छ। केवरत भाषाका दस हजारभन्दा बढी वक्ता छन्। नेपालमा हालसम्म ११ वटा राष्ट्रिय जनगणना सम्पन्न भइसक्दासमेत केवरत जातिलाई केन्द्रीय तथ्यांक विभागमा पृथक् जातिको रूपमा अभिलेखन नगरिनु अत्यन्त दुःखद करा हो। शतप्रतिशत केवरतहरू परस्परमा आफ्नो मातृभाषामै संवाद गर्छन्। केवरत गाउँहरूमा बसोबास गर्ने गैरकेवरतहरू जस्तै यादव, तेली, सुढी, लौवा (हजाम), कहाल, चमार, सुतिहार, नुनियाँ, गोढि, दुसाध र मुसहरहरूसमेत यस भाषामा संवाद गर्छन्।
यो भाषा भारोपेली भाषा महापरिवारभित्र पर्छ। पंक्तिकारले संकलन अध्ययन गरेको यस भाषाको केवरत शब्दसंग्रह नेपाल प्रज्ञाप्रतिष्ठानबाट २०७० सालमा छापिएको छ। केवरत जातिकोे स्थलगत अध्ययन भ्रमण गरेर संकलनपछि प्रकाशन गरिएको केवरत भाषाको यो पहिलो पुस्तक हो। यस शब्दसंग्रहमा संकलित शब्दहरूलाई केवरत र नेपाली गरी द्वैभाषिक रूपमा प्रकाशन गरिएको छ। केवरत भाषाका शब्दहरूलाई नेपाली भाषामा अथ्र्याइएको छ। यसभित्र केवरत भाषाका शब्दहरूलाई पदवर्गीय आधारमा विभाजन गरेर प्रविष्टि गराइएको छ। यस शब्दसंग्रहभित्र केवरत भाषाका शब्दहरूलाई नेपाली वर्णमालाको वर्णानुक्रमका आधारमा शब्दहरूको क्रम मिलाइएको छ। प्रस्तुत संग्रहभित्र केवरत बालबोलीका शब्दहरू, उखानटुक्काहरूलाई आवश्यकताअनुसार उदाहरणका रूपमा प्रयोग गरिएको छ। यस शब्दसंग्रहभित्र चार हजारभन्दा बढी केवरत भाषाका मूल शब्दहरूको प्रविष्टि गरिएको छ। यसमा केवरत जातिका दैनिक व्यवहार, कृषिकर्म, नाताकुटुम्ब, लोकसाहित्य, संस्कारसंस्कृति, झारफुक तथा तन्त्रमन्त्रसँग सम्बन्धित मौलिक शब्दहरू यस संग्रहभित्र समावेश गरिएका छन्। यहाँनेर केवरत भाषाका नातासम्बन्धी शब्दहरूलाई राखिएको छ।
केवरत जातिमा प्रचलित नातासम्बन्धी शब्दहरू
केवरत शब्द नेपालीमा अर्थ
बाबा बाबु
माँ आमा
बेटा छोरा
बेटि छोरी
पुथौ छोरा बुहारी
पता नाति (छोरा/भतिजाको छोरा)
पोति नातिनी (छोरा/भतिजाकी छोरी)
परपोति पनातिनी
दादा दाजु
भाइ भाइ
भाउज भाउजू
बोहिन बहिनी
बाइ दिदी
दादो हजुरबुबा (बुबा, काका, ठूलो बुवाको बुवा, काका, ठूलो बुवा)
आइ हजुरआमा (बुवा, काका, ठूलो बुवाकी आमा, काकी, ठूली आमा)
परदादो कुप्रेबाउ (हजुबाको बुवा)
परआइ कुप्री हजुरआमा
काका काका
काकि काकी
पिसि फुपू (बुबाकी दिदी–बहिनी)
पिसा फुपाजु (बुवाका भिनाजु र बहिनी ज्वाइँ)
भतिजा भतिजा
भतिजि भतिजी
भाइबेटि भदैनी
भाइ बेटा भदै
बोहनो भिनाजु
भागिन भान्जी
भगिना भान्जा
साला साला
साली साली
मामा मामा
मामि माइज्यू
सोसुर ससुरो
सासुर सासू
जाव देवरानी
मेजुवान ज्वाइँलाई बोलाउँदा सम्बोधन गरिने शब्द
बाबुसाहेब ससुरोलाई बोलाउँदा सम्बोधन गरिने शब्द
माताजि सासूलाई बोलाउँदा सम्बोधन गरिने शब्द
दासजि जेठानलाई बोलाउँदा सम्बोधन गरिने शब्द
सासिन आमाजूलाई बोलाउँदा सम्बोधन गरिने शब्द
मसास सानीआमा र माइजू सासूलाई बोलाउँदा प्रयोग गरिने शब्द
पिसोस फुपू सासूलाई बोलाउँदा प्रयोग गरिने शब्द
ठाकुर छोरा बुहारीले ससुरालाई बोलाउँदा प्रयोग गरिने शब्द
ठुरान छोरा बुहारीले सासूलाई बोलाउँदा प्रयोग गरिने शब्द
नुनु भाउजूले देवरलाई बोलाउन प्रयोग गरिने शब्द
माँइ नन्द, चेलीबेटी, बुहारीकी दिदी बहिनी र ज्वाइँकी दिदी बहिनीलाई बोलाउँदा प्रयोग गरिने शब्द
ताहो दाजु, भाइ तथा दिदी, बहिनीकी ससुरालाई सम्बोधन गरिने शब्द
माँहो दाजु, भाइ तथा दिदी, बहिनीका सासूलाई सम्बोधन गरिने शब्द
बौवा सानो बाबुलाई बोलाइने स्नेहवाची शब्द
माँइ सानी नानीलाई बोलाइने स्नेहवाची शब्द
जेठो ठूलो बुवा
जेठि ठूली आमा
आजा बुवा, आमाका मामा, सानो बुवा, फुपाजु
आजि बुवा, आमाका माइजू, सानीआमा, फुपू
सम्धि सम्धी
सम्धिन सम्धिनी
मजकिया सोल्टा, सोल्टिनी
मिता मीत (उही नाम भएको व्यक्ति मात्र)
मितिन मितिनी
मितबाप मीत बाबु
मित माँ मस्त आमा
सौतिन सौता
भागिनपोत बहिनी ज्वाइँ
ज्वायँ ज्वाइँ
जेठान जेठान
ननन नन्द
माताजि जेठी सासू
भोसुर जेठाजु
देवर देवर
भौसान भाइ बुहारी
कैना भाइ बुहारी र छोरा बुहारीलाई बोलाउँदा प्रयोग गरिने शब्द
भाइसाहब साढु दाइ
सार्हु साढु भाइ
मोगि भतार लोग्ने स्वास्नी
सासिन आमाजू
सङ्र्हा मीत
दोस मीत
पुसौवा बेटा धर्मपुत्र
पुसौवा बेटि धर्मपुत्री
भाषा मनका भाव एवं विचार अभिव्यक्त गर्ने साधन मात्र होइन, यो त सम्बन्धित जाति एवं समुदायको संस्कार–संस्कृति तथा मूर्त–अमूर्त लोकसम्पदाको संवाहक पनि हो। केवरत समुदायमा गएर सबै शब्दको संकलन गर्ने हो भने केवरत शब्दकोश निर्माण गर्न सकिन्छ। यस भाषाका शब्दहरूको समयमै संकलन र अभिलेखन गर्न सकिएन भने ती लोप हुन सक्छन्। लोपोन्मुख अवस्थामा रहेको केवरत भाषाको संरक्षण तथा अभिलेखन आवश्यक छ। कुनै पनि भाषा, जाति र समुदाय मात्रको निधि नभई राष्ट्रकै सम्पत्ति भएको हुनाले यसको संरक्षण र संवद्र्धन आवश्यक छ।