मार्मिक अभिलेख
दियालीले यस आख्यानमा सरल शब्द र ससाना वाक्य प्रयोग गरेर पाठकलाई बाँधिरहन सक्ने जुन सीप देखाएका छन्, त्यसको नेपाली साहित्यका प्रत्येक पाठकले खुला हृदयले प्रशंसा गर्नुपर्छ।
सन् १९९० को दशक छिमेकी अधिराज्य भुटानका नेपाली मूलका नागरिकका लागि ठूलो संकटको समय साबित भएको थियो। त्यस पहाडी मुलुकका तिब्बती मूलका शासक राजा जिग्मे सिंगे वाङ्चुकको जातीय प्रभुत्ववादी प्रशासनले अंगीकार गरेको विभेदकारी नीतिको सिकार भएका उनीहरूमध्ये हज्जारौंले आफ्नो घरबार र श्रीसम्पत्ति उतै छोडेर शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका थिए। सन् १९९० मा सुरु भएको नेपाली मूलका भुटानीहरूको पलायनको त्यो क्रम त्यसपछिका केही वर्षसम्म पनि चलिरहेको थियो। सहस्राब्दीको अन्त्यसम्म नेपालमा शरण लिन आएका भुटानीहरूको संख्या एक लाख २० हजार पुगेको अनौपचारिक तथ्यांक छ।
धेरै वर्ष अघिदेखि नै भुटानलाई आफ्नो राष्ट्र मानेर त्यसको बफादार नागरिकका रूपमा बसोबास गरिरहेका नेपाली मूलका बहुसंख्यक भुटानीको जिन्दगीमा त्यति बेला भुइँचालो गएको थियो जब अल्पसंख्यक ड्रुक्पा शासक समूहले उनीहरूका मौलिक हकहरूमाथि अंकुश लगााउने नियतले अनेक प्रकारका विभेदकारी नीतिनियम र बन्देजहरू थोपर्दै ल्याएको थियो। नेपाली मूलका नागरिकहरूले बहुमतका बलमा सत्तामाथि कुनै न कुनै रूपमा प्रभुत्व कायम गर्न सक्छन् भन्ने काल्पनिक डरको मनोविज्ञानबाट निर्देशित भुटानी सत्ताधारी समूहले सुरुमा नेपाली समुदायलाई कानुनी रूपमा नै अल्पमतमा पार्ने प्रयत्न गरेको भए पनि त्यो त्यति प्रभावकारी नभएको ठानेर हुनुपर्छ, अन्त्यमा आएर नेपालीलाई भुटानबाट जसरी भए पनि लखेट्ने षड्यन्त्रको तानाबाना बुनेका थिए। सोही षड्यन्त्रअन्तर्गत नेपालीको नागरिकतालाई कमजोर बनाउने प्रपञ्च रचिएको थियो भने उनीहरूको जमिनमाथिको स्वामित्वलाई पनि विवादित पार्ने प्रयास गरिएको थियो।
सन् १९८६ पछि ड्रुक सरकारको नेपाली समुदायप्रतिको व्यवहार झनै बढी निर्मम भएर आएको इतिहास छ। सन् १९८९ मा भुटानमा भएका सबै स्कुलका पाठ्यक्रमहरूबाट नेपाली भाषा पूरै हटाइयो। यसका साथै भुटानी नागरिकहरूले सार्वजनिक ठाउँहरूमा नेपाली बोल्न नपाउने, कसैले पनि बोलेकोे पाइएमा प्रतिशब्द भुटानी मुद्रा १० जरिवाना गरिने नियम जारी गरी त्यसलाई कडाइका साथ लागू गर्न सुरु गरियो। नेपाली मूलका भुटानी नागरिकमाथि दमन गर्ने क्रम यतिमै रोकिएन। जातीय प्रभुत्ववादी फासिस्ट सोच राख्ने थिम्पु सत्ताले आफ्ना नेपाली मूलका नागरिकको सांस्कृतिक पहिचानलाई पूरै मेटाइदिने मनसुवाले सबै भुटानी नागरिकले अनिवार्य रूपमा शासक ड्रुक्पा जातिको पहिरन बक्खु लगाउनुपर्ने फरमान जारी गराए। त्यो पोसाक एक त जबर्जस्ती थोपरिएको थियो भने अधिराज्यको दक्षिणी तलहटीको अत्यन्त गर्मी हुने भावर प्रदेशमा बस्ने नेपालीका लागि गह्रुँगो बक्खु असुविधाजनक पनि थियो।
नेपाली भाषामा लगाइएको बन्देज र जातिवादी ड्रेस कोडसम्बन्धी फरमानले भुटानी नेपालीका बीच तीव्र असन्तोषको लहर फैलाइदियो। त्यसभन्दा पहिलेदेखि नै बोर्डरपारि भारतीय भूभागमा बसेर भुटानमा राजनीतिक स्वतन्त्रताका लागि आवाज उठाइरहेका समूहहरूले थिम्पु सरकारका ती विभेदकारी नीतिहरूको विरोधमा संगठित रूपमा आवाज उठाउन थाले। भुटानको सरहदभित्र बाहिर दुवैतिर प्रदर्शनहरू भए। सरकार पनि तीव्र दमनमा उत्रियो। व्यापक धरपकड भयो। नेपालीहरूका बस्तीमा आगो लगाइयो। गैरन्यायिक हत्याहरू पनि भए। अन्त्यमा यी सबैको परिणाम भयो नेपाली मूलका भुटानी नागरिकहरूको ठूलो संख्यामा देशबाट पलायन। थिम्पु सरकारले पनि देश छोडेर जान चाहनेहरूलाई स्वेच्छाले हिँडेको भन्ने प्रमाणपत्र जारी गरेर उनीहरूको स्वामित्वको जग्गाबापत केही रकम पनि दिएर आफ्ना नागरिकहरूलाई शरणार्थी बनाउने प्रक्रियामा सहजकर्ताको भूमिका निर्वाह गरेको थियो।
भुटानबाट पलायन भएका ती गृहहाराहरूलाई भारतले आफूकहाँ एक दिन पनि टिक्न दिएन, जब कि देश छोडेपछि उनीहरूले टेकेको पहिलो भूमि भारत नै थियो। उनीहरूलाई सरासर मेची पुल कटाइयो। देख्दादेख्दै देश हराएका ती एक लाखभन्दा बढी शरणार्थी माईखोलाको विस्तीर्ण बगरमा, नदीमा कुनै ठूलो अनिष्ट भएपछि किनारामा फ्याँकिन पुगेका माछाहरूझैं छटपटाइरहेका देखिए। माईको किनारामा अवर्णनीय कष्टका धेरै दिन बिताएका तिनीहरूलाई नेपाल सरकारले शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगको सहयोगमा झापा जिल्लामा खोलिएका सातवटा शरणार्थी शिविरमा सारिएको थियो। त्यस अवधिमा झाडापखालाजस्ता महामारी र कुपोषणले माईको बगरमै हज्जारौं भुटानी नेपालीको मृत्यु भइसकेको थियो।
रमेश दियालीको उपन्यास ‘छाप्रो नम्बर ५५’ले नेपालको आ श्रयमा आएका भुटानीका लागि झापा जिल्लामा सञ्चालित तिनै शरणार्थी शिविरमा रहेका मान्छेहरूका कथाहरू सुनाउने जमर्को गरेको छ। लेखक दियाली स्वयं पनि शरणार्थी हुन् र यस आख्यानमा उनले शिविरमा आफूले बिताएका क्षणहरूका अनुभव र अनुभूतिलाई आख्यानात्मक ढंगले प्रस्तुत गरेका छन्। त्यसैले यस उपन्यासमा वर्णित एकएक कुराहरूमा लेखकको स्वानुभूतिको प्रामाणिकता छ, जीवन्तता छ र उनको सूक्ष्म अन्तर्दृष्टिको झलक पनि छ। उपन्यासको कथावस्तु र कथ्यका विषयमा प्रस्ट पार्दै उपन्यासकारले लेखकीय टिप्पणीमा लेखेका छन् : ‘सन् १९९० को दशकमा हामी भुटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपालीभाषी भुटानीहरूले निकै कष्टकर जीवन बिताउनु परेको थियो। शरणार्थी जीवनको भोगाइलाई हाम्रो दोस्रो नारकीय जीवन भनेर सम्झिन्छौं हामीहरू।’
‘यस उपन्यासमा त्यही भोगाइलाई समेट्ने जमर्को गरेको छु। मुख्य पात्र नारीलाई बनाएर प्रस्तुत गरेको भए पनि यो उपन्यास मेरो आफ्नै भोगाइको अभिलेख हो। मलाई लाग्दछ, उपन्यास भनिए पनि ‘छाप्रो नम्बर ५५’ हामी भुटानी शरणार्थीहरूको भोगाइको दस्तावेज हो। भोलिका दिनहरूमा हाम्रा सन्ततिहरूले आफ्ना पुर्खाहरूको भोगाइ कति कष्टकर थियो, जातीय छुवाछूत कुन हदसम्म थियो भन्ने कुराको पक्कै खोजी गर्नेछन्। त्यसका लागि यो उपन्यासको पाना पनि पल्टाइदिए भने म आफूलाई सफल ठान्नेछु।’
उपन्यासकार दियालीले लेखकीय टिप्पणीमा भनेझैं यो उपन्यासले देश गुमाएर अनागरिक हुनु पर्दाका पीडाहरूलाई वाणी दिने सफल प्रयत्न गरेको छ। शरणार्थी शिविरको प्रायः निष्क्रिय रहने र निरुद्देश्यजस्तो पनि लाग्ने पट्यारलाग्दो जीवनचर्यालाई त लेखक दियालीले राम्रोसँग प्रस्तुत गरेका छन् नै, साथसाथै देशबाट पलायन गरेर शरणार्थी शिविरमा आइपुग्दा पनि भुटानी नेपालीहरूले साथमा लिएर आएका जातपात, छुवाछूत र सानाठूलाजस्ता विभेदकारी सोच र भावनाको पनि वस्तुपरक चित्रण गरेका छन्। दियालीको यो उपन्यासले पाठकलाई भुटानका नेपालीभाषी जनताको रहनसहन, मानसिकता र चिन्तनको धरातलमा चियाएर हेर्न एउटा शक्तिशाली बाइनाकुलर पनि उपलब्ध गराएको छ।
मूलतः प्रेमकथाको रूपमा विकसित गरिएको यो आख्यानमा लेखकले उपकथाहरूको माध्यमबाट शरणार्थीहरूको प्रत्यावर्तनसँग गाँसिएको राजनीतिक समस्यालाई पनि कथावाचनकै सिलसिलामा उठाएका छन्। तर त्यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा विस्तारका साथ प्रस्तुत गर्ने जमर्को भने गरिएको छैन। नेपालीभाषी भुटानीहरूको ससम्मान स्वदेश फर्कने अभिलाषामा कसरी तुषारापात भयो भन्ने सन्दर्भलाई पनि छोइएको मात्र छ। उपन्यासकार दियालीले भुटानी शरणार्थीको व्यथाकथामा आधारित यस आख्यानलाई भुटानका नेपालीभाषी जनताको सम्पूर्ण गाथा बनाउन सकेको भए यसको महत्त्व नै अर्को हुने थियो।
‘छाप्रो नम्बर ५५’ युवा लेखक रमेश दियालीको पहिलो उपन्यास हो। यो उपन्यास पढ्दा लेखकको नेपाली भाषामाथिको कमजोर पकडका बारेमा एउटा सजग पाठकले सजिलै थाहा पाउन सक्छ। भुटानी शरणार्थी रमेशले नेपाली भाषामा कमान हासिल गर्न आवश्यक पर्ने तालिम र अभ्यासको अवसर नपाउनु खेदजनक वास्तविकता भएको सन्दर्भमा उनको भाषालाई धेरै कमजोर भने भन्न मिल्दैन। दियालीले यस आख्यानमा सरल शब्दहरू र ससाना वाक्य प्रयोग गरेर पाठकलाई बाँधिरहन सक्ने जुन सीप देखाएका छन्, त्यसको भने नेपाली साहित्यका प्रत्येक पाठकले खुला हृदयले प्रशंसा गर्नुपर्छ भन्ने मेरो धारणा छ।
यस उपन्यासका लेखक रमेश दियाली भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा बसोबास गराउने संयुक्त राष्ट्रसंघीय स्किमअन्तर्गत संयुक्त राज्य अमेरिकामा पुनस्र्थापित भएका छन्। उनको यो कृतिलाई, त्यसैले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यस सालको सर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।