नूर हराएको सम्पदा पदमार्ग
हाम्रा पूर्वजहरूले सहरका हरेक आवश्यकतालाई बुझेका थिए। त्यसैले ठाउँठाउँमा ढुंगे धारो निर्माण गराएका थिए। पाटी पौवा बनाउन लगाएका थिए।
सम्पदाहरूले भरिएको सहर काठमाडौंमा बस्छौं हामी, तर सम्पदा क्षेत्रको परिक्रमा विरलै गर्छौं। सम्पदा क्षेत्रको जानकारी दिन काठमाडौं महानगरले पदमार्ग घोषणा गरेको छ। दुई सम्पदा लाय्कु (वसन्तपुर) र स्वयम्भू जोड्छ पदमार्गले। पर्यटनमुखी पदमार्गको आकर्षण स्थानीयमा पनि उत्तिकै छ। सहरभित्रै छ पदमार्ग तर सहरको कोलाहलबाट टाढा छ। शान्त र शीतल अनुभूत गर्न पाइन्छ यहाँ। प्राचीन सहरभित्र पसेको छैन पदमार्ग। सहरको पश्चिम फेरो समातेर छेउछेउ स्वयम्भू डाँडा पुगेर टुंगिन्छ।
स्वयम्भू, काठमाडौं सहरको सुन्दर र कुरूप दुवै पक्ष नियाल्न सकिने विश्व सम्पदा क्षेत्र हो। लाय्कु सम्पदा पदमार्गको प्रस्थान बिन्दु हो। प्राचीन सम्पदाका अभूतपूर्व नमुना छन् यहाँ। वास्तुकला, काष्ठकलालगायत कलाकारिताका अनुपम उदाहरण हुन् यी सम्पदा। उपत्यकाका मठमन्दिर र दरबार मात्रै सम्पदा होइनन्। सम्पदा शिक्षाका गुरु प्राडा सुदर्शनराज तिवारी यसै भन्छन्। उनले आफ्नो एक शोधपत्रमा लेखेका छन्, ‘मठमन्दिर मात्रै होइनन्; काठमाडौंका गल्ली, पाटी, बहाः, बही, जात्रा, चाडपर्व एवं सहर निर्माणमा प्रयोग भएका वास्तुकला तथा निर्माण सामग्री सबै यहाँका अमूल्य सम्पदा हुन्।’ तिवारीका यी अभिव्यक्तिलाई सम्पदा पदमार्गमा भेटिने सुन्दर बहाः, बहीः, पाटी आदिले प्रमाणित गर्छ।
वसन्तपुर डबली सम्पदा गुरुले भनेजस्तै एक उदाहरण हो। स्थानीय किसानहरूको धान सुकाउने ठाउँ थियो यो डबली कुनै समय। श्वेत भैरवलगायत विभिन्न देवीदेवताका गुठीको सयौं रोपनी जमिनबाट आएको धान यहाँ सुकाइन्थ्यो। स्थानीयवासी पुण्य कमाउन गुठीलाई जग्गा दान गर्थे। डबलीमा सुकाएको धानमा आआफ्नो तर्फबाट गच्छेअनुसार धान थप्थे। बेजोडको धार्मिक आस्था बोकेको थियो सहरले। तर कृषि कर्म गर्नेको संख्या घट्दै गएको उपत्यकाका धान फल्ने खेतहरू विलुप्त भइसकेका छन्। आधुनिक र सुविधासम्पन्न कंक्रिटका भवनले भरिएको छ उपत्यका अहिले। धान फल्न छाडेसँगै डबली क्युरियो सामान पसार्न र विदेशीका पछि दौडी दौडी सामान बेच्ने थलो भएको छ।
लाय्कुबाट सुरु हुने पदमार्ग मरु सत्तल हुँदै मरु हिटीतिर झर्छ। मरुसत्तलको प्रचलित नाम हो, काष्ठमण्डप। बहत्तर सालको भूकम्पले ध्वस्त काष्ठमण्डप धमाधम पुनर्निमाण हुँदै छ। सम्पदाका मूल्यमान्यता नमर्ने गरी पारम्परिक प्रविधिबाट भइरहेको पुनर्निर्माण उदाहरणीय छ। उठ्दै गरेको काष्ठमण्डपको दक्षिणपश्चिम कुनोमा एउटा ढुंगा छ। ढुंगा सामान्य छ। चुच्चो परेको। काष्ठमण्डपलाई कत्ति नसुहाउँदो। सांस्कृतिक महत्त्वको यो ढुंगालाई ‘थस्वः हिटी’ भनिन्छ अर्थात् माथि फर्केको धारो। सुन्दै अचम्म लाग्ने। पचली भैरवको खड्गजात्रा सक्न धारोको प्रतीक यो चुच्चो ढुंगा निकै महत्त्वपूर्ण मानिन्छ।
सम्पदा क्षेत्रमा ढुंगाका प्रतीकात्मक धारो मात्रै होइनन्, पानी झर्ने धारोहरू पनि प्रशस्त छन्। मरु हिटीका थुप्रै ल्वँ हिती (ढुंगेधारा)हरूमध्ये एउटा धाराले काकाकुल मरुवासीको तिर्खा अझै मेटिरहेको छ। अधिकांश ढुंगेधाराहरू सुकिसकेको सहरमा मरुहिटी अपवाद भएर बगिरहेको छ। उपत्यकामा भेटिने धेरैजसो ढुंगेधारामा मकरको मुखाकृति हुन्छ। तर बुराँख्यः मुन्तिर एक अद्भुत ढुंगेधारो छ, राँगाको टाउकोको आकृति भएको। ‘म्येछ्यँ हिटी’ भनिन्छ धारोलाई। उपत्यकामा यस्तो ढुंगेधारो अन्त कतै भेटिँदैन। धारोहरू सुक्दै गएपछि उपत्यकाको पानीको तिर्खा मेट्ने जिम्मा प्लास्टिकका काला ट्यांकीले लिएका छन्। यी ट्यांकी कतै दलानमा, कतै जमिनमुनि, कतै ढुंगेधारो छेउमा ठडिएर रहेका भेटिन्छन्। हरदम ट्यांकरको प्रतीक्षामा रहने यस्ता ट्यांकी सहरको तिर्खा मेट्ने विकल्प भएका छन्।
हाम्रा पूर्वजहरूले सहरका हरेक आवश्यकतालाई बुझेका थिए। त्यसैले ठाउँठाउँमा ढुंगेधारो निर्माण गराएका थिए। पाटीपौवा बनाउन लगाएका थिए। महिटीजस्तै पानी बगिरहेको अर्को ढुंगेधारो पनि भेटिन्छ पदमार्गमा। ‘बन्जा हिटी’। बन्जा अर्थात् व्यापारी। किन भनियो यो धारोलाई बन्जा हिटी ? यो खोजकै विषय रह्यो अहिलेलाई। सम्पदा पदमार्गमा अघि बढ्दै जाँदा इँटा छापिएका गल्लीहरू भेटिन्छन्। एकअर्कालाई टेकोको आड लिएर बसेका भवनहरू भेटिन्छन्।
प्राचीन बस्तीका गल्लीमा हिँड्दा आनन्द आउँछ। तर परम्परागत घरहरू लोपोन्मुख भएकोमा चिन्तित पनि पार्छ। लोपोन्मुख यस कारण कि परम्परागत प्रविधिबाट घरहरू बनाउने चलन घट्दै गएको छ उपत्यकामा। नयाँ प्रविधिले बनेका अग्ला घरहरूका कारण दिउँसै अँध्यारो हुने गर्छन् सम्पदा क्षेत्रका गल्लीहरू। प्राचीन र परम्परागत केही घर अपवादका रूपमा भेटिन्छन्। कहिलेसम्म रहलान् त यी घरहरू ? यस्ता प्रश्नले मन उद्विग्न हुन्छ।
सम्पदा पदमार्गमा भेटिने जीर्ण घरका भित्ताहरू आकर्षक कलाकारिताले भरिएका छन्। नेवारी लोकसंस्कृति झल्किने चित्रहरू कोरिएका छन् भित्ताभरि। लाखे, कुमारीलगायत विभिन्न देवीदेवताका चित्रहरूले पदमार्गको शोभा लबढाएको छ। लिपपोत गरेर थोत्रोलाई सुन्दर बनाउने चरित्र होइन काठमाडौंको। वास्तुकलामा धनी सहरमा रंगिएका यी झुत्रा घरहरू अजिबको देखिन्छ। मर्मतसम्भार नभएका यस्ता घरहरूबीचको यात्रा त्रासमय लाग्छ केही ठाउँमा। मरु बहीको प्रवेशद्वार, पाच्छै गल्लीका केही घरहरू उदाहरण हुन्। लाय्खः गल्ली, चसांद्व गल्ली, सुन्ता गल्ली, पाच्छै गल्लीजस्ता प्राचीन टोलहरू छिचोल्दै अघि बढ्छ पदमार्ग। समयक्रमसँगै गल्लीका पारम्परिक नामहरू फेरिन थालेको छ यहाँ। स्थानीय नाम जोगाउन सुरु नगरे सम्पदा क्षेत्रको अस्तित्व मेटिन धेरै प्रयासै गर्नुपर्ने छैन।
केही प्रख्यात स्थानीय व्यक्तिहरूको नाममा मार्ग लेखिने चलनले स्थानीय र टोलहरूका प्राचीन नाम विस्थापित भएका उदाहरण प्रशस्त भेटिन्छ पदमार्गमा। स्थानीय नाम परिवर्तित भएर आजित छ काठमाडौं। नामहरू कसरी फेरिए, किन फेरिए बुझ्न, बुझाउन नसकिने भइसकेको छ। धुम्बाख्यः किन धुम्बाखेल ? दलु किन र कसरी डल्लु ? भुई ख्यः किन भुरुंखेल ? सहरका कमै मात्र स्थान बाँकी होलान् अपभ्रंश हुन।
संझ्या, तिकीझ्या, क्वछु झ्या उपत्यकाको काष्ठकला अवर्णनीय रहेको प्रमाण हुन्। पदमार्गमा फाट्टफुट्ट भेटिने यस्ता झ्या भएका परम्परागत घरहरू सुन्दर र कलात्मक देखिन्छन्। कलात्मकता घरको मूलढोकादेखि नै सुरु हुन्छ। खापामा आँखा कुँदिएका, मेथहरूमा कलात्मक बुट्टा कुँदिएका। काठमाडौंको ऐतिहासिक वास्तुकला बचाइराखेका यस्ता केही उदाहरणीय घरहरू सम्पदा पदमार्गमा भेटिनु पदमार्गको सकारात्मक पक्ष हो।
कलाकारिता काठमा मात्रै सीमित छैन उपत्यकामा। ढुंगामा कुँदिएका विभिन्न देवीदेवताका आकृतिको आकर्षण पनि उत्तिकै छ। बिना आकृतिका, बिना छतका खुला स्थानमा लहरै राखिएका ढुंगा अबिरमा लत्पतिएका दृश्यले आस्थाको पराकाष्ठाको बयान गर्छ। विभिन्न समुदाय र जातजातिका कुलदेवताहरूका यी आकृतिविहीन ढुंगामा बास रहेको विश्वास गर्छ उपत्यका। पूर्वजले खेतको बीचमा, कान्लामा थापना गरेका कुलरक्षक भगवान्सरह विस्तारसँगै सडक छेउमा, अलपत्र र अशोभनीय बेवारिस हुन पुगेका छन्। यी दृश्य टिठलाग्दो लाग्छ।
ताम्सीपाखाबाट तल झरेको पदमार्ग विष्णुमती तरेर भेलु महादेव, धिमेल्ह्वं हुँदै भुईख्य पुग्दा दलुको व्यस्त सडक छिचोल्नुपर्छ। भक्तपुर लगायतका टाढाका ठाउँबाट तीर्थयात्रीहरू दलु बालेर स्वयम्भूको दर्शन गर्न आउँथे उहिले उहिले। फर्किने क्रममा विष्णुमती छेउमा रहेको खरीको बोटमा बाँकी दलु छाडेर जान्थे। कालान्तरमा यो दलु छाड्ने ठाउँको नाउँ नै दलु हुन पुग्यो। दलु हाल अपभ्रंश भएर डल्लु भएको छ।
सम्पदा पदयात्रा काठमाडौंको वास्तुकला, चित्रकला, काष्ठकला, सहरको सामाजिक परिवेश, जात्रा पर्वबारे बुझ्न निकै फलदायी छ। तर लाय्कु र स्वयम्भू जोड्ने पदमार्ग काठमाडौंको सम्पदा क्षेत्रको सानो अंश मात्रै हो। संस्कृति र सम्पदाको धनी सहर काठमाडौंका यी सम्पदा क्षेत्र घुम्नुहोस्, अनुभूति अवश्य फरक रहनेछ। नूर हराउँदै गएको काठमाडौंका सम्पदाले यस्ता पदमार्गको विकासपछि केही पाठ सिक्छ कि ?